कला/साहित्यशुक्रबार, १८ माघ , २०७५

बुद्धकालीन नेपाली विश्वकोश

वसन्त महर्जन

मूलरूपमा पालि भाषामा रहेको त्रिपिटकको सरल अनुवाद नभेटिने परिवेशमा भिक्षु अमृतानन्दले सर्वसाधारण पाठकका लागि लेखेको ‘बुद्धकालीन नेपाली विश्वकोश’ त्रिपिटक अध्ययनका लागि आधारभूमि हो।

जनसंख्याका दृष्टिले विश्वका प्रमुख धर्महरूमध्ये चौथो स्थानमा रहेको बौद्ध धर्म प्रभावपूर्ण छ। बौद्ध राष्ट्रका रूपमा परिचित देशहरूसँग नेपालको दौत्य सम्बन्ध रहनुका साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्नुले पनि नेपाली समाज बुद्ध र बौद्ध धर्म-दर्शनमा अपनत्व देख्छ। कला तथा साहित्य क्षेत्रका सर्जकहरू आफ्नो सिर्जनामा बौद्ध प्रभाव दिन त रुचाउँछन् तर यससम्बन्धी जानकारी नहुँदा उल्टोपाल्टो पार्छन्। यो क्रम परम्पराजस्तै बनेको छ।

बौद्ध धर्म-दर्शनको प्रमुख विशेषतामा अनित्य, अनात्म, अनीश्वरवाद, अशाश्वतवाद आदि हुन्। तर, नेपाली लेखनमा यी कुरालाई पूर्णतया बेवास्ता गरिएको छ। बौद्ध विषयवस्तुका आधिकारिक प्रकाशनहरूको अभावमा यस्तो भएको हुन सक्छ। यो अवस्थामा बौद्ध धर्म-दर्शनसम्बन्धी आधिकारिक ग्रन्थ ‘त्रिपिटक’ नेपाली भाषामा अनुवाद भई प्रकाशनमा आउनु सुखद हो। यसअघि सम्पूर्ण ‘त्रिपिटक’ लाई नेपाल भाषामा अनुवाद गरिसकेका दुण्डबहादुर बज्राचार्यले पछिल्ला वर्षहरूमा नेपाली भाषामा अनुवाद गरिरहेका छन्।

‘त्रिपिटक’ एउटै ग्रन्थ नभई तीन भागमा बाँडिएको र साना-ठूला ग्रन्थहरूको समुच्च नाम हो। बज्राचार्यले सूत्रपिटकअन्तर्गतको ‘दीघनिकाय’ र ‘मज्झमनिकाय’ को नेपाली अनुवाद केही वर्षअघि प्रकाशनमा ल्याइसकेका छन्। बाँकी अनुवाद तथा अनुवादको संयोजन गरी उनी यस कार्यलाई पूर्णता दिने प्रयासमा छन्।

त्रिपिटकको अनुवादका लागि पृष्ठभूमि बनाउन विभिन्न ग्रन्थ र पुस्तकहरू छापिने क्रम चलिरहेको छ। त्रिपिटक अनुवादक तथा परियोजना प्रमुख बज्राचार्यको संयोजनमा साढे १३ हजार पृष्ठको ‘बुद्धकालीन नेपाली विश्वकोश’ अहिले धमाधम छापिइरहेको छ। त्रिपिटककै आधारमा भिक्षु अमृतानन्दले लेखेको बुद्धकालीन ग्रन्थमालालाई नै विश्वकोशको रूप दिइएको हो।

त्रिपिटकका विभिन्न ग्रन्थ तथा सूत्रहरूमा छरिएर रहेका चरित्रहरूलाई क्रमबद्ध मिलाएर विगतमा विभिन्न पुस्तक प्रकाशन भएका थिए। वि.सं. २०२८ मा ‘बुद्धकालीन ब्राह्मण भाग-१’ प्रकाशन भएको थियो भने त्यसको ६ वर्षपछि दोस्रो र तेस्रो भाग पनि निस्कियो। त्यहीबीच विभिन्न भागमा बुद्धकालीन गृहस्थी, बुद्धकालीन राजपरिवार, बुद्धकालीन परिव्राजक, बुद्धकालीन महिलाहरू, बुद्धकालीन श्रावक चरित, बुद्धकालीन श्राविका चरित, बुद्धकालीन ब्रह्मादिदेव, बुद्धकालीन प्रेतकथा, बुद्धकालीन विमानकथा तथा अनेक चरित्रहरूबारे ग्रन्थ प्रकाशित भएको थियो। विगतमा आनन्दकुटी विहार गुठीबाट प्रकाशित यी ग्रन्थहरू अप्राप्य भएपछि अहिले मुद्रण गर्न थालिएको हो।

‘बुद्धकालीन नेपाली विश्वकोश’ पाटनस्थित वीर-पूर्ण पुस्तक संग्रहालयबाट पुनः प्रकाशन हुन लागेको हो। यही निजी सङ्ग्रहालयबाट त्रिपिटक ग्रन्थहरू विगत चार दशकअघिदेखि प्रकाशन हुँदै आएको छ। परियोजना प्रमुख बज्राचार्यका अनुसार त्रिपिटकको प्रकाशनअघि नेपाली पाठकलाई त्रिपिटक वाङ्मयसँग परिचित गराउन २७ भागको यो विश्वकोश निकाल्न लागिएको हो।

‘त्रिपिटक’ ग्रन्थ मूलरूपमा पालि वा मागधी भाषामा छ। अनुवादकले तत्कालीन भाषाशैली तथा प्रस्तुतिको मौलिकतामै ध्यान दिएकाले आम पाठकले अध्ययनमा केही असहज महसूस गर्छन्। भिक्षु अमृतानन्दले पनि उक्त मौलिकता जोगाउँदै तर सर्वसाधारण पाठकलाई ध्यानमा राखेर ग्रन्थमाला प्रकाशन गरेकाले ‘बुद्धकालीन नेपाली विश्वकोश’ त्रिपिटक अध्ययनका लागि आधारभूमिजस्तै बनेको छ।

बौद्ध धर्म-दर्शनको आधारभूत ग्रन्थका रूपमा ‘त्रिपिटक’ लाई मान्दा उत्साहित हुने र नाक खुम्च्याउने दुई प्रवृत्ति बौद्ध समाजभित्रै पाइन्छ। थेरवादी सम्प्रदायका व्यक्तिहरू त्रिपिटक मात्रै आधिकारिक र मौलिक ग्रन्थ भएको र अन्यलाई विकृति ठान्छन् भने महायानी बौद्धहरू यसलाई मात्र आधिकारिक बुद्धवचन मान्न नहुने जिकिर गर्छन्। तर त्रिपिटक तथा महायानी दुवै ग्रन्थको अध्ययन गर्नेहरू यी दुईमा भेद देख्दैनन्। यो पंक्तिकार पनि त्रिपिटकमा निहित कुरालाई नै विस्तृत व्याख्या गर्ने क्रममा महायानी दर्शन र ग्रन्थहरूको रचना भएको मान्छ। यति महत्वपूर्ण त्रिपिटकलाई सर्वसाधारणका लागि ध्यानमा राखी प्रस्तुत गरिएको ‘बुद्धकालीन नेपाली विश्वकोश’ बौद्ध वाङ्मयमा नेपालको आफ्नै प्रकारको सिर्जना हो, जुन अन्य भाषामा पाइँदैन।

प्रतिकृया दिनुहोस