सोलिडारिटी कप विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत
मलेशियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीले विजेता टोलीलाई स्वागत गरे । त्यस अवसरमा यू-१४ टोलीका खेलाडी, महिला टोलीका खेलाडी र ठूलो संख्यामा प्रशंसक पनि उपस्थित भएका थिए ।
खेलाडी टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्याली सहित गौशाला–बत्तिसपुतली– मैतीदेवी–पुतलीसडक–घन्टाघर– शहीदगेट –नयाँ सडक– दरबारमार्ग–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल–पुल्चोक–मङ्गलबजार–ग्वार्को हुँदै एन्फा कम्प्लेक्स लगेको छ ।
विजेता टोलीलाई सरकारले जनही रु तीन तीन लाख दिने निर्णय मङ्गलबार नै गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा भने मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।
यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि विजेता बन्यो ।