ब्लगबुधबाबार, १६ माघ , २०७५

हाम्रा शहर र सार्वजनिक वृत्त

हिमालखबर

सार्वजनिक वृत्तहरू समृद्ध हुन नसक्दा समाज पनि समृद्ध हुन सक्दैन ।
प्रत्यूष वन्त

म जन्मँदा यो देशमा महेन्द्र राजा थिए । त्यतिबेला उनीसँग सबै प्रश्नको उत्तर थियो । लोकतन्त्रमा कोहीसँग पनि सबै प्रश्नको उत्तर हुँदैन । केही प्रश्नको उत्तर केही व्यक्तिसँग हुन्छ । अरू प्रश्नको उत्तर अन्य व्यक्तिहरूसँग हुन्छ । एकै व्यक्तिसँग सबै प्रश्नको उत्तर नभएकै कारण धेरै प्रश्नको उत्तर खोज्न धेरै जनासँग सम्पर्क–सम्बन्ध राख्नुपर्छ वा गफ गर्नुपर्ने हुन्छ ।

म जन्मिंदाको नेपालमा लोकतन्त्र थिएन । मेरो वशको वा रोजाइको कुरा थिएन त्यो, तर नेपालमा लोकतन्त्र कायमै रहेको अवस्थामा मर्न पाउँ भन्ने इच्छा चाहिं छ । मेरा लागि लोकतन्त्रको चरित्र वा मुख्य विशेषता भनेको गफ नै हो ।

म व्यावसायिक गफाडी हुँ । म गफ गर्न सिकाउँछु र प्रोत्साहन गर्छु । गफ धेरै थरीका हुन्छन् । सिलसिला मिलाएर गर्ने गफ, चिया खाँदै गर्ने गफ, कक्षाकोठामा गर्ने गफ, पत्रिकामा खतरा लेख लेखेर गर्ने गफ आदि । यी सबै गफहरू लोकतन्त्रका लागि अति आवश्यक हुन्छन् । सार्वजनिक वृत्त भन्नाले घरपरिवार बाहिर निस्केपछि राज्यभन्दा तलका सबै सार्वजनिक वृत्तहरू पर्दछन् ।

गफप्रतिको लगाव
मैले काम गर्ने संस्था मार्टिन चौतारीको ढोकामा हामीले ‘मोट्टो’ (उद्देश्य) भनेर केही टाँसेका छैनौं । यदि टाँसिएको भए ‘यहाँ हरेक विषयमा गफ गरिन्छ’ भन्ने नै हुन्थ्यो । त्यसबाहेक हामी अनुसन्धान गर्छौं, अनुसन्धानात्मक किताबहरू प्रकाशित गर्छौं ।

आजसम्म ९५ वटा पुस्तकहरू मार्टिन चौतारीबाट प्रकाशित भएका छन् । दुई भाषामा जर्नल– नेपाली भाषामा वार्षिक ‘समाज अध्ययन’ र अंग्रेजी भाषामा अर्धवार्षिक ‘सिन्हास’ प्रकाशन गर्छौं । हाम्रोे रिसर्च लाइब्रेरीमा उपलब्ध किताब पढ्न सदस्य बन्नुपर्दैन । आफ्नो परिचयपत्र देखाएर तपाईं ‘रिडिङ रुम’ मा बसेर दिनभरि अध्ययन अनुसन्धान गर्न सक्नुहुन्छ ।

लोकतन्त्रमा विभिन्न थरीका गफ किन आवश्यक छन् त ? लोकतन्त्रमा सबै प्रश्नको उत्तर कोही एक जनासँग मात्रै नहुने वित्तिकै ज्ञान एकापसमा साटासाट गरेर आर्जन गर्नुपर्छ । अनुभव, ज्ञान र अरू किसिमका स्रोतबाट आलोचनात्मक चेत बटुल्ने प्रक्रिया आवश्यक हुन्छ ।

आलोचनात्मक चेत लोकतन्त्रमा जरूरी हुन्छ । गफ गर्ने फोरमहरू जति धेरै भयो, लोकतन्त्रका लागि उति नै राम्रो हुन्छ ।

विकास पाण्डे भन्ने एक जना इलेक्ट्रिकल इञ्जिनियर हुनुहुन्छ । नेपालमा साना जलविद्युत्को क्षेत्रमा उहाँले धेरै काम गर्नुभयो, अहिले अमेरिकामा काम गर्नुहुन्छ ।  मार्टिन चौतारीको स्थापना गर्ने व्यक्तिमध्ये उहाँ एक हुनुहुन्छ ।

२०४६ सालको परिवर्तनपछि नेपालमा उपलब्ध अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै उहाँले रुचि भएको विषयमा गफ गर्न एउटा समूह बनाउनुभयो । त्यसलाई उहाँहरूले ‘डेभलपमेन्ट फिलोसफी डिस्कसन ग्रुप’ भन्नुभयो । त्यसमा भाग लिने धेरै मान्छे इञ्जिनियर थिए । केही अरू पनि थिए ।

त्यो छलफलमा मैले पहिलोपटक जनवरी १९९२ मा भाग लिने मौका पाएँ । त्यतिबेला मलाई म जिन्दगीभर यसरी गफ गर्ने र गफ गराउने मान्छे बनौंला भन्ने लागेकै थिएन ।

सन् १९९५ मा म अमेरिकाबाट नेपाल फर्किएँ । शुरूमा हामी सहभागी हुने गरेको छलफल शृंखला महीनामा दुईपटक हुने गथ्र्याे । हामी एउटा मंगलबार बिराएर अर्को मंगलबार यस्ता गफ गर्न जुट्न थाल्यौं । त्यो छलफलको नाम नै ‘मंगलबारे’ रहन गयो ।

अब यसलाई निरन्तरता दिऊँ भन्दा केही साथीहरूले ‘यति धेरै भेट्नुहुँदैन’ पनि भने । मैले हरेक हप्ता गरौं भन्दा साथीहरूले महीनामा एक पटक मात्रै पनि प्रशस्त हुने सल्लाह दिए । त्यतिबेला धेरैको सल्लाह लिएँ तर, निर्णय आफैं गरें ।

हरेक हप्ता छलफल गर्न थाल्यौं– मंगलबार र बिहीबार । मंगलबार जुनसुकै विषयमा पनि गफ गरिन्थ्यो । तर बिहीबार भने विशुद्ध प्राज्ञिक भनिने गफ हुन्थे । गफ गर्न र सुन्न मान्छे बोलाउनुपर्ने भयो । गफ गर्ने समय, ठाउँ र बोल्ने मान्छेको नाम लेखेको तालिका बनाएर कलेजका गेटहरूमा टाँस्थ्यौं ।

म ती तालिका बोकेर पुरानो साइकल चलाउँदै ठाउँठाउँ जान्थें । कतै कलेजहरूमा सेमिनार हुँदैछ भन्ने थाहा पाएपछि कसैले नबोलाए पनि त्यहाँ जान्थ्यौं, सहभागीहरू चिया ब्रेकमा भएको बेला उनीहरूको हातमा लुसुक्क उक्त तालिका थमाएर पनि हिंड्थ्यौं ।

यस्तो काम गर्न हुन्थ्यो कि हुन्थेन कुन्नि ! तर त्यही काम गरेर नै हामी अहिले यहाँसम्म आइपुग्यौं । अहिले मार्टिन चौतारीमा दैनिकजसो गफहरू हुन्छन् । एक महीना अघिदेखि नै बोल्ने मान्छे, विषय छनोट गर्छौं ।

कतिपय मानिसहरू मार्टिन चौतारीमा विभिन्न अनुदान आउँछ र यस्ता कार्यक्रम गर्छ भन्छन् । तर हामीले यस्ता छलफल चलाउन पैसा खोज्दैनौं । सित्तैंमा सेमिनार चलाउन सकिन्छ भनेर कसैले भनेको मैले सुनेको छैन । तर म भन्छु चलाउन सकिन्छ ।

सेमिनार गरौं, छलफल होस्
मैले अमेरिकामा जुन कलेज पढें, त्यहाँ पोखराको पृथ्वीनारायण क्याम्पसमा जति विद्यार्थी छैनन् । म पढ्दा ५ हजार २०० विद्यार्थी थिए । अहिले ६ हजार छन् ।

पृथ्वीनारायण क्याम्पसमा कुनै समय १६ हजार विद्यार्थी पढ्थे, अहिले ८ हजार छन् रे ! म बाहिरबाट के अनुमान गर्छु भने यो क्याम्पसमा विभिन्न विभागहरू छन् । ती विभागहरूले विभिन्न विषयमा सेमिनारहरू चलाउँछन् । तर वास्तवमै यस्तो भइदिए हाम्रो सार्वजनिक वृत्तको रूप गज्जबकै हुन्थ्यो ।

मलाई काठमाडौंमा कतिपयले ‘तपाईं त्रिभुवन विश्वविद्यालयमा हुनुहुन्न, त्यही भएर यस्तो कुरा गर्न सजिलो छ’ भन्छन् । होला पनि । तर मैले के सोध्ने गरेको छु भने त्रिविका यी विभागहरूले सेमिनार चलाउन हुँदैन, पाउँदैनन् भनेर कसैले भनेको छ ?

उदाहरणका लागि पृथ्वीनारायण क्याम्पसका आठ हजार विद्यार्थीमध्ये चार हजार ‘पर्यटक’ विद्यार्थी होलान् । बाँकी चार हजारमध्ये कसैले त कम्तीमा कुनै न कुनै रिडिङ ग्रुप वा छलफल समूह बनाउने, हप्तामा एक दिन भेट गरेर छलफल गर्ने आदि काम गर्न सक्छन् नि !

एक जनाले मलाई सुनाए, सेमिनार ग¥यो भने ‘तँलाई जान्ने हुनुपर्छ भन्छन्’ भनेर । तपाईंले रुचि देखाउनुभयो विभागीय स्वीकृति लिन जानुभयो, पाउनुभएन । ठीक छ, पाँच वटा विभाग मिलेर आन्तरिक रूपमा अन्तर विभागीय सेमिनार चलाउनुस् न त, स्वीकृति लिन नपर्ला ।

यदि कसैले तपाईंलाई त्यस्तो गर्न दिन्न भन्यो भने सके त सक्कली एकाउन्टबाटै नत्र नक्कलीबाट भए पनि त्यो मान्छेको ट्वीटरमा बेइज्जत गर्दिनुस् न भनेर पनि सुझाव दिएको छु ।

देशको सबैभन्दा पुरानो विश्वविद्यालयले तपाईंलाई सेमिनार गर्न दिंदैन भने त तपाईंको दायित्व नै हो यो कुरा सार्वजनिक गर्नु ।

विश्वविद्यालयका विभागहरूले सेमिनार चलाउनुपर्छ, ज्ञानको आदान–प्रदान र उत्तरहरूको खोजी गर्नैपर्छ । भर्खर थेसिस सकाएकादेखि पीएचडी गरेका, विभिन्न क्षेत्रका ज्ञान बटुलेका मानिसहरूलाई सहभागी गराएर विविध विषयमा सेमिनार आयोजना गर्नुपर्छ ।

यसो गर्न सक्नु हाम्रो शैक्षिक, बौद्धिक उन्नयनका लागि र लोकतन्त्रका लागि पनि निकै उपयोगी हुन्छ । यसो गर्न सके हाम्रा सार्वजनिक वृत्तहरूको स्वरुप धेरै उन्नत बन्छ । त्यसो हुन सके सरकारले नै यस्ता सेमिनार गर्न, अनुसन्धान गर्न, ज्ञानको खोजी, आदान–प्रदान र उत्तरहरूको खोजी गर्न प्रोत्साहन गर्न दबाब पुग्छ ।

अध्ययन संस्कृति प्रवर्द्धनका लागि गएको २० वर्षमा यो देशमा धेरै काम भएको छ । पत्रपत्रिका मात्र होइन, अहिले सामाजिक सञ्जालबाट पनि धेरै काम भइरहेको छ ।

मान्छेहरू आ–आफ्नो रुचि अनुसारका समूह बनाउन सक्छन् । अध्ययन गर्ने र छलफल चलाउने यस्ता समूह जति धेरै बढी भए उति राम्रो हुन्छ ।

एउटा समयपछि यसलाई थेग्ने अर्को समूहचाहिं चाहिन्छ । एउटा समूह थाकेपछि त्यसलाई निरन्तरता दिन अर्को समूह तयार पार्नुपर्छ । त्यसको अभाव हुँदा समस्या पनि आउँछ । तर सार्वजनिक सरोकारका गफ गर्ने फोरमहरूमा वृद्धि हुनुपर्छ ।

सार्वजनिक वृत्तमा लगानी
नेपालमा अहिले आख्यान होस् या गैरआख्यान– १० हजार प्रति किताब बिक्री हुनु नौलो कुरा भएन । सन् २००५ भन्दा अघि अर्थात् नारायण वाग्लेको ‘पल्पसा क्याफे’ आउनुअघि नेपालमा एकहजार प्रति किताब बिक्री भयो भने ‘वाह् ! गज्जब भयो’ भनिन्थ्यो । अहिले पाँच हजार प्रति बिक्री नहुने हो भने प्रकाशकलाई उक्त पुस्तक प्रकाशन गर्न रुचि नहुने भइसक्यो ।

अहिले चिटिक्क परेका पुस्तक पसलहरू काठमाडौंमा मात्र होइन, पोखरा, भरतपुर जस्ता शहरहरूमा पनि बढेका छन् । २० वर्षअघि यस्ता पुस्तक पसल खुल्लान् भनेर कल्पना गरिएको थिएन । तर पुस्तक पसल पुगेर कफी पिउन र नयाँ किताब किन्न खल्तीमा पैसा हुन आवश्यक छ ।

त्यसकारण मेरा लागि सार्वजनिक पुस्तकालय निकै महत्वपूर्ण कु्रा हो । पोखरा महेन्द्रपुलको पोखरा सार्वजनिक पुस्तकालय धेरै साँघुरो छ । त्यहाँ भएका केही बायोकेमिस्ट्री जस्ता विषयका पुस्तकहरू हेर्दा निरुत्साहित पनि भएँ, सार्वजनिक पुस्तकालयमा ती किताब किन राखिएका होलान् ?

पोखरा, काठमाडौं जस्ता शहर गरीब शहर होइनन् । संसारका धनी देशका मझौला शहरजत्तिकै धनी शहर हुन् । मसँग अमेरिकामा पढेका साथीहरू यहाँ आउँदा यी शहरमा हुने खर्च देख्दा छक्क पर्छन् । उनीहरू सोध्छन्, ‘यी शहरका मान्छेले यति धेरै पैसा कसरी खर्च गर्छन् ?’

यहाँ विवाहका भोज ठूल्ठूला होटलहरूमा हुन्छन् । मानिसहरू रेस्टुरेन्टमा धेरै पैसा खर्च गर्न तयार हुन्छन् । यति धेरै खर्च गर्न सक्ने शहरहरूमा सार्वजनिक पुस्तकालयहरूको हविगत किन यस्तो ? काठमाडौंमा सार्वजनिक पुस्तकालयको वार्षिक बजेट २५ लाखभन्दा कम छ ।*

तर यहाँ १० लाखभन्दा थोरै खर्चमा व्यक्तिगत भोज– पार्टीहरू हुन छोडेका छन् । यी शहरहरूमा जति सम्पत्ति छ, यसले राम्रा पुस्तकालय बनाउन सक्छ भन्ने कुरामा भ्रम छैन । निजी क्षेत्रबाटै पनि यो बनाउन सकिन्छ ।

पृथ्वीनारायण क्याम्पसको पुस्तकालयमा केही दिनअघि गएको थिएँ । हामीले मार्टिन चौतारीबाट प्रकाशित पुस्तक त्यहाँको पुस्तकालयलाई पनि दिन्छौं । योे पुस्तकालयमा अहिले करीब ८५ हजार किताब रहेछन् । तर त्यहाँ विद्यार्थीलाई आवश्यक परेका ‘रिफरेन्स’ पुस्तक उपलब्ध गराउन सक्ने स्थिति अझै रहेनछ ।

एउटा एमएको थेसिस लेखिरहेको विद्यार्थीले आवश्यक सबै पुस्तक किन्न सक्छ भन्ने छैन । क्याम्पसका पुस्तकालयमा पनि नपाउने, बाहिरका पुस्तकालयमा पनि नपाउने हो भने त्यो विद्यार्थीले सबै पुस्तक किनेर अध्ययन गर्नुपर्दा कति खर्च होला ?

सबै विद्यार्थीलाई ‘रिफरेन्स’ का लागि आवश्यक सबै पुस्तक किन्न गाह्रो हुन्छ । यी सबै जानकारी बटुल्नेबित्तिकै हाम्रा सार्वजनिक पुस्तकालय कसरी चलेका छन् थाहा हुन्छ ।

पृथ्वीनारायण क्याम्पस बाहिर लहरै पुस्तक पसल छन् । म सधैं पोखरा आएको बेला ती पसलमा पस्छु । यो पटक पनि मैले त्यहाँ गएर सबै पुस्तक पसलमा क्याम्पसका कुनै प्राध्यापकले लेखेको किताब छ कि छैन भनेर सोधें । मलाई चाहिने भए पनि नचाहिने भए पनि किन्छु भनेर । तर हरेकले छैन भने । काठमाडौंमा पनि अवस्था त्यही छ ।

यस्ता पुस्तक पसलले गाइडबुक, गाइडबुकको पनि गाइडबुक बेचिरहेका छन् । यो दृश्यले के भन्छ भने मान्छेको दिमागमा हुनुपर्ने लगानी भइरहेको छैन । हामीलाई गुणस्तरीय शिक्षा र राम्रा किताब चाहिएको छ । तर सार्वजनिक क्षेत्रमा आवश्यक लगानी भइरहेको छैन ।

मैले अमेरिकाका दुई वटा विश्वविद्यालयमा पढ्न पाएँ । पहिलो विश्वविद्यालय हाम्रो त्रिभुवन विश्वविद्यालय भन्दा जम्मा ११ वर्ष मात्रै जेठो हो ।

अहिले उक्त विश्वविद्यालय अमेरिकाको ३४–३५ नम्बरमा आउँछ । त्यहाँ मेडिसिन स्कूल छैन । तर त्यहाँ पढाउने दुई जना प्रोफेसरले २०१७ मा मेडिसिनतर्फ नोबेल पुरस्कार पाए । म यो किन भन्दैछुु भने ती विश्वविद्यालयहरू सरकारले नभई हामी जस्तै मान्छेले शुरू गरेका थिए ।

उनीहरू जन्मँदै उन्नत भएर जन्मिएका होइनन् । हामीले किताबमा पढ्दा वा इन्टरनेटमा हेर्दा जे कुरा वाह् ! लाग्छ ती सबै हामीजस्तै मान्छेले बनाएका हुन् ।

हाम्रो देशमा पनि यस्ता संरचना बनाउन किन सकिंदैन ? अनुमान गरौं न । पोखरामा एउटा सार्वजनिक पुस्तकालय बनाउन एउटा समूह लाग्यो । पुस्तकालय बन्यो । देशभरका सबै पुस्तक राखियो । विदेशबाट पनि पुस्तक ल्याइयो । वर्षमा दुई वटा पुस्तक मेला राखियो ।

धेरैभन्दा धेरै पुस्तक खरीदबिक्री गर्ने र देशका अन्य थलोमा नपाइने पुस्तक पनि पोखराको यो पुस्तकालयमा पाउन सकिने अवसर उपलब्ध गराइयो । यसो गर्दा देश विदेशका मानिस पोखरा आउँदा पुस्तकालय जाने र पुस्तक किन्नका लागि भए पनि पोखरा आउने स्थिति हुन थाल्यो ।

यस्तै पुस्तकालय खोल्न चाहनेहरू, देशभरका पुस्तकालय व्यवस्थापन समितिका मान्छेहरू र एउटा जीवन्त पुस्तकालय कस्तो हुन्छ भनेर थाहा पाउन खोज्नेहरू सबै यो पुस्तकालय हेर्न आउन थाले । के यो सम्भव होला ?

जसलाई यो असम्भव लाग्छ, उसँग गफ गर्नका लागि मसँग कुनै विषय नै रहँदैन । लोकतन्त्रमा यो सम्भव बनाउने सरकार मात्रैले पनि होइन । सरकारले ठाउँ देला, प्रोत्साहन देला । तर यो काम नागरिक आफैंले गर्न सक्छन् ।

६ माघमा पोखरास्थित सार्वजनिक बहस आयोजक समूह ‘इग्नाइटर्स’ को मासिक कार्यक्रममा ‘हाम्रा शहर र सार्वजनिक वृत्त’ शीर्षकमा मार्टिन चौतारीका अनुसन्धाता वन्तले दिएको व्याख्यानको सम्पादित अंश ।

*सच्याइएको

प्रतिकृया दिनुहोस