बढ्ने प्रयासमा नेप्से, कारोबार भने ओरालो
८ माघमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक स्थिर देखिएको छ। अघिल्ला २ दिनमा झण्डै २० अंक घटेको नेप्से ३ माघमा बढ्ने प्रयासमा देखिए पनि बजार बन्द हुँदा अघिल्लो दिनको अन्तिम विन्दु नजिकै रोकिएको छ।
८ माघ दिउँसो साढे १२ बजे नेप्से ११७२.५० अंकसम्म पुगे पनि यो वृद्धि टिक्न सकेन। शेयरको भाउ बढेपछि बजारमा बिक्री चाप बढ्न थाल्दा नेप्सेको उकालो गति रोकिएको हो।
सूचकांक ०.७८ अंक बढे पनि ८ माघको व्यापारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। ७ माघमा रु. ३६ करोड ७७ लाखको शेयर कारोबार भएको नेप्सेमा ८ माघमा भने रु. २९ करोड २२ लाखको मात्रै व्यापार भयो। यसले शेयर बजारमा अझै माग बढ्न नसकेको देखाउँछ।
८ माघमा नेप्सेमा १५६ कम्पनीका १० लाख २४ हजार कित्ता शेयर व्यापार भयो। उत्पादन तथा प्रशोधन, जलविद्युत् र फाइनान्स कम्पनीबाहेक सबै समूहगत परिसूचक ‘हरियो’ हुँदा पनि नेप्सेमा १ अंकको वृद्धि हुन सकेन। यसले सबैजसो कम्पनीको शेयर मूल्य प्रायः स्थिर रहेको देखाउँछ।
नेप्सेको एडी रेसियो विश्लेषणले भने बजार बुलीश प्रवृत्तीमा देखिएको छ। ८ माघमा नेप्सेको एडी रेसियो १.४४ छ। यस दिन व्यापारमा आएका १५६ मध्ये ७८ कम्पनीको शेयर मूल्य महँगियो भने ५४ कम्पनीको शेयर सस्तियो। बाँकी २४ कम्पनीको शेयर मूल्य स्थिर छ।
कञ्चन डेभेलपमेण्ट ब्यांक र नेपाल हाइड्रो डेभेलपर्सको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा धेरै सस्तिएको छ। महँगिने शेयरमध्ये सबैभन्दा अगाडि देखिएको समता माइक्रोफाइनान्सनको शेयर मूल्य ३.५१ प्रतिशत महँगिएको छ।