डीपीएलका लागि भारतका २ खेलाडी विराटनगर किङ्समा आवद्ध
रुस्लान धनगढी प्रिमियर लिगको टिम विराटनगर किङ्ग्सले आफ्ना २ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।
भारतका २ प्रथम श्रेणीका क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई टिमले आबद्ध गरेको हो। दुवैले रेलवेजका लागि भारतको प्रतिष्ठित रन्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन्। यादवले देब्रे हाते स्पिनर हुन् भने शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन्। ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन्। यस्तै, ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४,१९८ रन बनाएका छन्।
विराटनगर किंग्सको रणनीतिक खेलाडीका रूपमा करन केसी छन्। टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बाँस्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ्ग, तृत राज दास र सुवाश ऐयर छन्।
हिमाल डेन्टल रुस्लान डीपीएलमा हाइजिन पार्टनर हुने भएको छ। १५ माघमा हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
नगद र अन्य शीर्षकमा गरी रु ७ लाखबराबरको सम्झौता भएको हो। डेन्टलले रुस्लान डीपीएल खेल्ने प्रत्येक खेलाडीलाई रु ५ हजारबराबरको दाँतको नि:शुल्क जाँच गराउनेछ। रुस्लन डीपीएल २६ माघ-२२ फागुनमा धनगढीको फाप्ला मैदानमा आयोजना हुँदैछ।