भोलि साँझदेखि मौसममा सुधार हुने
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका हिमपात भइरहेको जनाएको हो ।
आज राति पनि देशको अधिकांश स्थानमासामान्य बद्ली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव मध्य हँुदै क्रमशः पूर्वतर्फ गइरहेकाले आइतबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
भोलि, आइतबार देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । भोलि पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज काठमाडौंको न्यूनतम तापक्रम ७.८ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ ।
हिजो साँझदेखि काठमाडौंमा चार मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २८, भैरहवामा २६, दाङमा २४, वीरेन्द्रनगरमा २३, डडेल्धुरामा २२ र दीपायलमा १५ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, जुम्लामा १२, सिमरामा चार र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ र अधिकतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।
सबैभन्दा बढी अधिकतम तापक्रम सिमराको १४, भैरहवा र विराटनगरको समान १२ डिग्री सेल्सियस रहेको छ । रासस