अफ्रिकी क्रिकेटर जोन्टी रोड्स डीपीएलको गुडविल एम्बासडर
दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएका छन्।
प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार रोड्स लिग आयोजना अवधिभर धनगढीमै रहनेछन् र प्रतियोगिता दौरान विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स फिल्डिङका कारण प्रसिद्ध छन्।
रोड्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिङ कोच थिए। श्रीलंका, दक्षिण अफ्रिका, केन्याका टिमलाई प्रशिक्षण दिइसकेका छन्। डीपीएलको गुडविल एम्बासडरको रूपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) र विश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास लिएको एकेडेमीका अध्यक्ष सुवास शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
प्रतियोगिता दौरान जोन्टी सीवाईसी अत्तरिया टिमको मेन्टरका रूपमा समेत रहने विज्ञप्तिमा उल्लेख छ। यस्तै, सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षक नियुक्त गरेको छ। मरुन वेस्ट इन्डिज क्रिकेट टिमका पूर्वफिल्डिङ प्रशिक्षक हुन्।