रिपोर्टशुक्रबार, ११ माघ , २०७५

टेकोमा सम्पदा

गोपाल गडतौला

१२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त सम्पदाहरूको साढे तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुनसकेको छैन। भूकम्पले जग र जोर्नी खलबल्याएपछि तत्काल थामथुम पार्न टेकोले अड्याइएका सम्पदाहरू अहिले पनि सोही अवस्थामा छन्। टेकोको सहारामा धराप अवस्थामा उभिएका सम्पदाहरू काठमाडौं उपत्यकाका ठाउँठाउँमा देखिन्छन्।

टेकोमा अड्याइएको कुमारी घर । तस्वीरहरू- गोपाल गड्तौला

भूकम्पबाट हनुमानढोका दरबार स्क्वायर क्षेत्रभित्रका मठमन्दिर र दरबार गरी ४३ वटा संरचना क्षतिग्रस्त भएका थिए। तीमध्ये गद्दी बैठक, तलेजु मन्दिर, नगरा घरलगायत नौ वटा निर्माण भइसकेका छन् भने सात वटा निर्माण क्रममा छन्। निर्माण नै शुरु नगरिएका बाँकी २७ वटा सम्पदामध्ये अधिकांश टेकोकै भरमा छन्। पुनर्निर्माणमा ढिलाइ हुँदा जेनतेन टेकोमा उभ्याइएका सम्पदा जुनसुकै बेला ढल्न सक्ने जोखिम छ।

कुमारी घर

कुमारी घरको भित्री भाग ।

विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार स्क्वायर क्षेत्रभित्र रहेको कुमारी घरको बाहिर र भित्र गरी २४ वटा टेको लगाइएको छ। गएको असोजदेखि मंसीरसम्म कुमारी घरको प्राविधिक जाँच गर्दा उक्त भवनको पर्खालको चौडाइ थेग्नेगरिको जग निर्माणसहित धेरैजसो भाग पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष आएको थियो। तर, गुठी संस्थानले जीवित देवीको रूपमा पुजिने कुमारी बस्ने घर भत्काउन नहुने अडान लिएपछि हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अलमलमा छ।

आगमछें

हनुमानढोका संग्रहालयको प्रवेशद्वारसँगै लाम्चो आयतनमा फैलिएको आगमछें मन्दिर पनि टेकोको सहारामा उभिएको छ। जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकामार्फत भइरहेको यसको पुनर्निर्माण लागत रु.३३ करोड छ। तर, मन्दिरमा तान्त्रिक ज्ञान भएको व्यक्ति मात्र प्रवेश गर्न पाउने भएकाले विदेशीलाई प्रवेश नदिइँदा निर्माणको कामले गति लिनसकेको छैन। यो जटिलता समाधान गर्न प्रयास भइरहेको पुरातत्व विभागका कार्यवाहक महानिर्देशक दामोदर गौतम बताउँछन्।

शिव-पार्वती मन्दिर

हनुमानढोका दरबार क्षेत्रभित्रै रहेको शिव-पार्वती मन्दिर पनि १२ वटा टेकोले थामिएको छ। यो मन्दिर पुनर्निर्माणको योजनामा समेत परेको छैन। मन्दिरको जग र भित्ता चर्किएको छ। भूकम्पपछि असुरक्षाको डरले उक्त मन्दिरमा पूजापाठ गरिएको छैन।

माजु देगः मन्दिर

साढे तीन वर्षअघिको भूकम्पले काष्ठमण्डप नजिकै रहेको माजु देगः (महादेव) मन्दिर मर्काएको थियो। बाह्रै मास दिनभर मानिसको चहलपहल हुने ठाउँको उक्त मन्दिर पनि दुई दर्जनभन्दा बढी टेकोको भरमा छ। मन्दिर पुनर्निर्माणका लागि रु.२५ लाखको योजना स्वीकृत भएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखल बताउँछन्।

टेकु पचलीस्थित बलराम मन्दिर

काठमाडौं महानगरपालिका-१२, टेकु पचलीस्थित १०० वर्ष पुरानो मानिने बलराम मन्दिरको दोस्रो तला भूकम्पले लच्किएपछि पर्खाललाई टेकोले अड्याइएको छ। भूकम्पले उक्त मन्दिरसँगै रहेको कलात्मक भवन भत्किएर इँटा र अन्य सामग्री असरल्ल छरिएका छन्। पछिल्ला वर्षहरूमा मन्दिरमा दर्शनार्थी घटेका छन्। काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले चालु आर्थिक वर्षमा मन्दिर पुनर्निर्माणका लागि रु.५० लाख छुट्याएको छ। तर, अहिलेसम्म मन्दिर जीर्णोद्धारको योजनासमेत बनेको छैन।

सम्पदा कति ? ‘थाहा छैन’
सामान्यतया १०० वर्ष नाघेको धार्मिक, सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वको मूर्त वा अमूर्त वस्तु वा परम्परालाई पुरातत्व विभागले सम्पदा मान्ने गरेको छ। सो आधारमा विभागले उपत्यका बाहिर एक हजार ८७२ वटा सम्पदाको पहिचान गरेको छ। उपत्यकाभित्र भने कति सम्पदा छन् भन्ने यकिन तथ्यांक विभागसँग छैन। विभागका कार्यवाहक महानिर्देशक दामोदर गौतम उपत्यकाभित्र कम्तीमा दुई हजार सम्पदा रहेको अनुमान गर्छन्। “अहिलेसम्म यही अनुमानको भरमा विभाग चलेको छ,” उनी भन्छन्।

देश संघीय संरचनामा गएपछि विभागलाई काम गर्न असहज भएको छ। देशका अन्य ठाउँमा विभागको शाखा वा कुनै इकाइ नभएको र प्रदेश तहमा विभागले कुन मन्त्रालयसँग समन्वय गर्ने भन्ने किटान समेत नभएकोले जटिलता भएको महानिर्देशक गौतम बताउँछन्। विभागले गएको असारमा सातै वटा प्रदेश सरकारलाई सम्पदाहरूको संरक्षणको लागि इकाइ खडा गर्न र कार्यक्रम बनाउन सुझाव पठाएको थियो। तर, सात महीना बितिसक्दा प्रदेश सरकारहरूबाट त्यससम्बन्धी काम भएको जानकारी आएको छैन।

प्रतिकृया दिनुहोस