इतिहास रच्दै नेपाललाई टी–२० शृङ्खला
युनाइटेड अरब इमिरेट्स (युएई) लाई १४ रनले हराउँदै नेपालले पहिलो टी–२० शृङ्खलामा ऐतिहासिक जित हासिल गरेको छ ।
नेपालको औसत एक सय ५ रनको लक्ष्य पछ्याउने क्रममा रहेको युएई १० ओभरमा ९० रन मात्र बनाउन सक्याे । वर्षाका कारण खेल १० ओभरमा सिमित गरिएको थियो ।
नेपालको जितमा बलर करण केसी, अविनाश बोहरा र ललित राजवंशीको खास योगदान रह्यो । यी तीनैले दुई, दुई विकेट लिए । सोमपाल कामी र सन्दिप लामिछानेले एक, एक विकेट लिए ।
पहिलो ओभर बलिङ गर्न आएका अनुभवी सन्दिपविरुद्ध २० रन बटुल्दै शानदार शुरुवात गरेको युएई ५.३ ओभरमा ३ विकेटको क्षतिमा ६० बनाउँदै जिततर्फ उन्मुख देखिन्थ्यो । तर, सातौं ओभरको पहिलो र तेस्रो बलमा सइमन अनवर र मोहम्मद नाभिदलाई पेभेलिएन फर्काएसँगै खेल नेपालको पक्षमा फर्किएको थियो ।
युएईका तर्फबाट घुलाम सब्बरले २५, सइमान अनवरले ३०, मोहम्मद बोटाले ११ रन बनाएका थिए। बाँकी बाट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालको जितमा क्याचको विशेष भूमिका देखिएको थियो । युएईका ८ मध्ये सात ब्याट्समेन क्याचआउट भएका थिए, जसमा ज्ञानेन्द्र मल्ल एक्लैले तीनवटा क्याच लिए ।
टस हारेर ब्याटिङमा आएको नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन, सन्दीप जोराले २८ र विनोद भण्डारीले २१ रनको योगदान दिएका थिए ।
पाहुना टोली नेपालले आइतवार पनि खराब शुरुवातलाई निरन्तरता दिएको थियो । पहिलो ओभर र तेस्रो ओभरमा ओपनरद्वय पवन सर्राफ (शुन्य रन) र ज्ञानेन्द्र मल्ल (११ रन) लाई गुमाएको नेपालले चौथो ओभरमा दिपेन्द्रसिंह ऐरी (२ रन) को क्षति बेहोरेको थियो ।
शृङ्खलाकोे अन्तिम खेलमा नेपालले लगातार दुई खेलमा असफल भएका ओपनर प्रदीप ऐरीको ठाउँमा विनोद भण्डारीलाई समावेश गरेको थियो । खेलमा पारस खड्काको सट्टामा ज्ञानेन्द्र मल्ललाई ओपनिङ गर्न दिइएको थियो ।
युएईविरुद्धको एक दिवसीय श्रृंखला पनि भने नेपालले २—१ ले जितेको थियो ।