नेपाल-यूएई एक दिवसीय क्रिकेट- नेपालको निराशाजनक शुरुआत
संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु भएको नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा नेपालले निराशाजनक शुरुआत गरेको छ। ओपनर ज्ञानेन्द्र मल्ल यूएईका मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलाम साब्बरबाट ‘क्याच आउट’ भए।
यूएईविरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो। ओपनर मल्ल ४ बल खेलेर आउट भएका हुन्। अर्का खेलाडी विनोद भण्डारी पनि १४ बल खेलेर ५ रन जोडी ‘क्याच आउट’ भएका छन्।
नेपाल र यूएई पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)बाट मान्यता प्राप्त एक दिवसीय खेल खेलिरहेका छन्।
५० ओभरको खेलमा नेपाल र यूएई २० वर्षदेखिका प्रतिद्वन्द्वी हुन्। दुवै टिमले हालसम्ममा १५ वटा ५० ओभरका खेल खेलेका छन्। तीमध्येका ११ वटा खेल यूएईले जितेको थियो। नेपालले ३ वटा खेलमा मात्र विजेता बन्ने अवसर पाएको थियो। अर्को एउटा खेल बराबरीमा टुंगिएको थियो।