कला/साहित्यबुधबार, ९ माघ , २०७५

परेश रावलका छोरा आदित्य बलिउडमा डेब्यू गर्दै

हिमालखबर

अभिनेता परेश रावलका छोरा आदित्यले बलिउडमा डेब्यू गर्दैछन्। फिल्ममेकर अनुराग कश्यपले निर्माण गर्ने फिल्म 'बमफाड' बाट उनी बलिउडमा प्रवेश गर्न लागेका हुन्।

आदित्य रावल

उक्त फिल्ममा आदित्यको अपोजिटमा शालिनी पाण्डे देखिनेछिन्। फिल्मको निर्देशन अनुरागका विगतका फिल्ममा लेखन र सहायक निर्देशनमा लामो समय सहयोगी रहेका रञ्जन चन्देलले गर्नेछन्।

निर्मातामध्येका एक अजय रायले फिल्म 'बमफाड' का लागि कैयौं स्थापित कलाकारहरूसँग कुराकानी गरे पनि अन्तिममा आदित्य र शालिनीलाई छनोट गरेको बताएका छन्। दक्षिण भारतीय धेरै फिल्ममा अभिनय गरेकी शालिनीको प्रमुख भूमिका रहेको यो पहिलो हिन्दी फिल्म हुनेछ।

निर्माता रायले भनेका छन्, "हामीले फिल्मको छायांकन शुरु गर्नुअघि दुवै कलाकारसँग एक महीनाको कार्यशाला चलाएका थियौं। दुवै धेरै राम्रा कलाकार हुन् र यो प्रोजेक्टमा पर्याप्त साथ दिएका छन्।"

फिल्मको नाम राखिएको उत्तर भारतमा प्रचलित 'बमफाड' शब्दको अर्थ हुन्छ, ठूलो विस्फोट। प्रेमकथामा आधारित फिल्मले प्रेमको विस्फोट दर्शाउने निर्माण टोलीले जनाएको छ। छायांकन पूरा गरेर अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको फिल्मबारे अनुराग कश्यप धेरै उत्साहित छन्। फिल्मको रिलिज मिति भने खुलाइएको छैन। एजेन्सी

प्रतिकृया दिनुहोस