चितवनमा ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ हुने
नेपाल औषधी उत्पादक संघको आयोजनामा १७-१९ फागुनमा मरणोपरान्त अंगदानको सामाजिक अभियानसहित ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ हुने भएको छ।
संघले ८ माघमा पत्रकार सम्मेलनमार्फत् पहिलो पटक उपत्यका बाहिर चितवनमा एक्स्पो गर्न लागेको जानकारी दिएको हो। यसअघि संघले नेपाल फर्मा एक्स्पो मात्र गर्दै आएकामा यस पटक एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालसँगको सहकार्यमा हेल्थ एक्स्पो पनि गर्न लागेको छ।
करीब रु. १ करोड लागतमा हुन लागेको एक्स्पोमार्फत नेपालमा औषधी उत्पादनमा प्रयोग भइरहेको प्रविधि र जनमानसमा औषधी उत्पादन गर्ने क्रममा अपनाइने संवेदनशीलताका बारेमा जानकारी दिने उद्देश्य छ। फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेका नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्य पनि राखिएको एक्स्पोका संयोजक नारायणबहादुर क्षत्रीले बताए ।
एक्स्पोमा बहुराष्ट्रिय कम्पनीका ३०, भारतका १२०, चीनका १०, नेपाली १३ लगायत गरी २ सय स्टल रहनेछन्। ५० हजारले एक्स्पो अवलोकन गर्ने आयोजक औषधी उत्पादक संघको अपेक्षा छ। यस्तै, एक्स्पोमार्फत अंगदान गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र संघबीच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। एक्स्पोमार्फत कम्तीमा १ हजार जनाले अंगदान गर्ने संघको विश्वास छ।