अन्तर्वार्ता/विचारआइतबार, २० माघ , २०७५

नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ भन्छन, ‘चार वर्षमा श्रीलंकाको आसपास पुग्छौं’

हिमालखबर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा नियुक्त सुनिलबाबु श्रेष्ठ भन्छन्, “अबको दुई वर्षभित्रै नयाँ इनोभेशन बजारमा ल्याउने गरी काम गर्छौं ।”

यो ओहोदामा प्रवेश गर्दा तपाईंसँग कस्ता योजना छन् ?
म वातावरणीय विकास इञ्जिनियरिङको विद्यार्थी र योजनाकार भएकाले विज्ञानप्रविधिको विकासलाई योजनाबद्ध ढंगले अघि बढाउँछु ।

नास्टले अहिलेसम्म गरेका काम, यहाँका कर्मचारी, बजेट, सम्पत्ति आदिको अवस्थाबारे अध्ययन् गरी दुईतीन महीनाभित्रै स्टाटस पेपर तयार पार्दैछौं । त्यसपछि एकवर्षे र चारवर्षे रणनीतिक योजना बनाउँछौं ।

३७ वर्षको इतिहासमा नास्टले मुलुकलाई सम्झनेगरी केही दिन नसकेको अवस्थामा राज्यले कहिलेसम्म लगानी गरिरहने ?
त्यसैकारण मैले परिणाममुखी अनुसन्धानमा मात्र लगानी गर्ने भनेको छु । जनताले तिरेको कर खर्च गरेर हुने अनुसन्धान र प्रविधिको विकासबाट जनताले लाभ पाउनुपर्छ ।

जे मनलाग्यो, त्यही अनुसन्धान गरेर हुँदैन । राष्ट्रिय प्राथमिकताका क्षेत्र र दीगो विकासमा अनुसन्धान हुनुपर्छ । विज्ञानलाई जनतासम्म पुर्‍याउनुपर्छ ।

विज्ञान र प्रविधिलाई जनतासँग कसरी जोड्ने ?
अब विज्ञान र प्रविधिका कुरा वैज्ञानिकले बोल्ने मात्र होइन, यो जनतासम्म पुग्नुपर्छ ।

शुद्ध खानेपानीमा सबैको पहुँच, जलस्रोतबाट जनताले लाभ लिने अन्य विकल्प, फोहोर व्यवस्थापन, सौर्य ऊर्जा जस्ता विषयमा अनुसन्धान गर्न सकिन्छ । थोरै ऊर्जाबाट धेरै फाइदा लिने वा थोरै लागतमा धेरै ऊर्जा प्राप्त गर्ने उपायको खोजीमा अनुसन्धान अघि बढाउनु पर्छ । कृषि र जडीबूटीको विकासमा नयाँ प्रविधिको प्रयोग जस्ता काम गर्दा जना प्रत्यक्ष लाभान्वित हुनसक्छन् ।

हामी ‘समाजका लागि विज्ञान’ भन्ने अभियान चलाउँदै छौं । सँगसँगै विज्ञान र प्रविधिमा काम गरिरहेका संघसंस्थाहरुलाई एउटै सञ्जालमा ल्याउनले योजना पनि छ ।

प्रविधि भित्र्याउनमै सीमित नास्टले इनोभेशनमा थप के गर्छ ?
हामी अहिले ‘लो इनोभेशन ट्रयाप’ मा फसिरहेका छौं । त्यसैले आविष्कारलाई प्रवद्र्धन गर्ने र अनुसन्धानलाई उत्पानसँग जोड्ने कामका लागि ‘इनोभेशन फण्ड’ बनाउने कोशिशमा छौं ।

हामीसँग इनोभेटिभ युवाहरु छन् । उनीहरुलाई सहयोग गर्ने र बाटो देखाउने वातावरण तयार पार्छौं । दुई वर्षभित्र नयाँ उत्पादन बजारमा ल्याउनेगरी काम गर्छौंं ।

हामी सन् २०१८ मा ‘ग्लोबल इनोभेशन इण्डेक्स’ मा १०८ औं स्थानमा छौं । चारवर्षपछि कम्तीमा श्रीलंका (८८ औं स्थान) को आसपास पुग्छौं भन्ने आशा छ ।

त्यसका लागि वित्तीय स्रोतको आवश्यकता होला नी !
सरकारले दिने बजेट बाहेक विभिन्न संघसंस्थासँग सहकार्र्य हुनसक्छ । प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य हुनसक्छ । अहिले जलवायु परिवर्तनका क्षेत्रमा पैसा छ, तर त्यो कसरी ल्याउने भन्ने प्रक्रिया स्पस्ट छैन । हामी त्यो बाटो बनाउँछौं । निजी क्षेत्रलाई आवश्यक प्रविधि विकास गर्दा पनि पैसा आउँछ । अब हामी केही निश्चित क्षेत्रमा केन्द्रित हुनेछौं ।

परम्परागत ज्ञान संरक्षणको पाटोमा नास्टले केही गर्छ ?
हाम्रो परम्परागत ज्ञानलाई ‘डिजिटाइज’ गर्नुपर्ने आवश्यकता छ । जस्तो रक्सी बनाउने परम्परागत विधि– जुन निकै वैज्ञानिक छ । अब हामीले त्यो प्रविधिमा अनुसन्धान गरेर थप सुधार गर्न सकिन्छ ।

परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोड्ने काम पनि हामी थाल्छौं । नास्टमा एउटा ‘साइन्टिफिक डेटा सेण्टर’ स्थापना गर्ने चाहन छ, मेरो ।

अबको चार वर्षमा नास्टमा के कस्तो परिवर्तन देख्न पाइएला ?
अहिलेको ‘लो इनोभेशन ट्र्यापबाट बाहिर निस्किएर हामी सृजना र नवप्रवर्तनलाई प्रवद्र्धन गरिरहेका हुनेछौं । केही नयाँ प्रविधिको विकास भइसकेको हुनेछ । आम मानिसमा विज्ञान प्रविधिबारे सचेतना विकास भएको हुने छ । पूर्वाधार, सेवा–सुविधा, सुशासन र वातावरणीय हिसाबले यो कार्यालय ‘स्मार्ट’ हुनेछ ।

प्रस्तुतिः विनय बञ्जारा

 

प्रतिकृया दिनुहोस