टिप्पणीबुधबार, ९ माघ , २०७५

सडक दुर्घटनाका मृतकमध्ये सबैभन्दा बढी पैदल र साइकलयात्री

हिमालखबर

डा. पुष्पराज पन्त

सडक दुर्घटनाबाट हुने मृत्युको दर छिमेकी देशहरू बाङ्लादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानमा भन्दा नेपालमा बढी छ । यो नेपालका लागि दशककै सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य तथा सामाजिक समस्या हो ।  

मोटरसाइकल चालकले ज्यान गुमाएको ३ साउन २०७५ मा बालकुमारी, ललितपुरमा भएको दुर्घटना । तस्वीरः बिक्रम राई

विश्व स्वास्थ्य संगठनको सडक सुरक्षाको विश्वव्यापी अवस्था प्रतिवेदन २०१८ अनुसार संसारभर सडक दुर्घटनामा मर्नेहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । सन् २०१६ को तथ्यांकलाई विश्लेषण गर्दा यो संख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्यांकभन्दा यो संख्या एक लाखले बढी हो ।

तर विश्वमा बढेको जनसंख्या र यातायातका साधनको संख्याको अनुपात अनुसार सडक दुर्घटनाबाट हुने मृत्यु कम भएको छ । सन् २००० मा प्रति एक लाख यातायातका साधनमा औसत मृत्युदर १३५ रहेकोमा यो दर २०१६ मा ६४ मा झरेकाे छ ।

अर्कोतर्फ सन् २००० मा प्रति एकलाख जनसंख्यामा मृत्युको दर १८.८ रहेकोमा सन् २०१६ मा १८.२ मा झ्रेको छ । सडक सुरक्षा विज्ञहरू यसलाई सडक दुर्घटनाबाट हुने मृत्युको दर स्थिरताउन्मुख मान्दछन् ।

नेपालको फरक अवस्था
नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७४/७५ मा सडक दुर्घटनामा मृत्यु हुनेकोे संख्या २ हजार १९५ छ भने विश्व स्वास्थ्य संगठनको अनुमानले यो संख्या ४ हजार ६२२ उल्लेख गरेको छ । स्वास्थ्यका विश्वव्यापी तथ्यांकको अर्को भरपर्दो स्रोत ग्लोबल बर्डन अफ डिजिज (जीबीडी) को अध्ययनले त यो संख्या ६ हजार ७६५ सम्म भएको र प्रति एकलाख जनसंख्यामा मृत्युको दर २३ रहेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा दक्षिण एशियाली मुलुकहरूमा सडक दुर्घटनाका मृतकमध्ये सबैभन्दा बढी पैदलयात्री र साइकलयात्रीहरू (४३%) रहेको उल्लेख छ । नेपाल प्रहरीको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ का लागि गरिएको अनुमान र नेपाल प्रहरीको तथ्यांकमा ठूलो भिन्नता छ । यसरी फरक तथ्यांक र तथ्यांकीय विधिबाट गरिएका अनुमानहरूका आधारमा एउटा कुरा के स्पष्ट हुन्छ भने नेपालमा जनस्वास्थ्यको यस्तो भयावह समस्या समाधानका लागि भरपर्दा तथ्यांक उपलब्ध छैनन् ।

सडक दुर्घटनाबाट हुने मृत्युको दर छिमेकी देशहरू बाङ्लादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानमा भन्दा नेपालमा बढी छ । यो नेपालका लागि दशककै सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य तथा सामाजिक समस्या हो ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित सडक सुरक्षाको विश्वव्यापी प्रतिवेदनका सल्लाहकार एवम् जर्ज वाशिङ्गटन विश्वविद्यालयमा जनस्वास्थ्यका प्राध्यापक अद्नान हाइदरले विश्वव्यापी सडक सुरक्षालाई संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यप्राप्तितर्फको अत्यन्तै महत्वपूर्ण मार्ग भनेका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक अधानोम गेब्रेएससले एक प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘मानिसहरूले सडकमा आवागमनका क्रममा चुकाएको जीवन मूल्यलाई कहिल्यै स्वीकार गर्न सकिंदैन ।

यस विरुद्ध निष्क्रियताका लागि हामीलाई कुनै छूट छैन । यो यस्तो समस्या हो जसको समाधानका लागि प्रभावकारी उपायहरू उपलब्ध छन् । त्यस्ता उपायहरू अवलम्बन गर्न हामी सबै साझेदारहरू र सरकारहरूलाई आह्वान गर्दछौं ।’

प्रतिवेदन अनुसार पश्चिम–अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रति एक लाख जनसंख्या) छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम (०.९ प्रति एकलाख जनसंख्या) छ । त्यस्तै स्विट्जरल्याण्ड र नर्वेका लागि सडक दुर्घटना मृत्युको दर २.७ प्रति एकलाख जनसंख्या छ । प्रतिवेदनले यी पछिल्ला दुई देशका तथ्यांकलाई माल्दिभ्सको भन्दा बढी भरपर्दो भनेर उल्लेख गरेको छ ।

न्यून आय भएका देशमा विश्वमा रहेका कुल सवारी साधनमध्ये जम्मा १ प्रतिशत छन् तर, सवारी दुर्घटनामा हुने मृत्युको अनुपात १३ प्रतिशत छ । जबकि उच्च आय भएका देशहरूमा विश्वका ४० प्रतिशत सवारी साधन भए पनि यो अनुपात त्यहाँ ७ प्रतिशत मात्र छ ।

आगामी बाटो
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले अहिलेसम्म विश्वभर भएका सडक दुर्घटना न्यूनीकरणका प्रयासहरूलाई अपर्याप्त भनेको छ । गएको वर्ष मात्रै संगठनले सडक सुरक्षाका लागि प्राविधिक प्याकेज तयार पारेको छ ।

जस अनुसार सवारी साधनको गति व्यवस्थापन गर्ने, सडक सुरक्षाको नेतृत्व प्रवद्र्धन गर्ने, सडक पूर्वाधार डिजाइन र वातावरण सुधार्ने, सवारी साधनको सुरक्षा मापदण्ड निर्धारण गर्ने, कानून पूर्ण रूपमा पालना गराउने, दुर्घटनालगत्तै दिइने चिकित्सकीय स्याहारमा सुधार गर्नेलगायतका रणनीति तय गरिएको छ ।

सडक सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यमा पाँचवटा स्तम्भमा आधारित १२ वटा ऐच्छिक लक्ष्यहरू पनि यही रणनीतिमा आधारित भई निर्धारण गरिएका छन् । यी लक्ष्य प्राप्तिको दिशामा अघि बढ्दा सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका क्षेत्रमा ठूलो सुधार आउन सक्छ ।

सडक सुरक्षाका लागि थप परिमार्जित लक्ष्यहरू बनिरहँदा नेपालमा आधारभूत तथ्यांकहरूको व्यवस्थापन गर्नु नै चुनौतीपूर्ण देखिएकोे छ । अबका ११ वर्षभित्र हामीले दिगो विकास लक्ष्य हासिल गर्न संस्थागत र व्यावहारिक पद्धतिको निर्माण र अवलम्बन गरिसक्नुपर्छ । त्यसका लागि केही सुझावहरू प्रस्तुत छन्ः

- सडक यातायातसम्बन्धी सबै दुर्घटनाहरू संयोगवश हुने र अनुमान नै गर्न नसकिने घटनाहरू होइनन् बरू त्यसका लागि जिम्मेवार जोखिमका तत्वहरू के के हुनसक्छन् भनेर पहिले नै अनुमान गर्न सकिन्छ । यसबारेको स्पष्ट ज्ञान र चेतना प्रवाह गर्नु सबैभन्दा ठूलो कुरा हो । यस विषयमा सञ्चारमाध्यमहरूले ठूलो भूमिका खेल्न सक्छन् ।

- हाम्रो देशमा सडक दुर्घटनाको यथार्थ स्थिति, सबैभन्दा बढी जोखिममा रहेको समूह बारेका तथ्यहरू सडक प्रयोगकर्ता वा सडक सुरक्षाका अभियन्ताहरूमाझ् पु¥याउन विज्ञ र अनुसन्धानकर्ताहरूले योगदान गर्न सक्छन् ।

- निर्णयकर्ता वा नीतिनिर्माताहरूले सडक दुर्घटना कम गर्न के कस्ता प्रावधानहरू छन् भन्ने विषयमा स्पष्ट जानकारी दिन सक्छन् । यसबाट नीतिहरूको अन्तर थाहा पाउन मद्दत पुग्दछ ।

- सडक सुरक्षा अभियन्ता, कार्यान्वयनकर्ता र नीति निर्माताहरूले उपलब्ध नीतिगत संरचनालाई लागू गराउन आम नागरिकबाट के कस्तो अपेक्षा गरिएको छ भन्ने जानकारी लिएमा कार्यान्वयन सहज हुन्छ ।

- नेपालको सन्दर्भमा सडक सुरक्षाका लागि राजनीतिक इच्छाशक्ति सुदृढ बनाउनु जरूरी छ । जसले गर्दा यससम्बन्धका प्रावधानहरूलाई कार्यान्वयन गराउन चाहिने जनशक्ति, स्रोतहरूको व्यवस्थापन गर्न मद्दत पुग्दछ । त्यस्तै जवाफदेहिता अर्को महत्वपूर्ण पक्ष हो । साँचो अर्थमा सडक सुरक्षाका लक्ष्यहरू हासिल गर्नका लागि राज्य, सञ्चारमाध्यम, नागरिकलगायत सबै पक्षबीच सहकार्य हुनु जरूरी छ । प्रभावकारी कार्यक्रमका लागि यथार्थ र गुणस्तरीय तथ्यांक अत्यन्तै महत्वपूर्ण हुने भएकाले सडक दुर्घटना र सडक सुरक्षासम्बन्धी तथ्यांक संकलन प्रणालीलाई पनि सुदृढ बनाउनु उत्तिकै जरूरी छ ।

प्रतिकृया दिनुहोस