एकदिवसीय सिरिज नेपाललाई, पारसको ऐतिहासिक शतक
क्याप्टेन पारस खड्काको ऐतिहासिक शतकको मद्दतले नेपालले घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) लाई ४ विकेटले पराजित गरेकाे छ। ४४ औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै सोमपाल कामीले नेपालको जित सुनिश्चित गराएका हुन्।
आजकाे जितसँगै नेपालले एकदिवसीय श्रृंखला २–१ ले जितेकाे छ। सिरिजकाे पहिलाे खेलमा युएईसँग पराजित भए पनि दाेस्राे र तेस्राे खेलमा जित हासिल गर्दै नेपालले पहिलाेपटक एक दिवसीय श्रृंखला जितेकाे हाे ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले राम्रो शुरुवात गरे पनि २४ ओभरपछि भने युएईले लय समात्दा २५५ रनको ठूलो लक्ष्य पछ्याउनु परेको थियो ।
जितमा क्याप्टेन पारस खड्काको १०९ बलमा ११५ रनको योगदानसँगै, ज्ञानेन्द्र मल्ल ३१, संदीप जोरा १९, रोहित पौडेल १६, विनोद भण्डारी ९, दीपेन्द्र सिंह ऐरी ६, आरिफ सेख २६ र सोमपाल कामीको २१ रनको महत्वपूर्ण योगदान रह्यो ।
यस अघि, युएईका ब्याट्सम्यानलाई दवावमा राख्ने क्रममा सोमपाल कामीले १, करण केसीले २, क्याप्टेन पारस खडकाले २ र सन्दीप लामिछानेले १ विकेट लिएका दिए ।
युएईले २५४ रन जोड्न सैमान अनवर ८७, मोहम्मद बोरा ५९, सीपी रिजवान ४५, मोहम्मद उस्मान २६, गुलाम सब्बर १८ र क्याप्टेन मोहम्मद नभिदले ११ रनको योगदान थियो ।