रिपोर्टबुधबार, ९ माघ , २०७५

“हामी जिउँदै मरेतुल्य अवस्थामा छौं”

हिमालखबर

रोशनी बम र बबिता बम

निर्मला पन्तको बलात्कार र हत्याको घटनामा हामीले गर्दै नगरेको अपराधमा दोषी देखाउने अधिकार मिडिया र मानवअधिकारकर्मीलाई छ ?

बहिनी रोशनी बम (अगाडि),दिदी बबिता (बीच) र आमा इन्द्रा ।

२०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कार र हत्या भएपछि हामी दिदीबहिनीले खुलेर बोल्न र हिँड्न पनि पाएका छैनौं। हामीलाई हुँदै नभएको आरोप लगाएर हत्यारा सावित गर्ने अनेक प्रयास गरियो। निर्मलाको हत्याले उनकी आमा र परिवारलाई परेको पीडा हामीले बुझेका छौं। तर, त्यसभन्दा पीडित हामी भएका छौं। जिउँदै मरेतुल्य अवस्थामा छौं। हाम्रा कुरा सुनिदिने र सहयोग गर्ने कोही भएनन्। १-२ जना पत्रकार र मानवअधिकारकर्मीबाहेक कसैले पनि हामीलाई सम्पर्क गरेनन्। हुँदै नभएका कुरा बाहिर ल्याएर हाम्रो चरित्रहत्या गर्ने काम भयो।

मिडिया र मानवअधिकारकर्मीलाई हाम्रो प्रश्न
हाम्रो चरित्रहत्या गर्न केही सञ्चारमाध्यम र मानवअधिकारकर्मीको मुख्य हात छ। नेपाल मानवअधिकार संगठन र केही मानवअधिकारकर्मीले हाम्रो चरित्रहत्या गर्ने काम गरे। हामीसँग सम्बन्धित घटनाको प्रतिवेदन तयार गर्दा समेत हामीलाई एक शब्द सोधिएन। नेपाल मानवअधिकार संगठनका इन्द्रप्रसाद अर्यालले हुँदै नभएका विषयवस्तु र मनगढन्ते कुरा राखेर प्रतिवेदन तयार गरी हाम्रो चरित्रमाथि धावा बोले।

दुःखको कुरा, पत्रपत्रिकाले पनि त्यसै गरे। कञ्चनपुरबाट प्रकाशित मानसखण्ड दैनिक र त्यसका पत्रकार खेम भण्डारीले हामीसँग एक शब्द पनि सोध्दै नसोधी लगातार चरित्रहत्या गरे। ठीकै छ, हाम्रो घरमा सोधपुछ गर्न उनीहरूले जरुरी ठानेनन्, हामी उनीहरूको नजरमा अपराधी नै ठहरियौं। तर, हामीसँग जोडिएका विषयमा हाम्रा छिमेकी र चिन्नेजान्नेसँग त बुझ्नुपर्ने हो, त्यो समेत उनीहरूले गरेनन्। नेपाल मानवअधिकार संगठनका अर्यालले त फरक ठाउँका मानिसलाई सोधेर प्रतिवेदन बनाए।

यदि हाम्रो नियत गलत हुन्थ्यो भने निर्मला मेरो घरमा आएको र गएको कुनै छिमेकीले देखेका थिएनन्। म झुट पनि बोल्न सक्थें। निर्मला मेरो घरमा आएर गएको कुरा र सबै वास्तविकता बताएँ। निर्मला मेरी (रोशनी) मिल्ने साथी हो। त्यस्तो घटना हुँदा दुःखी म पनि छु। तर, दुःख व्यक्त गर्ने ठाउँसमेत नराखी बम दिदीबहिनीले नै हत्या गरेका हुन् भनेजसरी आरोप लगाइयो।

निर्मला मेरी (रोशनी) मिल्ने साथी हो। त्यस्तो घटना हुँदा दुःखी म पनि छु। तर, दुःख व्यक्त गर्ने ठाउँसमेत नराखी बम दिदीबहिनीले नै हत्या गरेका हुन् भनेजसरी आरोप लगाइयो।

इन्द्रप्रसाद अर्यालले निर्मलालाई डान्सर बनाउन कपडा दिएको, घरमा रङरोगन गरेको, हाम्रो घरमा बाहिरका केटा मान्छेहरूको आउजाउ हुने गरेको, साइकल भेटिएपछि ‘तेरी छोरीको लाश पनि त्यहीं होला’ भनेर भन्यो भन्नेजस्ता झुटा विवरण दिएर हाम्रो चरित्रहत्या गरे। दोषी वा निर्दोष भन्ने कुरा अनुसन्धानबाट पुष्टि हुने कुरा हो। हामीमाथि अनुसन्धान त भइरहेकै थियो। तर, त्यसभन्दा पहिल्यै मनगढन्ते आरोप लगाएर हामीमाथि ठूलो अन्याय गरियो। पत्रकार र मानवअधिकारकर्मी हुँ भन्दैमा जे पायो त्यही बोल्न र लेख्न छुट हुन्छ र ? हामीले अहिलेसम्म पनि बुझ्न सकेका छैनौं।

अहिलेसम्म काठमाडौंबाट गएका ७ वटा टोलीले हाम्रो घर पुगेर अनुसन्धान गरिसके। तर, कुनै पनि अनुसन्धानबाट बाहिर हल्ला आएजस्तो पुष्टि हुन सकेन। अहिले पनि हामीमाथि फेरि अनुसन्धान गर्नुपर्छ भन्ने गरिएको छ। हामी नै दोषी हौं भनेजसरी चर्चा गरिएको छ। के यो समाजमा हाम्रो बाँच्ने हक छैन र ?

हामी निर्दोष हौं
त्यस दिन निर्मला हाम्रो घरमा आइन् र केही घण्टा बसेर गइन्। त्यसपछि उनको बलात्कार र हत्या भएछ। यसमा हाम्रो कुनै गल्ती थिएन। तर, निर्मलाकी आमाले औंला ठड्याउँदै ‘छोरी हराए तिमीहरू जिम्मेवार हुन्छौ’ भनेपछि म (बबिता) आक्रोशित भएँ। ‘हजुरको छोरी गेटबाट बाहिर गएकी हो, पोइल पो गयो कि कहाँ गयो, त्यसको जिम्मा कसले लिन्छ ?’ भनेर मैले भनेको हो। यही भन्नु नै मेरो सबभन्दा ठूलो गल्ती भयो।

अम्बाको रुख हामीले आफ्नै कारण काटेका हौं। रुख काट्ने कुरा वैशाख-जेठमै बाबासँग भएको थियो। टोलछिमेकका बच्चाहरू अम्बा खान आउने र पर्खाल चढ्ने गरेकाले हामीले दार्चुलामा रहेका बुवालाई फोन गरेर रुख काट्छौं भनेका थियौं। त्यतिबेला बाबाले काट्न मान्नु भएन। निर्मलाको घटना भएपछि बुवा आउनुभयो। अम्बा निर्मलाको घटनासँग जोडिएकाले बाबालाई नकाट्न भनेकी थिएँ तर बाबाले साउन १७-१८ तिर रुख काट्नुभयो।

बाहिर मानिसहरूले बम दिदीबहिनीलाई प्रहरीले सुरक्षा दिएको भनेर हल्ला चलाए। तर, उक्त घटनापछि प्रहरीले हामीलाई दिएको मानसिक यातना भनिसाध्य छैन। त्यो यातनाको कतै चर्चा भएन।

बाहिर मानिसहरूले बम दिदीबहिनीलाई प्रहरीले सुरक्षा दिएको भनेर हल्ला चलाए। तर, उक्त घटनापछि प्रहरीले हामीलाई दिएको मानसिक यातना भनिसाध्य छैन। त्यो यातनाको कतै चर्चा भएन। निर्मलाको शव भेटिएको दोस्रो दिन पाकेको खानासमेत खान नदिएर प्रहरीले हामीलाई पक्रेर लगे। सोधपुछका लागि भनेर लगिएकोमा दिदी (बबिता) लाई २४ घण्टा र म (रोशनी) लाई एक दिनभर हिरासतमा राखे। अनेक खालका मानसिक यातना दिइयो। दोस्रो पटक म (रोशनी) लाई ६ र बबितालाई १८ दिन हिरासतमा राखियो।

तेस्रो पटक असोज अन्तिम सातातिर प्रहरीले बोलाएपछि हामी आफैं जिल्ला प्रहरी कार्यालय गयौं। एक्लाएक्लै भित्र लगेर बयान लिए। बयान लिने एक जना महिला प्रहरी थिइन्। उनले तीन जना केटाको नाम लिँदै यिनीहरूलाई चिन्छौं भनेर सोधिन्। उनले भनेका केटाहरूको नाम मैले कहिल्यै सुनेको समेत थिइनँ। तर, ती महिला प्रहरीले ‘यिनीहरूलाई चिन्छु, घरमा आएका छन् भनेर स्वीकार गर’ भनेर दबाब दिइन्। मैले नचिनेको मान्छेलाई कसरी चिन्छु भन्नु भनें। उनले १५-२० मिनटसम्म अनेक दबाव दिइरहिन्। भनेको नमाने करेन्ट लगाउँछु भनिन्। ‘जे गर्न मन छ गर्नूस् तर नचिनेको मान्छे चिन्छु भनेर मैले कसरी स्वीकार्नु ?’ भनेपछि मलाई दुई झापड हानिन्। बाहिर भने बम दिदीबहिनीलाई सोफामा राखेर प्रहरीले
पालेको छ भन्ने हल्ला फिँजाइयो। अरू त अरू, राति सुतेको बेलासमेत प्रहरीले १२-१ बजे उठाएर तर्साउने र बयान लिने काम गरे।

निर्मलासँग ४ वर्षको संगत
हाम्रो परिवार दार्चुलाबाट महेन्द्रनगर आएदेखि नै निर्मलासँग मेरो संगत भएको हो। त्यस हिसाबले ऊसँग मेरो संगत भएको ४ वर्ष भयो। एउटै कक्षामा पढ्ने हामी एक-अर्काको घर आउजाउ गरिरहन्थ्यौं। निर्मलाकी दिदी मनिषासँग अझ नजिकको सम्बन्ध थियो। ऊसँग घरायसी कुरा पनि हुन्थे।

साउन १० गते बिहान सवा ११ बजे निर्मला मेरो घरमा आएकी हुन्। अघिल्लो दिन साँझ ५ बजेतिर म उसको घरमा गएकी थिएँ।

निर्मलाले दिउँसो सवा २ बजेतिर घर जान्छु भनी। ‘घरमा गएर के काम छ र, बस्, पछि जालिस्’ भनें। स्कूलको होमवर्क पनि सकिएको थिएन। उसले ‘म २-३ दिनपछि आउँछु, अहिले जान्छु, मम्मी बनवासा जानुभएको छ’ भनी। घर जान्छु भनेर निस्केकी थिई। उसलाई मैले च्यानल गेटसम्म पुर्‍याएर २० रुपैयाँ, नोटबुक र अम्बा दिएँ। अघिल्लो दिन उसको घरमा मैले २० रुपैयाँको चटपटे खाएकोले पैसा दिएकी थिएँ।

साँझ ६ बजेतिर हाम्रो छिमेकी कीर्तिका हाम्रो घर आइन्। उनी र म माथिल्लो तलामा बसेका थियौं। उनकी आमा उनलाई लिन माथि नै आइन्। दिदी ट्युसन पढ्न गएकी थिई। दिदी आएपछि कीर्तिकाकी आमा र दिदी गफ गरेर बसिरहेका थिए। त्यही बेला निर्मलाकी आमा आइन् र गेटबाहिरबाटै ‘रोश्नी, रोश्नी’ भनेर बोलाइन्। म ढोका खोलेर रेलिङमा आएँ । कहिल्यै नआउने निर्मलाकी आमा यो साँझमा किन आइन् भनेर सोचें। तर, केही बोलिनँ। निर्मलाकी आमाले ‘निर्मलालाई बाहिर निकाल्, तँ पनि बाहिर निस्की’ भनिन्। निर्मलालाई घर पठाइनस् भन्दा म अचम्ममा परें। ‘आन्टी, निर्मला त दिउँसै घर जान्छु भनेर निस्केकी हो’ भनें।

‘म १ बजे आएको हुँ, निर्मला अहिलेसम्म घर पुगेको छैन। रोश्नी, मेरो छोरीलाई केही भयो भने तँ जिम्मेवार हो’ औंला ठड्याउँदै यति भनेर फर्किइन्।

दोस्रो पटक राति ८:३० बजेतिर निर्मलाकी आमा एक जना छिमेकी पुरुषलाई लिएर फेरि हाम्रो घरमा आइन्। ‘आन्टी, तपाईंलाई शंका लाग्छ भने आउनूस् भित्र हेर्नूस्’ भनें। ‘मेरी छोरीलाई लुकाएको भए तेरो पनि भविष्य छैन’ भनेर उनीहरू फर्के।

अर्को दिन बिहान हामी सुतिरहँदा यस्तै साढे ४ बजेको हुँदो हो, प्रहरी घरमा आए। सोधपुछ र खानतलासी गरे। प्रहरी गएको २० मिनटपछि निर्मलाकी आमासहित अरू ५ जना आइपुगे । उनीहरूले ‘निर्मला निस्कँदा अरू पनि कोही सँगै गएको थियो कि के थियो’, यस्तै कुरा सोधे। ऊ मेरो घरबाट जाँदा एक्लै गएकी थिई। त्यही कुरा भनें। निर्मलाको आमा निस्किएको आधा घण्टापछि फेरि प्रहरी आए। उनीहरू सादा पोशाकमा रहेकाले प्रहरी हुन् भन्ने पहिला थाहा थिएन। निर्मलाका छिमेकी होलान् भन्ने ठानें। दिदी क्याम्पस गएकीले म एक्लै थिएँ।

‘हामी घरमा कोठा हेर्न सक्छौं ?’ भनेर सोधे। मैले सक्नुहुन्छ भनेर सबै कोठा खोलेर देखाइदिएँ। दराज खोले, खाटको तल सबैतिर हेरे। केही नभेटेपछि फर्केर गए। फेरि निर्मलाको आमासहित १५ जनाजति घरमा आए।

निर्मलाकी आमाले त हामीलाई केही नभने पनि सँगै रहेका केही मानिसले जबर्जस्ती दबाब दिन थाले। म रोएँ। छिमेकी आन्टी आएर ‘घरमा ऊ एक्लै छ, किन गाली गरेको ? यो तरिका भएन’ भन्नुभयो। त्यही बेला दिदी पनि क्याम्पसबाट आइपुगी। दिदीले किन जबर्जस्ती दबाब दिनुहुन्छ भनी। उनीहरूले ‘तँसँग होइन, तेरी बहिनीसँग कुरा गरेको हो। जगल्टा उखेल्छौं र जिप्रका पुर्‍याउँछौं’ भन्दै धम्की दिए।

दिदी र उनीहरूबीच भनाभन भइरहेको बेला निर्मलाको साइकल र चप्पल भेटियो भन्दै एक जना आएपछि सबै त्यतैतिर लागे।

(१० साउन २०७५ मा भएको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा भएको अनुसन्धानअनुसार हत्या हुनुअघि निर्मला अन्तिम पटक निस्किएको घरका दिदीबहिनी रोशनी र बबिता बमका बारेमा विभिन्न टीका-टिप्पणी आउने क्रम जारी छ। घटनाको सेरोफेरोमा यी दिदीबहिनीको भनाइ के छ भन्ने विषयमा रोशनी र बबिता बमसँग हिमालखबरका मुकेश पोखरेलले गरेको कुराकानीको सम्पादित अंश।)

प्रतिकृया दिनुहोस