ब्लगशनिबार, १२ माघ , २०७५

मलाई ‘विदेशी’ बनाउने तिलचामले कपाल

रुपा जोशी

सेतो कपाललाई सहर्ष स्वीकारेसँगै यो अब मेरो गहना भएको छ, चाँदीजस्तै !

झण्डै दुई दशकअघि हिमाल (१६-३० वैशाख २०५७) मा मैले एउटा लेख लेखेकी थिएँ- मेरो पाक्न शुरू गरेको कपालबारे। लेखको शीर्षकमा उल्लेख गरेजस्तै त्यसबेला मेरो कपाल तिलचामलमा सीमित थियो। अब त समय र यससँगै बटुलेका अनुभवहरूले कपाल चामलै चामल हुन लागिसक्यो।

त्यसबेला मेरो लेखले धेरैको मन छोएको रहेछ। एक दुई जना पुरुष पत्रकार साथीले त ‘तपाईंले के के लेख्नुभयो के के... गोबर र सोबरको घोल, अनि मैले पनि कपाल रंग्याउन छाडें’ भने।

अचम्म त, समय धेरै बित्दा पनि कतिपयले मेरो कपालको रङ देखेरै मेरो पहिचान ठम्याउन सकेका छन्। अनि आक्कलझुक्कल कसैले त्यो लेख आफूहरूले पढेको र सम्झेको पनि सुनाउँछन्।

मलाई सेतो हुँदै गरेको कपाल लामो पारेर नौलो फेशन चलाइदिन मन लागेको थियो, ‘लामो सेतो लहलहाउँदो कपाल’ भनेर विज्ञापनमा मेरै कपालको नमूना बन्ने गरी !

कपाल कुमसम्म लामो हुँदा मेरै अफिसकी हाकिमले बारम्बार ‘तिमी त हजुरआमाजस्तै देखियौ, नपाल कपाल !’ भनेकी थिइन्। त्यतिबेला मेरी जेठी नातिनी जन्मिसकेकी हुनाले जवाफ दिन्थें ‘म हजुरआमा नै त हो नि ! के फरक पर्छ र !’

तर, जाडोयाम सकिएर गर्मीले छोप्दै गर्दा लम्बिँदै गएको कपालले मलाई सकसक हुनथाल्यो। जतिखेर पनि कपाललाई गुटमुट्याएर च्याप्न थालें।

त्यसपछि लक्ष्य त्याग्दै कपाल छोटो राख्न थालें। नयाँ फेशन चलाउने मेरो धोको त्यहीं तुहियो !

मेरो कपालको रङबारे पनि अचम्मका प्रतिक्रिया सुन्न पाएकी छु। शुरूमा ‘ल है, आफू पनि बूढी देखिने भयौ, हामीलाई पनि बूढीको थान्कोमा पुर्‍याउन लाग्यौ !’ भन्ने आफन्तहरूले अबचाहिँ ‘गज्जब स्मार्ट देखिएकी छौ’ भन्न थाले। कत्तिले त्यसलगत्तै ‘हामीलाई त आँट आउँदैन, हामीलाई सुहाउँदैन’ भन्छन्।

एक दुई जनाले चाहिँ ‘मैले पनि अलि महीना कपाल यत्तिकै छोड्दा आफन्तहरूले किन यस्तो गतिछाडा भएर हिँडेको, रंग मै किनेर ल्याइदिन्छु सम्म भने, अनि फेरि रंग्याउन थालें’ भनेका छन्।

कालै आँखीभौं र चाउरी नपरेका गाला देखेर होला, मेरो उमेरबारे धेरै जना झुक्किन्छन्। कुरो गर्दै जाँदा ‘कति वर्ष पुग्नुभयो ?’ भनेर कत्तिले मुखै फोर्छन्। अरूहरू मेरो पहिचानबारे पनि अड्कल लगाउँछन्।

कामको सिलसिलामा विदेशीहरूसित गाउँ पस्दा धेरैचोटि ‘यति वटा विदेशी आएका रैछन्, एउटीले त परर्रै नेपाली बोल्ने रैछ’ भनेको सुनेकी छु। कत्तिले ‘राम्रै नेपाली बोल्नु हुँदोरैछ, हामीले जस्तै। नेपाल बसेको धेरै भयो कि क्या हो ?’ भनेर सोध्थे। ‘होइन, म पक्का नेपाली हो’ भन्दा एक ठाउँमा त एउटी आमैले ‘उसो भए विदेशमा समुद्रको पानीले नुहाएर यस्तो कपाल पार्नुभएको रैछ !’ भनेर अड्कलसमेत काटिन्।

केही वर्षअघि एउटा डिपार्टमेन्ट स्टोरमा पैसा तिर्दैथिएँ। म पछाडि पर्खिरहेकी महिलाले शायद आफ्नी छोरी वा बुहारीलाई भनिन्, ‘देख्यौ ? हामीले चाहिँ सबै लत्तो छोडिसक्यौं, ल हेर यिनलाई। यिनले टीका पनि लगाएकी छिन्, नाकमा फूली पनि छ !’

कपालजति सेता हुँदै गयो, मानिसहरूले ‘दिदी’बाट ‘आन्टि’, ‘आमा’, ‘मुवा’ र अब ‘बजै’ सम्बोधन गर्न थालेका छन्। रमाइलो लाग्छ ! अझ ‘बूढो’ मान्छे देखेर बस वा कार्यालयमा धेरैले आफ्नो सीट दिन्छन्, सभाहरूमा अगाडिको सीटतिर बस्न संकेत गर्छन् !

मैले उनलाई आफ्नो नामसहितको परिचय दिँदै आफू एकदमै ‘लोकल’ भएको बुझाउन खोजें। तर पत्याइनन् । ठानिन् होला, ‘नाम पनि हामीजस्तै राखिसकिछ !’

कपालले गर्दा नेपाली नबुझ्ने विदेशी ठानेर बाटोमा हिँड्दा कत्तिले मेरो अति भारी जीउ देखेर ‘आम्माऽमामा ! ल हेर यसको फर्सीभन्दा ठूलो ... !’ भनेर आपसमा ठट्टा गर्छन्। मैले उनीहरूलाई फर्केर ‘के भयो त ? मेरो जीउ यस्तै छ !’ भन्दा अक्क न बक्क पर्छन्।

आफ्नो कपालको रङ फेरिएको भन्ने कहिलेकाहीं बिर्सिंदो रहेछ। हाम्रो अफिस अगाडिको क्याफेमा श्रवण शक्ति कम भएका वेटरहरू भएकाले अक्सर संकेतले कुरा बुझाउन कोशिश गरिन्थ्यो। चिया अर्डर गर्दा ‘ब्ल्याक टी’ भनेर संकेत गर्न कुनै बेला मैले आफ्नो कपालतिर देखाएर अर्थ्याउन खोजेकी छु। वेटरले दूध दुहेको संकेत गर्दै ‘दूधवाला चिया ?’ भन्दा पो आफ्नो कपाल दूधिलो भइसकेको याद हुन्छ !

कपाल जति सेतो हुँदै गयो, यताउति गर्दा मानिसहरूले ‘दिदी’ बाट ‘आन्टी’, ‘आमा’, ‘मुवा’ र अब ‘बजै’ सम्बोधन गर्न थालेका छन्। रमाइलो लाग्छ ! पाकेको कपालको फाइदा पनि छ। ‘बूढो’ मान्छे देखेर बस वा कार्यालयमा धेरैले आफ्नो सीट दिन्छन्, सभाहरूमा अगाडिको सीटतिर बस्न संकेत गर्छन् !

सेतो कपाल अब मेरो पहिचान भइसकेको छ। एक किसिमले आफ्नो गहनाजस्तै लाग्छ, चाँदीजस्तै कपाल। मेरो पाकेको कपाललाई सहर्ष स्वीकारेर मैले ठूलो झञ्झटबाट मुक्ति पाएकी छु- बारम्बार कपाललाई रङरोगन गर्नबाट, र आफ्नो असली रूपलाई ढाकछोप गर्नुपर्ने बाध्यताबाट। मैले ऐनामा जे देख्छु, त्यो मेरो असली रूप हो।

प्रतिकृया दिनुहोस