भारतीय गणतन्त्र दिवसलाई उपहार- हालसम्मकै कम तौलको भूउपग्रह प्रक्षेपण
भारतीय स्पेस एजेन्सी इसरोले २४ जनवरी अबेर राति हालसम्मकै कम तौलको भूउपग्रह ‘कलाम स्याट बीटु’ पृथ्वीको कक्षमा स्थापित गरेको छ।
उक्त भूउपग्रह विद्यार्थीहरूले निर्माण गरेका हुन्, जुन १.२६ किलोको मात्र छ। ‘कलाम स्याट बीटु’ को साथमा इमेजिङ भूउपग्रह ‘माइक्रोस्याट-आर’ पनि अन्तरिक्षमा पठाइएको छ। आन्ध्रप्रदेशको बंगालको खाडी किनारस्थित श्रीहरिकोटास्थित स्पेस सेन्टरबाट दुवै भूउपग्रह प्रक्षेपण गरिएको हो।
इसरोका अध्यक्ष डा. के. सिवनले प्रक्षेपणलगत्तै त्यसलाई निर्माण गर्ने विद्यार्थीहरूलाई बधाइ दिए। “यस्ता आविष्कार लिएर इसरोको सम्पर्कमा आउन भारतका सबै विद्यार्थीलाई आग्रह गर्छु,” उनले भने। कलाम स्याटको निर्माण चेन्नईस्थित स्पेस एजुकेशन फर्म ‘स्पेस किड्ज इन्डिया’मा भएको हो। भारतको गणतन्त्र दिवस (२६ जनवरी)को ठीक २ दिनअघि उपहारका रूपमा ‘कलाम स्याट बीटु’ प्रक्षेपण गरिएको हो।
भारत सन् २०२१ सम्ममा मानवसहितको अन्तरिक्ष यान पठाउने तयारीमा छन्, जसलाई ‘गगनयान’ नाम दिइएको छ।
बीबीसीबाट