नविकरणीय उर्जा विकासको लागि अतिकम विकसित देशहरुबीच सहकार्यको घोषणा
मुकेश पोखरेल
मराकेश, मोरक्को
जलवायु परिवर्तनबाट प्रभावित अतिकम विकसित देशहरुको समूह (एलडीसी) ले नविकणीय उर्जाको मुद्दालाई साझा रुपमा अगाडि बढाउने भएका छन् ।
मोरक्कोको मराकेशमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्वन्धी अन्तराष्ट्रिय सम्मेलन (कोप २२) मा एलडीसी अन्र्तगत रहेका देशहरुले नवीकरणीय उर्जा सहकार्य गर्दै आगामी दिनमा नविकरणीय उर्जाको मुद्दालाई संयुक्त रुपमा अगाडि बढाउने घोषणा गरेका हुन् ।
एलडीसी ग्रुप अतिकम विकसित ४८ देशहरुको समूह हो । यसमा समुन्द्र तटीय, पर्वतीय र मरुभूमिमा रहेका देश पर्दछन् ।
सम्मेलनमा सहभागी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र नेपालका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार गत सेप्टेम्वरमा कङ्गोमा कोप २२ को पूर्व तयारीका लागि आयोजना भएको मन्त्रीस्तरीय वैठकले नवीकरणीय उर्जा र दक्षता सम्वन्धी कार्यक्रमलाई साझा रुपमा अगाडि बढाउने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार जारी कोप २२ बाट अतिकम विकसित देशहरुले नविकरणीय उर्जामा सहकार्यको घोषणा गरेका हुन् ।
“गरिव देशहरुको साझा मुद्दा आउन सकेका थिएनन्, नविकरणीय उर्जामा सहकार्य गरेर अघि बढ्ने प्रयास हो,” धितालले भने, “नवीकरणीय उर्जा र दक्षता अभिवृद्धिमा सहकार्यको घोषणा भएको छ, स्रोत खोज्दै अघि बढ्छौ ।”
धितालका अनुसार अहिले पनि विश्वका १ अर्ब ३० करोड जनतामा विजुलीको पहुँच छैन ।
२ अर्ब ७० करोड जनसंख्याले परम्परागत उर्जाको खपत गरिरहेको छ । उर्जाबाट बञ्चित र परम्परागत उर्जाको प्रयोग गर्ने ९० प्रतिशत जनसंख्या अतिकम विकसित मुलुकमा बसोबास गर्छन् ।
छरिएर रहेका मुद्दालाई गरिव देशहरुले एकीकृत रुपमा अगाडी बढाएको र सहकार्यको प्रयासले आधुनिक उर्जाको विकास र मानिसको स्वास्थ्य जिवनमा सुधार आउने विश्वास धितालले व्यक्त गरे ।
वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले नवीकरणीय उर्जाको विषयमा गरिएको सहकार्यले अतिकम विकसित देशहरुमा सकारात्मक प्रभाव पर्ने बताए ।
सहकार्यको उद्देश्य नविकरणीय उर्जाको विकास गर्दै घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्दैगरिवि निवारण, शिक्षा र स्वास्थ्य तथा समग्र विकास, हरित गृह ग्यासको न्यून उत्सर्जन हो ।
सहकार्यको घोषणालाई तत्कालै कार्यान्वयनमा लैजाने एलडीसीका अध्यक्ष तोसी मानु मानुले बताए । उनका अनुसार सन २०२० सम्म एलडीसी अन्र्तगतका देशहरुमा अहिलेसम्म भएका राम्रा कामको अध्ययन गरिने छ भने, सन २०२० देखि नविकरणीय उर्जाको वृद्धि गर्ने कार्यक्रम सञ्चालन हुनेछन् । घोषणा कार्वान्यनका लागि दुई तहको संरचना बनाइने घोषणा गरिएको छ ।