युएईसँग दोस्रो एकदिवसीय खेलमा नेपाल १४५ रनले विजयी
संयुक्त अरब इमिरेट्स (युएई)सँग शुक्रबार भएको पहिलो एक दिवसीय खेलमा ३ विकेटको हार व्यहोरेको नेपालले शनिबाको दोस्रो खेलमा भने १४५ रनको शानदार जित निकालेको छ ।
दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा नेपाल युएईसँग १४५ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले २४३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेकोे युएईले १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्योे।
युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले पाँच तथा सन्दीप लामिछाने चार विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै २४२ रन बनाएको थियो । े घरेलु टोली यूएईविरुद्ध पहिलो खेलमा ११३ रन मात्र बनाउन सफल भएको नेपालले दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै २४३ रनको सम्मान जनक स्कोर बनाउन सफल भएको हो ।
नेपालको फराकिलो स्कोरमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङस खेले । रोहितले ५८ बलमा नेपालका लागि सर्वा्धिक ५५ रन बनाएका थिए। त्यस्तै आरिफ शेखले २९, ज्ञानेन्द्र मल्लले ४४, कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१÷२१ रन जोडे । त्यस्तै करण केसीले १८ रन बनाउँदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी १० रन जोडे । युएईका इमरान हेदर र अमीर हायतले तीन÷तीन विकेट लिए।
जितसँगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको सिरिजमा १/१ को बराबरी गरेको छ । अब नेपाल र युएईबीचको निर्णायक तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ । पाँच विकेट लिन सफल नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए।
यससँगै, नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अन्तर्रा्ष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाउन सफल भएका छन् । उनले अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेटमा सबभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अर्धशतक गर्दा उनी १६ वर्ष १४६ दिनका छन् । ब्याट्सम्यान रोहितको अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो ।
रोहितले भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमानलाई भङ्ग गरेका हुन् । यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए। रासस