घुम्ती घटाउ अभियान
पश्चिम पहाडी जिल्लाहरूका सडकमा यात्रा गर्नेहरू घुम्तीबाट त्रसित हुन्छन्। कारण, सिद्धार्थ राजमार्ग र जोडिएका सडकहरूमा थुप्रै खतरनाक घुम्ती छन् जसले सधैंजसो दुर्घटना, क्षति र शोकको समाचार बोकी ल्याउँछन्। तर, एउटा सुखद् समाचार, सरकारले सिद्धार्थ राजमार्ग केन्द्रित सडकका ज्यानमारा घुम्ती घटाउने काम थालेको छ।
“नियमित दुर्घटना हुने सडकका खतरनाक घुम्तीहरू घटाउने काम भइरहेको छ”, सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर जगत प्रजापति भन्छन्, “यसबाट दूरी पनि कम हुन्छ, दुर्घटना पनि घट्छ।”
बुटवल―तानसेन खण्ड धेरै अप्ठ्यारा र डरलाग्दा घुम्ती भएको सडक मानिन्छ। सुनौलीदेखि पोखरासम्मको १८२ किलोमिटर दूरीमध्ये बुटवल―पोखरा खण्डमा हरेक दुई सय मिटरको अन्तरमा करीब तीन वटा त्यस्ता घुम्ती छन्। ती घुम्तीमा प्रायः विपरीत दिशाका सवारी साधन देख्न मुश्किल पर्छ, जसबाट दुर्घटना जन्मिन्छ।
भारतीय सहयोगमा २०२६ सालमा बनेको यो सडकखण्ड हाते औजारले खनिएका कारण प्राविधिक रूपमा समेत सही मानिंदैन। इन्जिनियर प्रजापति मापदण्ड नमिलेका धेरै घुम्तीका कारण जोखिम बढेको बताउँछन्। उनका भनाइमा सिद्धार्थ राजमार्गका सबै अप्ठ्यारा घुम्ती हट्दा सुनौली–पोखराको यात्रा समय करीब आधा घट्नेछ। अहिले सार्वजनिक यातायातमा उक्त दूरी पार गर्न ६ देखि ७ घण्टासम्म लाग्दछ।
बुटवलस्थित पश्चिम क्षेत्रीय ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारी घुम्ती घटाउने कार्यले अहिले नै दुर्घटनामा कमी आउन थालेको बताउँछन्।
घातक मोडहरू हटाउने यो अभियान पाल्पा, गुल्मी, स्याङ्जा, कास्कीलगायतका जिल्लामा पनि शुरू गरिएको छ। कास्की खण्डमा दुई वर्षदेखि शुरू भएको यो कार्य अन्तर्गत आठ वटा खतरनाक घुम्ती हटाइसकिएको छ, जसका कारण सडकको लम्बाइ ९५० मिटर छोटो भइसकेको छ।
घुम्ती घटाउने यो अभियान सरकारको विशेष योजना वा पहल अन्तर्गत भइरहेको भने होइन। सडक बोर्ड अन्तर्गत विनियोजित मर्मतसम्भार लगायतका बजेटबाटै यो काम थालिएको हो।
“नियमित बजेटबाट स्थानीयस्तरमा यस्ता काम भइरहेका छन्”, सडक विभागका प्रवक्ता दयाकान्त झा भन्छन्।
दीपक ज्ञवाली, बुटवल