थप समाचारशनिबार, १९ माघ , २०७५

भारतमा पपुलर नयाँ बजेट, साना किसान र मध्यमवर्गीयलाई लाभ दिने नीति

हिमालखबर

भारत सरकारले साना किसान, असंगिठत क्षेत्रका श्रमिक र मध्यमवर्गीयहरुलाई लाभ पुग्ने गरी लोकप्रिय बजेट प्रस्तुत गरेको छ।

अर्थमन्त्री अरुण जेटली अस्वस्थ छन् र उनी अहिले उपचारका लागि अमेरिकामा छन् । जेटलीको अनुपस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका पीयूष गोयलले लोकसभामा बजेट पेश गरेका हुन् ।

१८ माघमा लोकसभामा चुनावी वर्षको अन्तरिम बजेट प्रस्तुत गर्दै कार्यवहाक अर्थमन्त्री पीयूष गोयलले वार्षिक ५ लाख रुपयाँसम्म आम्दानी गर्नेले आयकर तिर्नु नपर्ने व्यवस्था गरेका छन्।

यसअघि भारु २ लाख ५० हजारसम्म आम्दानीमा कर नलाग्ने सीमालाई दोब्बर बनाएपछि उनले भने, “यसबाट करीब ३ करोड न्यून आय भएका भारतीयले कर छुट पाउने छन् ।” यो व्यवस्थाले सञ्चयकोष तथा बीमामा लगानी गर्ने भारतीयहरुले साढे ६ लाख भारुसम्म वार्षिक आम्दानीमा कर तिर्नु नपर्ने भएको छ।

असंगठित क्षेत्रका श्रमिकहरुलाई ६० वर्ष उमेर पुगेपछि मासिक तीन हजार भारु पेन्सन दिने ‘मेगा पेन्सन योजना’ नयाँ बजेटमा प्रस्ताव गरिएको छ।

यसका लागि त्यस्ता श्रमिकले आम्दानी गरुञ्जेल मासिक एकसय भारु जम्मा गर्नुपर्ने छ। यस्तो व्यवस्थाबाट असंगठित क्षेत्रका करीब १० करोड भारतीय श्रमिक लाभान्वित हुने भन्दै अर्थमन्त्री गोयलले भनेका छन्, “आगामी ५ वर्षमा यो योजना असंगठित क्षेत्रमा संसारकै सबैभन्दा ठूलो पेन्सन योजना हुनेछ।”

त्यस्तै २ हेक्टर (करीब ३ विघा वा ३९ रोपनी) भन्दा कम जमीन हुने किसानलाई वार्षिक छ हजार भारु तीन किस्तामा किसानको ब्यांक खातामा जम्मा गरिदिने प्रस्ताब बजेटमा गरिएको छ।

उक्त “प्रधानमन्त्री किसान सम्मान निधि” योजनाका लागि करीब भारु ७ खर्ब ५० अर्ब खर्च हुने र १२ करोड साना किसानले यसबाट लाभ पाउने बजेटमा उल्लेख छ। त्यस्तै पशुपालन र माछा पालनका किसानलाई २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था पनि गरिएको छ ।

केन्द्र सरकारले ठूलो भोट ब्यांक भएको विहार लगायत उत्तरपूर्वी राज्यको बजेट गत वर्षको तुलनामा २१ प्रतिशत बढाएर भारु ५ खर्ब ८१ अर्ब ६६ करोड पुर्‍याएको गोयलले बताए।

भारत सरकारले आउँदो ५ वर्षमा अर्थतन्त्रको आकार ५ ट्रिलियन अमेरिकी डलर र १० वर्षमा १० ट्रिलियन डलर पुर्‍याउने प्रक्षपण गरेको छ। विश्व ब्यांकका अनुसार सन् २०१७ मा भारतको अर्थतन्त्र २.६ ट्रिलियन डलर थियो ।

आर्थिक वर्ष २०१९/२० का लागि भारत सरकारले भारु २ नील ७८ खर्ब ४२ अर्ब (२७,८४,२०० करोड) को बजेट प्रस्तुत गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १३.३० प्रतिशत बढी हो।

प्रतिकृया दिनुहोस