टिप्पणीमंगलबार, ८ माघ , २०७५

एक दशकमा मारिए १० लाख सालक

कमल मादेन

विश्वमै व्यापक मात्रामा चोरी शिकार र तस्करीका कारण सालकका कतिपय प्रजाति लोपोन्मुख अवस्थामा पुग्दा हामीकहाँ संरक्षणमा रत्तिभर ध्यान दिइएको छैन।

‘इण्डियन पेन्गोलिन’ ।

वन्यजन्तु अनुसन्धानकर्ता सागर दाहाल गएको तिहारलगत्तै झापास्थित जलथल जंगलमा ‘फिसिङ क्याट’ रहे-नरहेको पत्ता लगाउन गएका थिए। उनले फिसिङ क्याट पाउन सकिने सम्भावित ठाउँमा एक दर्जनजति क्यामेरा जडान गरे। तर, त्यहाँ ‘फिसिङ क्याट’ भेटिएन। यसबारे हिमाल (१६-२२ मंसीर, २०७५) मा ‘फिसिङ क्याट संरक्षणको चिन्ता’ शीर्षकमा लेखिसकियो।

दाहालले जलथलमा ‘फिसिङ क्याट’ भेट्न नसके पनि त्यहाँबाट उनले अति दुर्लभ वन्यजन्तु सालक स्थानीय बासिन्दाले मारेर खाएको जानकारी बटुले। पछिल्ला दशकमा संसारभर सालकको अवैध व्यापार अत्यधिक बढेको छ। यसैकारण सालक विश्वकै लोपोन्मुख वन्यजन्तु बनेको छ।

खपटाका कारण संकटमा
सालक निशाचर वन्यजन्तु भएकाले यसलाई हम्मेसी भेटिन्न। तर, शरीरका अवयव बहुगुणी भएकै कारण यो प्राणीलाई खोजीखोजी मार्ने गरिन्छ। यसको शिकार गरेर खानेहरू मासु स्वादिलो हुने बताउँछन् भने यसका खपटा र नङ्ग्रा क्यान्सर, दमको उपचारमा प्रयोग हुन्छ। नेपालमा सालक तस्कर गर्ने गिरोह ठूलै भए पनि देशभित्रै यसको खपटा औषधिको निम्ति प्रयोग हुने गरेको जानकारी अहिलेसम्म पाइएको छैन।

यसको खपटा विभिन्न नाकाबाट चीनतिर निर्यात गर्न लगिने क्रममा बरामद भएका छन्। चीनमा सालकको खपटा हजारौं वर्षअघिदेखि परम्परागत औषधिमा प्रयोग हुन्थ्यो भन्ने विवरण पढ्न पाइन्छ। तर, पछिल्लो समय यसको खपटा चीनबाट पनि समुद्रपार व्यापार हुने गरेको छ।

सागर दाहालले जलथल जंगलमा मारिएको सालकलाई खपटाको आधारमा पहिचान गरे। त्यो ‘चाइनिज पेन्गोलिन’ भनिने कालो सालक थियो। यसको खुट्टाको तल्लो भाग, थुतुनो, कान र घाँटी हल्का गुलाफी र बाँकी भाग गाढा फुस्रो रङको खपटाले ढाकेको हुन्छ। नेपालमा ‘इन्डियन पेन्गोलिन’ भनिने अर्को सालक प्रजाति पनि पाइन्छ। खपटा फिक्का पहेंलो हुने यसलाई तामे सालक भनिन्छ। इन्डियन पेन्गोलिनको खपटा चाइनिज पेन्गोलिनको भन्दा ठूलो हुन्छ।

चाइनिज पेन्गोलिन नेपाल, उत्तरी भारत, भूटान, म्यानमार, इण्डोचाइना, ताइवान, भियतनाम, हङकङ, थाइल्यान्ड र लाओसमा पाइन्छ, तर अत्यन्त न्यून संख्यामा। ती देश-क्षेत्रहरूमा चाइनिज पेन्गोलिनलाई संरक्षण नगर्ने हो भने यो निकट भविष्यमै लोप हुनसक्ने आकलन गरिएको छ।

गम्भीर जोखिममा दुई प्रजाति
विश्वभरका वन्यजन्तु तथा वनस्पतिको अवस्थाबारे जानकारी दिने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले सन् २०१४ मा एउटा महत्वपूर्ण जानकारी जारी गरेको थियो। जसअनुसार ‘चाइनिज पेन्गोलिन’ र एशियामै पाइने अर्को प्रजाति ‘सुन्डा पेन्गोलिन’ गम्भीर जोखिम (क्रिटिकल्ली इन्डेन्जर्ड) समूहमा छन्।

यी दुई प्रजातिका सालकको संख्या विगत दुई दशकयता करीब ९० प्रतिशत घटिसकेको छ। तत्कालै तिनलाई विशेष संरक्षण नगर्ने हो भने विश्वबाटै लोप हुनसक्छन्। अन्य पेन्गोलिनको अवस्था भने तुलनात्मक रूपमा केही राम्रो छ। ‘इण्डियन पेन्गोलिन’ को अवस्था इन्डेन्जर्ड मात्र हो। यी दुईसँगै एशियामा अन्य दुई र अफ्रिकामा चार गरी जम्मा ८ प्रजातिका सालक पाइन्छन्।

गम्भीर जोखिममा परेको ‘चाइनिज पेन्गोलिन’ ।

बाघ, हात्ती, गैंडा, हिउँचितुवा, रेडपान्डा संरक्षित वन्यजन्तु भए पनि विश्वको निम्ति गम्भीर जोखिममा रहेका अन्तर्गत पर्दैनन्। बाघ, हात्ती, रेडपान्डा इन्डेन्जर्ड अर्थात् जोखिममा रहेका वन्यजन्तु हुन्। इन्डेन्जर्डले ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ भन्दा एक तह राम्रो अवस्थाको संकेत गर्छ।

गैंडा र हिउँचितुवाको अवस्था अझ राम्रो छ। ती दुईलाई आईयूसीएनले क्रमशः सन् २००८ र २०१७ मा इन्डेन्जर्ड भन्दा एक तहमाथिको ‘भल्नेरेबल’ मा सूचीकृत गरेको छ। क्रिटिकल्ली इन्डेन्जर्डपछि इक्सटिंक्ट अर्थात् लोप भएको समूह हुन्छ।

आईयूसीएनले जनाएअनुसार पछिल्लो समय सालक सबैभन्दा बढी बेचबिखन हुने स्तनधारी वन्यजन्तु हो। संसारभर विगत एक दशकमा १० लाख सालक मारिएका छन्।

‘हाका-हाकी’ पत्रिकाको अनलाइन संस्करणअन्तर्गत ८ मंसीरमा प्रकाशित ‘तस्करको निशानामा सालक’ शीर्षक समाचारअनुसार नेपाल प्रहरीले २०६९ देखि २०७५ साउनसम्म सालकका ३४ जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट सालकको १२५.३ किलो खपटासहित चार वटा जिउँदा, एउटा मृत र चार थान छाला बरामद गरेको थियो।

सालक तस्करी बढेकै कारण आईयूसीएनको विज्ञ समूहले सन् २०१२ यता फेब्रुअरी महीनाको तेस्रो शनिबारको दिन विश्व सालक दिवसका रूपमा मनाउँदै आएको छ। हाम्रो देशमा सालकलाई संरक्षित वन्यजन्तुअन्तर्गत राखिएको छ। ऐनअनुसार संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरीद-बिक्री एवम् ओसारपसार गर्ने व्यक्तिलाई रु.५ लाखदेखि रु.१० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। सालकको खपटाको कारोबार गर्नेलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ।

सन्जन थापा लिखित ‘अ चेकलिष्ट अफ म्यामल्स अफ नेपाल’ (सन् २०१४) अनुसार नेपालमा स्तनधारी वन्यजन्तुका १९२ प्रजाति छन्। तीमध्ये अन्तर्राष्ट्रिय रूपमै अत्यधिक चोरी निकासी भई लोप हुने अवस्थामा रहेको वन्यजन्तु चाइनिज पेन्गोलिन मात्र हो। यसबारे नेपालमा अनुसन्धानकर्ता तथा संरक्षक निकायहरूले यथेष्ट चासो दिन सकेका छैनन्।

डब्लुडब्लुएफ नेपाल, जुलोजिकल सोसाइटी नेपाल शाखा, राष्ट्रिय प्रकृति संरक्षण कोष आदिले विशेषतः बाघ, हिउँचितुवा, गैंडा आदिमा मात्र ध्यान केन्द्रित गरेका छन्। ती संस्थाले पर्यटकलाई देखाउन सकिने ठूला र आकर्षक वन्यजन्तुप्रति विशेष चासो दिएको देखिन्छ।

युरोपमा उत्पत्ति भएको मानिने सालक हिजोआज एशिया र अफ्रिकामा मात्र पाइन्छ। ५ फेब्रुअरी २०१८ मा युनाइटेड नेसन्स इन्भारोमेन्ट प्रोग्रामले प्रकाशन गरेको एक समाचारअनुसार अफ्रिका र एशियाली देशबाट सालकको खपटा चीन पुर्‍याइन्छ। त्यहाँबाट तस्करले अमेरिका र युरोप निर्यात गर्छन्।

अर्कोतिर, सालक लोपोन्मुख र हाम्रो संरक्षित वन्यजन्तु हो भन्ने चेतना नभएर पनि यो संकटमा परेको हो। सालकलाई गाउँघरमा सामान्य वन्यजन्तु ठानेर मार्ने गरिन्छ। सालकबारे चेतना फैलाउन सालक पाइने क्षेत्रमा यससम्बन्धी होर्डिङ बोर्ड लगाइनुपर्छ। शिक्षक, विद्यार्थी वर्गलाई सुसूचित गर्नुपर्छ। यस्तो अभियानमा निर्वाचित जनप्रतिनिधिलाई सामेल गरे जनस्तरमा व्यापक प्रचार गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस