थप समाचारमंगलबार, १५ माघ , २०७५

पाँचथरमा भेटियो दुर्लभ छिरबिरे बिरालो

हिमालखबर

विश्वमै दुर्लभ मानिएको छिरबिरे बिरालो (मार्बल्ड क्याट) पाँचथरको याङवरकमा फेला परेको छ।

जिल्लाको याङवरक गाउँपालिका २ फलैंचामा समुद्री सतहबाट २ हजार ७५० मिटर उचाइमा यो बिरालो फेला परेको हो, जुन रेडपाण्डा नेटवर्कले राखेको क्यामेरा ट्रयापमा परेको हो।

उक्त बिरोलोको तस्वीर गत महिना क्यामेरा ट्रयापमा परेको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक तथा शोधकर्ता सोनाम टासी लामाले जानकारी दिए। १०७ स्थानमा राखिएका क्यामेरामा उक्त बिरालोसहित १७ प्रजातिका मझौला स्तनधारी जनावर परेको नेटवर्कले जनाएको छ।

लामाका अनुसार छिमेकी मुलुक चीन र भारतमा पनि यसअघि उक्त बिरालो फेला परेको थियो। छिरबिरे बिरालो घरपालुवाभन्दा केही ठूलो हुने लामाले जानकारी दिए। यसको रंग घरपालुकाको भन्दा अझ गाढा हुन्छ।

पाँचथरमा गरिएको क्यामेरा ट्रयापमा खिचिएको बिरालोको तस्वीर ‘नेचर कन्सर्भेसन ओपन एक्सेस’ जर्नलको पछिल्लो संस्करणमा छापिएको छ। जसमा मार्बल्ड बिरालोको नेपालमा पहिलो फोटोग्राफिक रेकर्ड बनेको उल्लेख छ। विश्वका १३ वटा मुलुकमा यो बिरालो पाइने शोधकर्ताहरू बताउँछन्।

लक्ष्मी गौतम, पाँचथर

पाँचथरको फलैंचामा फेला परेको छिरबिरे बिरालो। तस्वीर स्रोत- रेडपाण्डा नेटकवर्क

प्रतिकृया दिनुहोस