अष्ट्रेलियन ओपन टेनिस: जोकोभिच सातौंपल्ट च्याम्पियन
विश्व नम्वर एक सर्वियाली टेनिस खेलाडी नोभाक जोकोभिच मेल्वर्नमा आज (आइतबार) भएको फाइनल खेल जितेर अष्ट्रेलियन ओपन २०१९ च्याम्पियन बनेका छन् । आजको खेलमा उनले ३२ वर्षीय विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनका राफाल नाडाललाई ६–३, ६–२, ६–३ को सोझे सेटमा पराजित गरी वर्षको पहिलो ग्रान्डस्लाम ट्रफि हात पारेका हुन् ।
धेरैको आँकलनमा आजको खेल सन् २०१२ को अष्ट्रेलियन ओपनको फाइनलजस्तै रोमाञ्चक हुने भन्ने थियो । यी दुई खेलाडीबीचको त्यो ५ घण्टा ५३ मिनेट लामो खेल विपरित आजको खेल मात्र २ घण्टा ४ मिनेटमै सकिएको थियो । यद्यपि त्यतिबेलाका विजेता पनि जोकोभिच नै थिए ।
खेलभरि नै जोकोभिचले नौ ‘अनफोस्र्ड एरर’ (आफुले गरेको गल्ति) गरे, जबकी नाडालको यस्तै गल्ति २८ वटा हुन पुगेको थियो ।
जोकोभिच र नाडाल १६ पटकको भिडन्तमा १३ पल्ट जोकोभिचले जितेका छन् । आजको जितसँगै उनले अष्ट्रेलियन ओपनको सातौं उपाधि कब्जा गरेका छन् । यसअघि उनी २००८, २०११, २०१२, २०१३, २०१५ र २०१६ पनि अष्ट्रेलियन ओपन च्याम्पियन बनेका थिए ।
जोकोभिचले यो सहित १५ ग्राण्डस्लाम जितिसकेका छन् । उनी फ्रेञ्च ओपन (२०१६), ४ पटक विम्वल्डन (२०११, २०१४, २)०१५, २०१८), ३ पटक युएस ओपन (२०१११, २०१५, २०१८) विजयी बनिसकेका छन् ।
नाओमी ओसाका महिला च्याम्पियन
त्यस्तै, शनिबार भएको अष्ट्रेलियन ओपनको महिलातर्फको खेलमा जापानकी २१ वर्षीय नाओमी ओसाका च्याम्पियन बनिन् । उनले दुई पटककी विम्बल्डन विजयी पेट्रा क्विनटोभालाई ७–६, ५–७, ६–४ ले हराएर यो उपाधि जितेकी हुन् । उनी अष्ट्रेलियन ओपन जित्ने पहिलो जापानी टेनिस खेलाडी बनेकी छिन् ।