टिप्पणीबिहिबार, १७ माघ , २०७५

हेलामा परेको हाइना

कमल मादेन

संरक्षित वन्यजन्तुको सूचीमा राखिए पनि मानवसँगको द्वन्द्व, दुर्घटना आदिको चपेटामा रहेको हाइनाको अनुसन्धानमा संरक्षणसम्बन्धी निकायहरूको काम शून्यप्रायः छ।

नेपालमा पाइने 'स्ट्राइप्ड हाइना'

पाँच/सात वर्षअघि वन्यजन्तुविद् कुलप्रसाद लिम्बूले पश्चिम नेपालमा हाइना पाइने बताएका थिए। त्यसअघि यो लेखकलाई पनि यहाँ हाइना पाइन्छ भन्ने जानकारी थिएन। नेपालको संरक्षित वन्यजन्तुको सूचीमा हाइना सूचीकृत भए पनि यहाँ छैन होला भन्ने लाग्थ्यो। किनभने यहाँ कहिल्यै नपाइएको चिरुलाई पनि संरक्षित सूचीमा राखिएको छ।

गएको मंसीरमा अर्का वन्यजन्तुविद् दीपेन्द्र अधिकारीसँग स्तनधारीसम्बन्धी अनुसन्धान गर्ने संस्था ‘स्मल म्यामल कन्जर्भेसन एन्ड रिसर्च फाउन्डेसन’ (एसएमसीआरएफ) को जावलाखेलस्थित कार्यालयमा भेट भयो। हाइनाबारे केही टिपोट गरिरहेका उनले यो वन्यजन्तुबारे निकै रोचक कुरा बताए। यो वन्यजन्तुलाई हुँडारका साथै लक्करे बाघ, भेडे बाघ, हड्डी बाघ, हाउसे बाघ पनि भनिँदो रहेछ।

त्यसपछि हाइनाबारे प्रकाशित सामग्री पढ्न चाख लाग्यो। हाइना तराईका वन क्षेत्रमा पाइँदो रहेछ। केही अनुसन्धानात्मक लेखहरू पनि प्रकाशित भएका रहेछन्।

झलक्क हेर्दा कुकुरजस्तो देखिने हाइनाको टाउको अग्लो र पुच्छरतिर क्रमशः होचो हुन्छ। खप्पर, दाँतलगायत संरचना कुकुरभन्दा पनि बिरालो परिवारको जनावरसँग मिल्छ। तर, यसलाई कुकुर र बिरालोका परिवारभन्दा बेग्लै ‘हाइनिडी’ परिवारमा राखिएको छ। यसका अगाडिका खुट्टा पछाडिका तुलनामा अग्ला र बलिया हुन्छन्। हाइना कराउँदा खित्का छोडेर हाँसेको जस्तो सुनिन्छ।

हाइना खाडी मुलुक, मध्यएशिया, भारतीय उपमहाद्वीपदेखि उत्तर अफ्रिकासम्म पाइन्छ। यसको संख्या ८ हजारदेखि १० हजारसम्म रहेको अनुमान छ। नेपालमा भने बर्दिया, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा हाइना पाइने ‘दी स्टेटस अफ नेपाल्स म्यामल्सः दी नेशनल रेड लिष्ट सिरिज’ (सन् २०११) पुस्तकमा उल्लेख छ। यी स्थानबाहेक सन् २०११ सम्म बारा, कपिलवस्तु, कैलाली, कञ्चनपुर र उदयपुरमा पाइएका थिए। उक्त पुस्तकमा विज्ञहरूको अवलोकन, उनीहरूसँग गरिएको कुराकानी तथा कार्यशाला टिपोटका आधारमा नेपालमा करीब १०० वटा हाइना रहेको लेखिएको छ।

संसारमा पाइने चार प्रजातिका हाइनामध्ये नेपालमा ‘स्ट्राइप्ड हाइना’ पाइन्छ, जसको वैज्ञानिक नाम ‘हाइना हाइना’ हो। यो प्रजातिको हाइना आहारका निम्ति रातमा एक्लै घुमफिर गर्छ। घाम झुल्किनुअघि नै ओडार वा प्वालमा पसिसक्छ। भालेले एउटै पोथीसँग गुजारा गर्छ र गुँड बनाउन, बच्चा हुर्काउन पोथीलाई सघाउँछ।

८० सेन्टिमिटर अग्लो र लम्बाइ १६० सेमीसम्म हुने ‘स्ट्राइप्ड हाइना’ को तौल बढीमा ५५ किलोसम्म हुन्छ। यसको टाउकोदेखि पुच्छरसम्म सुँगुरको जस्तो पातलो जगर हुन्छ, जुन उत्तेजित हुँदा ठाडो हुन्छ।

८० सेन्टिमिटर अग्लो र लम्बाइ १६० सेमीसम्म हुने ‘स्ट्राइप्ड हाइना’ को तौल बढीमा ५५ किलोसम्म हुन्छ। यसको टाउकोदेखि पुच्छरसम्म सुँगुरको जस्तो पातलो जगर हुन्छ, जुन उत्तेजित हुँदा ठाडो हुन्छ। मुख र घाँटीको भाग कालो रङको र शरीरमा सेतो तथा खैरो पृष्ठभूमिमा काला धर्साहरू पिठ्यूँबाट पेटतर्फ झरेको हुन्छ। पुच्छर हाइनाका अन्य प्रजातिभन्दा लामो हुन्छ।

दाङ देउखुरीः ‘भ्याली अफ हाइना’
शिविश भण्डारी, विश्वनाथ रिजाल र सुजन खनालले लेखेको ‘स्टेटस अफ स्ट्राइप्ड हाइना एन्ड देयर कन्जर्भेसन एप्रोचेज इन रौतहट एन्ड सर्लाही फरेष्टस्, नेपाल’ लेख ‘जर्नल अफ न्याचुरल हिष्ट्री म्युजियम’ को अंक २९ (सन् २०१५) मा प्रकाशन भएको छ। जंगल नजिकैका बासिन्दाको हाइनासम्बन्धी बुझाइ थाहा पाउन गरिएको उक्त अनुसन्धानको लक्ष्य हाइना संरक्षणको निम्ति कस्तो नीति सुझाउने भन्ने थियो।

त्यस क्रममा हाइनाको पैतालाको डोब, बिष्टा आदि अवलोकन गरिएका थिए। हाइनाको पैतालाको डोब सबैभन्दा बढी क्रमशः खोलाकिनार, विभिन्न प्रजातिका रुख भएको मिश्रित जंगल, खयर तथा सालको जंगल र घाँसे चौरमा पाइएको थियो। चार सेट क्यामेरा २४ ठाउँमा ८० रात राख्दा एक वयस्क हाइनाको तस्वीर कैद भएको लेखमा उल्लेख छ।

यस्तै, शिविश भण्डारी र मुकेशकुमार चालिसे लिखित ‘पिपुल्स एटिच्यूड टुवार्डस् हाइना कन्जर्भेसन इन लोल्याण्ड नेपाल’ शीर्षक लेख सन् २०१६ मा ‘जर्नल अफ थ्रिटेन्ड ट्याक्सा’ मा छापिएको छ। अनुसन्धानका क्रममा ४०० जनासँग हाइनाबारे सोधिएको र त्यसमध्ये ६३ प्रतिशतले सकारात्मक र ३७ प्रतिशतले नकारात्मक उत्तर दिएको लेखमा उल्लेख गरिएको छ। सकारात्मक जवाफ दिएकामध्ये ६५ प्रतिशतले जंगलमा खानेकुरा अभाव भएर हाइना गाउँबस्तीमा पस्ने गरेको बताएका थिए। यस्तै, १९ प्रतिशत उत्तरदाताले मानव र मांसहारी जनावरबीचको द्वन्द्वमा हाइनालगायतका जनावर मारिने बताए।

चिरञ्जीवी खनाल लिखित ‘स्ट्राइप्ड हाइनाः स्पेसिस् टु नो’ शीर्षक लेख ‘नेचरखबरडटकम’ मा २०१७ अगष्टमा छापिएको छ। लेखमा दाङको देउखुरी उपत्यकामा हाइना प्रशस्त मात्रामा पाइने र यसै कारण उक्त ठाउँलाई ‘भ्याली अफ हाइना’ उपमा दिइएको उल्लेख छ। त्यहाँ सन् २०१२ देखि हाइनासम्बन्धी अनुसन्धान भइरहेको छ।

सन् २०१७ अक्टोबरमा सी. खनाल, एस. बानियाँ र एम. आचार्य लिखित ‘फस्ट कन्फर्म्ड रेकर्ड अफ स्ट्राइप्ड हाइना देन इन नेपाल’ लेख ‘जर्नल अफ बायोडाइभर्सिटी एन्ड इन्डेन्जर्ड स्पेसिस्’ मा छापियो। लेखमा हाइनाले खनेर बनाएको वासस्थान फेला पारेको जानकारी छ। त्यसअघि नेपालमा हाइनाको वासस्थल भेटिएको तथ्य थिएन।

दीपेन्द्र अधिकारी, आशिष गुरुङ, प्रकाश सिग्देल, शशांक पौडेल, प्रमोदराज रेग्मी र संयोग बस्नेत लिखित ‘दी रिसेन्ट रेकर्ड अफ रोड किल अफ स्ट्राइप्ड हाइना इन सेन्ट्रल तराई अफ नेपाल’ शीर्षकको एक संक्षिप्त लेख २०१८ अक्टोबरमा ‘जूज् प्रिन्ट’ नामक जर्नलको वर्ष ३३ अंक १० मा छापिएको छ। लेखमा बारा, निजगढमा ५ मे २०१७ मा भएको सडक दुर्घटनामा एक वयस्क भाले स्ट्राइप्ड हाइना मारिएको भेटिएको जनाइएको छ। यसअघि सन् २००३ मा उदयपुरमा पनि एक हाइना सडकमै मृत फेला परेको थियो।

संरक्षणमा हेला
२०१९ जनवरीदेखि दीपेन्द्र अधिकारी, शशांक पौडेल, सागर दाहाल र तेजाब पुनले बारामा के-कति संख्यामा स्ट्राइप्ड हाइना छन् भनेर अनुसन्धान शुरु गरेका छन्। हाइना दिउँसो हिँडडुल नगर्ने भएकाले यसलाई राति क्यामेरा ट्र्यापबाट मात्र निगरानी गर्न सकिन्छ। बाराको जंगलमा करीब २/२ वर्ग किलोमिटरको फरकमा क्यामेरा राखिएका छन्।

सन् २०११ मा नेपालमा वयस्क बाघको संख्या करीब १५५ वटा हुँदा हाइना १०० जति मात्र थिए। त्यसयता डब्लुडब्लुएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, जुलोजिकल सोसाइटी लन्डनको नेपाल शाखा आदिले बाघ संरक्षणमा अत्यधिक काम गरेका छन्। तर, यी संस्था तथा निकायहरूले अहिलेसम्म हाइनासम्बन्धी एउटै अनुसन्धान तथा संरक्षणको काम गरेका छैनन् भन्दा हुन्छ।

नेपालमा हाइनाबारे भएका सबै अनुसन्धानमा एक अन्तर्राष्ट्रिय संस्था रुफोर्ड फाउन्डेसनले न्यून रूपमा आर्थिक सहयोग गर्दै आएको छ। नेपालमा जानकारी अभावकै कारण हाइनाले घरपालुवा पशु मारे वा खाए क्षतिपूर्तिस्वरूप राहत दिने व्यवस्थासमेत ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९’ (दोस्रो संशोधन २०७४) मा छैन। आशा गरौं, नयाँ अध्ययनमा संलग्न अनुसन्धानकर्ता अधिकारी र अरूहरूले हाइनासम्बन्धी पर्याप्त तथ्यांक संकलन गरी संरक्षणसम्बन्धी उपायहरू सुझाउनेछन्।

प्रतिकृया दिनुहोस