मिरर मार्ग: बुटवल-तानसेन सडक
कुनै बेला मृत्यु मार्गसमेत भनिने बुटवल– तानसेन सडक खण्ड अहिले मिरर मार्ग बनेको छ। सडकखण्डमा आधुनिक ऐना (मिरर) जडान गरिएका कारण सडकको नाम परिवर्तन भएको हो।
बुटवल–तानसेन ३९ किलोमिटर सडकमा अहिले ३१ वटा ऐना राखिएका छन्। ठूला र अप्ठ्यारा घुम्तीहरूमा राखिएका ऐनामा दुवै दिशाबाट आएका सवारी साधन प्रष्ट देखिन्छन्। ऐनाकै कारण दुर्घटनामा उल्लेख्य कमी आएको छ।
ट्राफिक प्रहरी कार्यालय, पाल्पाका अनुसार, वैशाख–कात्तिक २०७२ को सात महीनाको अवधिमा बुटवल―तानसेन खण्डका घुम्ती केन्द्रित दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो। “तर यो वर्षको सोही अवधिमा दुई जनाको मात्र ज्यान गएको छ, ऐना जोडेपछि दुर्घटना शून्य जस्तै भएको छ”, पाल्पा ट्राफिकका इञ्चार्ज प्रवीण आचार्य भन्छन्।
चालक राकेश थापाको अनुभवमा पनि ऐना राखिएपछि त विपरीत दिशाबाट आउने सवारीसाधन टाढैबाट ऐनामा देखिन्छ। “पहिले हिंड्दा आङै जिरिङ्ग हुन्थ्यो, अहिले ढुक्क भएको छ”, उनी भन्छन्। घुम्तीमा ऐना अभियानको सूत्रधार भने सरकार होइन, रोजगारका लागि दक्षिणकोरिया पुगेका पाल्पाली युवाको संस्था 'नमस्ते पाल्पा दक्षिण कोरिया' हो। र, यसका अगुवा चेतबहादुर सारु हुन्। गत वैशाखमा जोडिएका यी ऐना खरीद गर्न संस्थाले झ्ण्डै रु.३० लाख खर्चिसकेको छ।
पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवनकुमार बञ्जाडे बुटवल―तानसेन खण्डको मुख्य चुनौती सिद्धबाबा स्थल (पहाडबाट ढुगा झारिरहने) को जोखिम कम नभए पनि घुम्तीमा हुने दुर्घटना ऐनाका कारण रोकिएको बताउँछन्।
पाल्पाको सफल प्रयोगले स्याङ्जा, तनहुँ र गोरखाका केही सडक खण्डमा पनि यस्तै ऐना राख्न थालिएको छ।
दीपक ज्ञवाली