‘द्वन्द्वपीडित हामी हौं, समस्या सबैको हो’
द्वन्द्वपीडित साझा चौतारीका सदस्यहरुले १० वर्षे द्वन्द्वबाट आफूहरु प्रत्यक्ष पीडित भएपनि यो सबैको समस्या भएको बताएका छन् ।
द्वन्द्वपीडित साझा चौतारीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडितको समस्या राष्ट्रकै समस्या सम्झेर न्याय दिनुपर्ने बताएको हो ।
राजनीतिक दल र सरकारको दृढ इच्छाशक्ति तथा इमान्दार प्रतिबद्धताको अभावमा संक्रमणकालीन न्याय प्रक्रिया नै धरापमा परेको चौतारीको भनाइ छ ।
शान्ति सम्झौताको १२ वर्ष पुगेपनि द्वन्द्वपीडित समुदाय न्यायकै लागि लड्नुपरिरहेको चौतारीले जनाएको छ ।
वेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगहरुको समयावधि आगामी २६ माघमा सकिंदैछ । चौतारीले पीडित पक्षको अपनत्व हुनेगरी गैरराजनीतिक आयोग गठनको माग समेत गरेको छ ।
विद्यमान आयोगलाई निरन्तरता दिए आफूहरुलाई मान्य नहुने द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले बताए ।
उनले भने, “विद्यमान सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई विघटन गरी संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरुको पुनर्गठन गरिनुपर्छ ।”
“प्रभावहीन र परिणामविहीन आयोगहरुलाई निरन्तरता दिनु पीडितलाई न्याय नदिने बाटोमा हिड्नु हो,” चौधरीले भने ।
द्वन्द्वपीडित समुदाय सत्य, न्याय र परिपूरणको लागि अझै तड्पिरहेको भन्दै चौधरीले पीडितलाई न्याय दिएर मुलुकलाई निकास दिन पनि सरकारसँग आग्रह गरेका छन् ।
पढ्नुहोस् ।