टिप्पणीआइतबार, २० माघ , २०७५

छाउगोठ अस्वीकार गर्ने किशाेरीहरू

हिमालखबर

महीनावारी हुँदा छुट्टै गोठमा बस्नुपर्ने सामाजिक मान्यता रहेको पश्चिम पहाडमा यो कुप्रथालाई तोड्ने छोरी–बुहारीहरूको संख्या बढ्दै गएको छ।

 – अरुणा उप्रेती

छाउगोठ ‘नाइँ’ भन्ने सुदूरपश्चिमका किशोरीहरू ।

पश्चिम नेपालमा छाउपडी प्रथाका कारण महिलाहरूले खेप्नुपरेको कष्टका कुरा सञ्चारमाध्यममा आइरहेका हुन्छन्। रजस्वलाको बेला घरबाट अलग्गै छाउगोठमा बस्दा कतिको चिसोका कारण मृत्यु भएको र कतिपय विभिन्न दुव्र्यवहार र दुर्घटनामा परेको हामीले पढ्दै र सुन्दै आएका छौं।

त्यस क्षेत्रमा छाउपडीको अवस्था र महिलाहरूको भोगाइ कस्तो रहेछ भनेर बुझन करीब चार वर्षअघि स्थलगत भ्रमण गर्ने मेसो मिलेको थियो। साथमा थिइन् अस्मिता पत्रिकाकी अञ्जु क्षेत्री।

अछाम, बाजुरा, बझाङ, कालीकोट, कैलाली, कञ्चनपुर, बाँके र बर्दियामा पटकपटक गरी डेढ महीना बस्दा धेरै वस्तुस्थिति बुझ्न पायौं। त्यस क्रममा लाग्यो– छाउपडी प्रथा कायम रहेका समाज र समुदायको अवस्था सञ्चारमाध्यममा आए जस्तो नकारात्मक मात्र रहेनछ, परिवर्तनकारी सोच र सुधारका कदम देखिन थालिसकेछन्।

छाउ हुँदा भान्सामा पकाई–तुल्याई गर्नु त परको कुरा, घरदेखि अलग्गै ठाउँमा बसेर बार्नुपर्ने, दुहुना गाईबस्तु समेत छुनु नहुने लगायतका रुढिवादी मान्यता छन्।

त्यस्तो कट्टर चिन्तन रहेको समाजमा अछामकी २३ वर्षीया युवतीको कुरा साहसिक लाग्यो। उनले महीनावारी हुँदा आमा गोठमा बस्ने गरे पनि आफू भने घरभित्रै बस्ने गरेको सुनाइन्। कहिलेकाहीं आमा र छोरी एकैचोटि छाउ हुँदा आफूले घरभित्र खाना पकाउने र आमालाई गोठमा ख्वाउने उनले बताइन्।

नयाँ पुस्ताको परिवर्तनको सोच उनको आक्रोशमा छल्कियो, “गाउँपालिकाबाट सेवा–सुविधा लिन घरमा शौचालय हुुनुपर्छ भनिन्छ, तर महिलालाई छाउगोठमा राख्नुहुँदैन भन्ने कुरा गर्न कोही चाहँदैन।” अचेल छाउपडीको विरुद्धमा आवाज सुन्दा ती युवतीले यो कुसंस्कारको विरोधमा पहिल्यै हिम्मत कसिसकेकी रहिछन् भन्ने लाग्छ।

छाउगोठ ठीक छैन भन्ने महिलाहरु ।

अछामकै ३० वर्षीया निर्मला विकको कुरा सुन्दा एउटी आमाले आँट गरिन् भने गलत परम्परा पनि तोडिने रहेछ भन्ने लाग्यो। उनी छाउगोठमा बसेको बेला घरमा खाना नपाक्ने भएकाले साना छोराछोरी पीठो बोकेर गाउँका घरघर चहार्दै ‘रोटी पकाइदेऊ’ भन्थे।

बच्चाहरूको त्यो बिजोग देखेपछि आमाको चित्त फाट्यो। “त्यसपछि छाउ हुँदा घरमै बस्न र खाना समेत पकाउन थालें। समाजका कसैले केही भनेनन्”, निर्मलाले भनिन्।

श्रीमानले साथ दिएकाले छाउ हुँदा गोठमा बस्नु नपरेको पनि केहीले सुनाए। महीनावारी हुँदा सासूले घर नजिकैको छाप्रोमा बस्न भन्दा श्रीमानले भरथेग गरेपछि घरमै सुत्न पाएको एक महिलाको अनुभव रहेछ।

बझाङ सदरमुकाममा बस्ने ती महिलाले छाउ भएको बेला खाना पकाउने गरे पनि गाउँबाट सासू आएको बेला भने कडाइ हुने सुनाइन्। तर, त्यो परिस्थितिमा पनि उनीसँग उपाय रहेछ। “सासूले छाउ कहिले हुन्छ, अझैं बेला भएन र भन्दै सोधखोज गरिरहनुहुन्छ, कहिलेकाहीं त दबाइखाएकी छु भनेर टार्ने गर्छु”, उनले सुनाइन्।

कैलालीस्थित प्रयोगविहीन छाउगोठ । अहिले यो भुस राख्न प्रयोग गरिन्छ ।

अछामको रामारोशनकी जलु गिरीको घरमा जाँदा छाउगोठ देखिएन। उनी सहित श्रीमान, छोरा र बुहारीसँग कुराकानी गरियो। सुरक्षाको दृष्टिले बाहिर बस्न गाह्रो भएकाले छाउ हुँदा घरमै बस्ने गरेको जलुको भनाइ थियो। “तर, छाउ हुँदा गाई–भैंसी दुहुने काम गर्दैनौं र दूध पनि खाँदैनौं”, उनले भनिन्। जलुले यति भने लगत्तै छोराले झूटो कुरा पक्रिंदै “तपाईंले छाउ हुँदा गाई–भैंसी दुहुनु भएको होइन र !” भने।

जलुले केही लजाउँदै आफूले नदोए गाईले दूध नदिने भएकाले त्यो विवशता भएको सुनाइन्। “दुही सकेपछि त दूध–दही नखाने कुरै भएन” उनले भनिन्। छाउ भएका बेला गाई–भैंसी छोए वा दूध खाए जनावर मर्छन् भन्ने अन्धविश्वासलाई विवशता वा आवश्यकता जे कारणले भए पनि उनले चिरेकोमा खुशी लाग्यो।

अछाममै एक किशोरीले आमालाई छाउगोठबाट घरभित्र लगेको घटनाक्रम सुन्दा छक्कै पर्‍यौं। आमा छाउगोठमा बस्ने मान्यताको कतिसम्म बन्दी थिइन् भने, ‘महीनावारी हुँदा घरभित्र बसिस् भने घरबाट निकाल्दिन्छु’ भनेर छोरीलाई कराइरहन्थिन्। किनकि छाउ हुँदा गोठमा बस्ने चलनको छोरी सानैदेखि विरोधी थिइन्।

एसएलसी दिएपछि रजस्वला हुन थाले पनि घरमा नबताई डेढ वर्षसम्म गुपचुप नै राखिन्। उनी १२ कक्षा पढ्दा एक दिन स्कूलबाट भोकाएर घर फर्किंदा आमा छाउ भएर गोठमा थिइन्। घरमा खानेकुरा नपाक्दा साना भाइबहिनीहरू समेत भोकभोकै देखेपछि उनलाई झाेंक चलेछ।

उनले त्यो दिन सम्झ्ंदै भनिन्, “धर्मको नाममा गोठमा बसेर छोराछोरीलाई भोकै राख्ने यो कस्तो धर्म हो भनेर आमासँग एकदमै रिसाएँ र रोएँ। आमाले अर्कोपल्टदेखि गोठमा बस्दिनँ भनेर वाचा गर्दै छाउ हुँदा खाना पनि पकाउन थाल्नुभयो।”

डोटीकी ३५ वर्षीया गंगादेवी विष्टले अन्धविश्वासलाई व्यावहारिक रूपबाटै गलत साबित गरिछन्। छाउ भएको बेला छुँदा धामी काम्छन् भन्ने सुन्दै आएकी उनले त्यसको सत्यता जाँच्ने विचार गरिन्, सञ्चो छैन भन्दै धामीलाई हात देखाइन्। “तर मलाई छोए पनि ती धामीलाई केही भएन। थाहा नपाए तिनीहरूलाई केही नहुने रैछ”, उनले भनिन्।

अछामको मंगलसेन बजारमा होटल चलाउने महिलाले छाउ भएपछि गरिने छुवाछूतको कुरा पाखण्ड मात्र भएको बताइन्। होटलमा भात खान दैनिक दर्जनौं मानिस आउने र छाउ हुँदा आफू गोठमा बसे व्यवसाय नै चौपट हुने उनको भनाइ थियो।

छिमेकीले कुरा काटे पनि केही वास्ता नलाग्ने बताउँदै उनले थपिन्, “यो होटलमा बूढाबूढी, धामी, झँक्री पनि आएर खान्छन्, अहिलेसम्म मैले छाउ भएको बेला पकाएको खानेकुरा खाएकाहरू बिरामी परेको वा कामेको थाहा छैन।”

१५ वर्षअघि छाउगोठ छाडेकी अप्सरा कँवर ।

यी विभिन्न उदाहरणले के थाहा भयो भने, कसैले आफू छाउ भएकी छु भनेर भने मात्र समाजले बन्देजहरू लगाउँदो रहेछ। छाउ हँुदा छोयो भने अनेक समस्या पर्छ भन्ने त मनको भ्रम हो।

बाजुराको एउटा गाउँबाट सदरमुकाम मार्तडी आएर चियापसल चलाइरहेकी २० वर्षीया दुर्गा बूढाको कुरा पनि यस्तै रहेछ। ११ कक्षामा पढ्दै गरेकी उनी दाजु र भाइसँग भाडाको कोठामा बस्छिन्। गाउँमा हुँदा छाउगोठमा बस्नुपरे पनि यहाँ छाउ हुँदा कसैलाई नभनी आफ्नो नियमित काम गर्ने गरेको उनले सुनाइन्। “खै त, मलाई र परिवारका कसैलाई पनि केही नराम्रो भएको छैन”, उनले भनिन्।

छाउपडी प्रथा रहेको समाजमा परम्पराको दबदबा कस्तो छ भने, पढेलेखेका र अधिकार आन्दोलनमा लागेका महिलाहरू पनि छाउगोठमा बस्ने गरेका भेटिन्छन्। त्यस विपरीत निरक्षर, सामान्य खेतीपाती गरेर बसेका महिलाले छाउगोठमा नबसेर विद्रोह गरेका उदाहरण पनि पाइन्छ।

अछामकी एक दलित महिलाले छाउ भएका बेला घरमा बस्दा, भान्छामा जाँदा केही नराम्रो हुँदैन रहेछ भन्ने थाहा पाएपछि रुढिवादी प्रचलन मान्न छाडेको सुनाइन्।

छाउगोठमा बस्न छाड्नुमा उनीसँग दुःखद अनुभव पनि रहेछ। जाडो मौसममा आठ महीनाको छोरासहित छाउगोठमा बसेकी रहिछन्। आफू भुसुक्कै निदाएको बेला कुनामा बालेको आगो फैलिएर पोल्दा काखको बच्चा रुन थालेपछि उनी ब्यूँझिछन्।

धूवैधूवाँ भएको गोठबाट बच्चालाई च्यापेर कहालिंदै बाहिर निस्केपछि परिवारका सबै जम्मा भएछन्। “परिवारलाई अब छाउगोठमा बस्दिनँ भनें, त्यसपछि गोठमा बस्नुपर्ने बाध्यता अन्त्य भयो”, उनले भनिन्।

अछाम साँफेबगरकी कल्पना कुँवरले १५ वर्षअघिदेखि नै छाउगोठमा बस्न छाडेको सुनाउँदै समाजमा यस्ता गलत मान्यताले निरन्तरता पाउनुमा व्यक्तिको आर्थिक र सामाजिक अवस्था पनि कारक हुने उल्लेख गरिन्।

खेतीपातीसँगै किराना पसल चलाउने उनले छाउ हुँदा गोठमा बस्न छाड्दा समाजका कसैले केही भन्न नसकेको सम्झ्इिन्। उनको अनुभवले भन्छ, “बोल्न सक्ने र आर्थिक अवस्था पनि राम्रो भएपछि कसैले दबाउन नसक्ने रहेछन्।”

त्यसो त, छाउपडी प्रथालाई अधिकांशले गरीबीसँग मात्र जोडेर हेर्ने गरेका छन्। तर, कंक्रिटको चिल्ला घरका किशोरी र महिला पनि छाउगोठमा बस्ने गर्छन्।

यसैले छाउपडी प्रथा गरीबीको नभई पितृसत्ताको उपज हो। दिगो परिवर्तनका लागि दबाब दिएर हुँदैन, विस्तारै चेतना जगाउनुपर्छ भनिन्छ। तर, छाउपडी प्रथाले महिलालाई दिएको पीडा र सास्ती देख्दा चेतनामूलक र पैरवीका कार्यक्रमले मात्र पुग्ने देखिंदैन। यो प्रथालाई मुलुकी अपराध संहिता विधेयक, २०७४ ले फौजदारी अपराध मानिसकेकाले त्यस अनुरूप कानूनी कारबाही थालिनुपर्छ।

प्रतिकृया दिनुहोस