काराबाओ कपः म्यानचेस्टर सिटी फाइनलमा, चेल्सी र टोटनहम आज राति भिड्दै
इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी इङल्याण्डको अर्को प्रतियोगिता काराबाओ कप (लिग कप) को फाइनलमा पुगेको छ।
बिहीवार बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बर्टन एफसीलाई १-० गोलले पराजित गरेपछि सिटी फाइनल प्रवेश गरेको हो। सिटीको जितमा सर्जियो अगुइरोले गोल गरे। सेमिफाइनलको पहिलो लेगमा सिटीले ९-० गोलको फराकिलो जित हासिल गरेको थियो। फाइनल पुग्न सिटीले समग्रमा १०-० को जित हात पार्यो।
काराबाओ कपको फाइनलमा सिटीसँग प्रतिस्पर्धा गर्ने टिमको टुंगो बिहीवार राति लाग्नेछ। बिहीवार राति चेल्सी र टोटनहमबीच सेमिफाइनलको दोस्रो लेग हुँदैछ। पहिलो लेगमा टोटनहमले घरेलु मैदान वेम्बलीमा चेल्सीलाई १-० गोलले पराजित गरेको थियो। दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ। फाइनल प्रवेशका लागि चेल्सीले स्पष्ट २गोलको अग्रतामा जित हासिल गर्नुपर्नेछ भने टोटनहमका लागि बराबरी खेले पर्याप्त हुनेछ।