ब्लगशनिबार, १२ माघ , २०७५

जुवा बन्द र फुकुवा

भैरव रिसाल

२००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले जनताको हित गर्दैन भनी प्रतिबन्ध लगाएको जुवा अर्को वर्षको तिहारमा ‘मनोरञ्जनका लागि’ भन्दै फुकुवा गरियो।

जुवा खेल्न नेपालको कानूनले प्रतिबन्धित गरेको छ। राणाशासनको बेला भने जुवाबारे बेग्लै काइदा कानून थियो। सरकारले समय र ठाउँविशेष अनुसार बेलाबेला जुवा फुकुवा गर्थ्यो। खासगरी बडादशैंको कोजाग्रत पूर्णिमाको २४ घण्टा र तिहारमा लक्ष्मीपूजादेखि भाइटीकाको भोलिपल्ट बिहानसम्म ७२ घण्टा जुवा खेल्न छूट हुन्थ्यो। कोजाग्रत पूर्णिमामा उपत्यकाको चारभञ्ज्याङभित्र र तिहारको बेला नेपाल राज्यभर जुवा खेल्ने र खेलाउन पाउने नियम थियो।

वैशाख पूर्णिमाको दिन भने सदर टुँडिखेलमा मात्र जुवा फुक्थ्यो। यस्तै, मत्स्येन्द्रनाथको भोटो देखाउने दिन मत्स्येन्द्रनाथलाई बुङ्मती लगेपछि पाटन शहरमा भोलिपल्ट बिहानसम्म जुवा फुक्थ्यो। जुवा फुकेको र बन्द भएको सूचना झ्याली पिटाएर दिने चलन थियो। किनकि, त्यो जमानामा सार्वजनिक सूचना दिने माध्यम अरू थिएन।

जुवा र राणाविरोधी आन्दोलन
पौराणिक किंवदन्ती हेर्ने हो भने जुवा केही रकमको हार-जित मात्र होइन, राज्य नै दाउमा राखिने खतरनाक खेल हो। महाभारत काण्ड पाण्डव र कौरवबीचको जुवाले गर्दा नै भएको हो।

नेपालमा कागजको नोट नछापिउञ्जेल (संवत् २००२ असोजअघि) राणा शासकहरूले जुवा खेल्दा नगद कारोबार विशेष तरिकाले गर्थे। धेरै रुपैयाँको जुवा खेलिने भएकाले सिक्का गनेर हरहिसाब गर्न धेरै समय लाग्ने भएकाले कहिले पाथीले भरेर, कहिले तराजुले जोखेर कारोबार हुन्थ्यो रे !

२००९ सालमा ‘मनोरञ्जनका लागि’ भनी लक्ष्मीपूजादेखि भाइटीकाको भोलिपल्ट बिहानसम्म ७२ घण्टा घर-घरमा जुवा खेल्ने इजाजत दियो। एक वर्षअघि विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री भएको गृह विभागले ‘जनताको हितमा’ भनी जुवा बन्द गराएको थियो।

शासकहरूको भोगविलासको एउटा माध्यम जुवा खेल्न फुकुवा भएकै दिन मौका छोपेर राणाशासनविरुद्ध आन्दोलन शुरू भएको रहेछ। ९ असार १९९७ मा मत्स्येन्द्रनाथको भोटोजात्राको उपलक्ष्यमा जुवा खेल्न फुकुवा गरिएको थियो। सोही राति पर्चा टाँसेर र छरेर राजनीतिक आन्दोलन शुरू भएको रहेछ। जुवा फुक्का गरेकाले त्यो रात कर्फ्यू नलाग्ने भएकाले नेपाल प्रजा परिषद्ले त्यो अवसरको भरपूर फाइदा लियो।

राणाशासनको अन्त्य भएको अर्को वर्ष सरकारले चाडपर्व विशेषमा समेत जुवा फुकुवा नगर्ने गरी पूर्णरूपमा बन्द गर्ने निर्णय गर्‍यो। १ असोज २००८ मा तत्कालीन सरकारको गृह विभागले एउटा विज्ञप्ति निकाल्यो- “अहिलेको बदलिएको परिस्थितिमा जुवा बन्द गर्नुमा नै जनताको हित ठहरिएकोले अबउप्रान्त कोजाग्रत र यमपञ्चकमा समेत जुवा फुक्का नगर्ने निश्चय भएको छ।”

गृह मन्त्रालयलाई गृह विभाग भनिने त्यो समयमा विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री थिए। तर, त्यसबेला जुवासम्बन्धी ऐन संशोधन वा खारेज हुनसकेको रहेनछ। त्यसैले खुला रूपमा खेल्न रोक लगाइए पनि घर-घरमा भने तिहारको बेला जुवा खेल्ने चलन जारी नै रहेछ।

‘मनोरञ्जनका लागि’ फेरि खुला
राणा र कांग्रेसको संयुक्त सरकार लामो समय चल्न सकेन। प्रधानमन्त्री पदबाट मोहनशमशेरले २० कात्तिक २००८ मा राजीनामा गरे। १ मंसीरमा गठित मातृका कोइराला नेतृत्वको सरकारले पनि २६ साउन २००९ मा राजीनामा दियो। त्यसपछि ३० साउनमा राजा त्रिभुवनले केही परामर्शदाताको सहयोग लिएर आफैं शासन चलाउने निर्णय गरेछन्। उनले जनरल केशरशमशेर, मेजर जनरल महावीरशमशेर, खड्गमान सिंह, लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर बस्न्यात र शारदाशमशेरलाई परामर्शदाता राखे।

त्यो परामर्शदातृ सरकारले १ कात्तिक २००९ मा मनोरञ्जनका लागि लक्ष्मीपूजाको दिन बिहानदेखि भाइटीकाको भोलिपल्ट बिहानसम्म घर-घरमा जुवा खेल्ने इजाजत दियो। यहाँ यो सन्दर्भ उठाउनुको तात्पर्य एक वर्षअघि विश्वेश्वरप्रसाद गृहमन्त्री भएको गृह विभागले ‘जनताको हितमा’ भनी जुवा बन्द गरायो। तर, राजाले नेतृत्व गरेको परामर्शदातृ सरकारले ‘मनोरञ्जनका लागि’ भनी तिहारमा ७२ घण्टा जुवा फुकायो।

जुवाबारे निर्णय गर्दा ‘जनताको हित नगर्ने’ एउटा राजनीतिक नेता वा पार्टीको ठम्याइ र ‘मनोरञ्जनका लागि’ अर्को पक्षको ठम्याइ हेर्दा राजनीतिक पार्टी र कुलीनहरूको हेराइ अनि व्याख्याको अन्तर छुट्याउन सहयोग गर्छ कि भन्ने मेरो सारांश हो।

प्रतिकृया दिनुहोस