अर्थ/बजारबुधबार, ९ माघ , २०७५

वैदेशिक रोजगारीमा जाने नेपालीले २०० डलर मात्रै साट्न पाउने

विनय बञ्जारा

अब वैदेशिक रोजगारीमा जाने नेपालीले बढीमा २०० अमेरिकी डलर मात्रै सटही सुविधा पाउने भएका छन्। राष्ट्र ब्यांकले ८ माघमा ‘वैदेशिक रोजगारीमा जानेहरूका लागि प्रदान गरिने सटही सुविधा’ बारेको प्रावधान संशोधन गरेर यस्तो नियम लागू गरेको हो।

फाइल तस्वीर

यसअघि रोजगारीका लागि विदेश जाने व्यक्तिले ५०० अमेरिकी डलरसम्म लैजान पाउने व्यवस्था थियो।

धेरै पैसा सटही दिने व्यवस्थाले डलरको अपचलन भएपछि सटही सुविधा घटाइएको राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए। “वैदेशिक रोजगारीमा जाने नेपालीको हवाइ टिकटदेखि विदेश पुगेपछिको यातायात र बसोबाससम्मको प्रबन्ध भएपछि मात्रै जाने हुँदा उनीहरूलाई धेरै पैसा चाहिन्न,” उनले भने, ‘तै पनि हामीसँग विदेशी मुद्रा धेरै भएकाले ५०० डलर दिने गरेका थियौं तर त्यो पैसा दुरुपयोग हुन थाल्यो।”

उनका अनुसार ५०० डलर सटही सुविधा लिएर १-२ सय मात्रै बोक्ने, बाँकी पैसा अरूलाई नै बेचेर हिँड्ने गरेको पाइएपछि सटहीको सीमा घटाइएको हो। “हामी अहिले विदेशी मुद्रा चुहिने छिद्र खोज्दै र त्यसलाई टाल्दै गरिरहेका छौं,” ढुंगानाले भने, “यो निर्णय पनि त्यही सिलसिलाअनुसार आएको हो।”

गएको साउनदेखि मंसीरसम्म ५ महीनामा राष्ट्र ब्यांकसँग रहेको विदेशी विनिमय सञ्चिति ११ प्रतिशत अर्थात् १ अर्ब ३३ लाख ४० हजार अमेरिकी डलर घटिसकेको छ। यसले मुलुकको आयात धान्ने क्षमता कमजोर हुँदै गएको देखाउँछ।

यसरी विदेशी मुद्राको ढुकुटी खुम्चिन थालेपछि राष्ट्र ब्यांकले विदेशी मुद्रा बाहिरिने उपायहरू घटाउन थालेको हो। यसअघि राष्ट्र ब्यांकले विदेश भ्रमणका लागि जाने नेपालीले राहदानीबापत पाउने सटही सुविधालाई २५०० डलरबाट घटाएर १५०० डलरमा झारेको थियो। विदेशबाट वस्तु आयात गर्दा पैसा तिर्ने एउटा बाटो टेलिग्राफ ट्रान्फर (टीटी)को सीमा पनि घटाएको थियो।

गत आर्थिक वर्ष नेपालबाट ३ लाख ५८ हजार ८१५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। चालु आवको ५ महीनामा यस्तो संख्या ९२ हजार ९३१ जना छ। यस आधारमा यस वर्ष २ लाख २० हजार मानिस वैदेशिक रोजगारीमा जाने अनुमान छ। अब वैदेशिक रोजगारीमा जाने करीब १ लाख २० हजार नेपालीलाई सटही सुविधा घटाउँदा राष्ट्र ब्यांकको ढुकुटीमा करीब ३६ करोड अमेरिकी डलर बचत हुनसक्नेछ।

प्रतिकृया दिनुहोस