हिमपातले यातायात र विद्युत् अवरुद्ध
बैतडीमा भएको बाक्लो हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।
अनारखोली, खोड्पेलगायतका क्षेत्रमा बाक्लो हिमपात भएकाले सवारी साधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जनाकारी दिए ।
त्यस्तै मोतीनगर, ढोल्यामोड, बित्थड, देउलेकलगायतका स्थानमा पनि भारी हिमपात हुँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
हिमपातले अत्यधिक चिसो बढेकाले जनजीवन पनि प्रभावित भएको छ । तर, खेती सपर्ने भन्दै स्थानीय खुशी छन् ।
वर्षा र हिमपातका कारण बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
७ माघ बेलुकाको हुरी र हिमपातले विद्युत् सेवा अवरुद्ध भएको हो ।
हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाइएको छ । रासस