वरिष्ठ समालोचक मोहनराज शर्माको निधन
वरिष्ठ साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माको १० माघ बिहान ८१ वर्षको उमेरमा निधन भएको छ।
मधुमेह, रक्तचापलगायत रोगबाट पीडित उनको कलंकीस्थित नेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन्। उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ। उनको जन्म कात्तिक १९९४ मा काठमाडौंमा भएको थियो ।
त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले ११ माघमा मात्र अन्त्येष्टि गरिने भएको छ। उनको पार्थिव शरीर पशुपतिको शवगृहमा राखिएको छ। शर्माले नेपाली साहित्यका प्रायः सबै विधामा योगदान दिएको डा गौतमले बताए।
शर्माका ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त)’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक), ‘कोर्रा’ कथासंग्रह, ‘पुछारको पातो, ‘मि. झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यंग्य’ (निबन्ध संग्रह), ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’लगायत कृति प्रकाशित छन्। रासस