टिप्पणीआइतबार, ६ माघ , २०७५

सेवा सिध्याउने लहड

मिलन बगाले

सरकारले शहरवासीलाई नयाँ सुविधा दिनु त परको कुरा, भइरहेको सेवा समेत निमोठिरहेको छ । 

४ माघ साँझ काठमाडौं मल अगाडि बस चढ्न लागेको भीड । तस्वीरः बिक्रम राई

एक त सार्वजनिक यातायातको भद्रगोल अवस्था, त्यसमाथि ट्राफिक व्यवस्थापनको नाममा यात्रुलाई नै अँचेट्ने नयाँ–नयाँ नियम । उपत्यकाको टुँडिखेल सेरोफेरोमा गएको १ पुसदेखि यस्तै नयाँ व्यवस्था शुरू भएको छ ।

भृकुटीमण्डप, जमल आदि व्यस्त ठाउँबाट यात्रुलाई सवारी साधन चढ्न निषेध गरिएको छ, यसले धेरैको दैनिक जीवन असहज बनिरहेको छ ।

अहिलेको नयाँ व्यवस्थाले ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई झनै सकस छ । कतै एउटा गाडी चढे पुग्नेमा गाडी फेर्नुपर्ने बाध्यता छ ।

भृकुटीमण्डप परिसरमा राष्ट्रिय अपाङ्ग महासंघलगायत अपाङ्गतासम्बन्धी धेरै संघ–संस्थाको कार्यालय छ । दैनिक कार्यालय धाउन, विभिन्न सेवा–सुविधा र सूचना–जानकारी लिन अपाङ्गता भएका व्यक्तिहरूको त्यहाँ बाक्लै आवतजावत हुन्छ ।

भृकुटीमण्डपको पश्चिमपट्टि गाडी चढ्ने र झर्ने व्यवस्था हुँदासम्म आउजाउ गर्न सहज थियो । अब न्यूरोडगेट नजिकै नेपाल एअरलाइन्सको भवन अगाडिको स्टेशनबाट ओहोरदोहोर गर्नुपर्ने भएको छ ।

धेरै स्टेशन एकै ठाउँमा गाभिएसँगै अस्तव्यस्तता बढेर आफ्नो गन्तव्य जाने गाडी खोज्न र चढ्न धौ–धौ पर्ने गर्छ । यस्तो झमेला ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले कसरी चिर्न सक्छन् ?

सरकारी निकायलाई भीडभाड हटाएर समस्या सल्ट्याउने नाममा मान्छे हटाउनु छ । गाडीलाई सरर्र गुड्न सजिलो बनाएर ट्राफिक व्यवस्थापन राम्रो भएको रिपोर्ट देखाउनु छ । यस्तो समस्या कलंकीमा पनि देखिएको छ ।

लामो दूरीको यात्रामा जान टिकट काट्नेहरू झिटीगुन्टाको भारीसहित बाटैमा उभिइरहन विवश हुन्छन् । विगतमा मकालु पेट्रोल पम्पको पारिपट्टि कतिपय ठाउँ जाने विभिन्न कम्पनीका बस गुड्नुभन्दा १५–२० मिनेट अगाडि आइपुग्थे, र यात्रुहरू सरसामान राखेर आरामले बसमै बस्न पाउँथे ।

अहिले त यात्रु बाटोमा अलपत्र परेर उभिइराख्ने र बस आएपछि हुरुर्र चढ्दाचढ्दै बस दौडिने अस्तव्यस्तता शुरू भएछ । काउन्टर अगाडि यात्रु चढाउँदाचढाउँदै ट्राफिक प्रहरीबाट लखेटिएका बसले कलंकी चोक कटेपछि आरामले रोकेर बार्गेनिङ गर्दै यात्रु चढाउँछन् । यसरी चोक–चोकमा मान्छे लखेटेर अव्यवस्था हट्दैन ।

चढिनसक्नु गाडी, छिचोलिनसक्नु जाम र ट्याक्सीको तिरिनसक्नु दामबाट बच्ने सहज उपायका रूपमा पछिल्लो समय ‘टुटल’ र ‘पठाओ’ ले सेवा दिइरहेका छन् । न्यूनतम भाडामा मोटरसाइकलबाट यात्रु ओसार्न मध्यस्थकर्ता गर्ने यी दुई मोबाइल एपको सेवामा यात्रु रमाइरहँदा रातो प्लेटका सवारी साधनले यात्रु ओसार्ने कानून नभएको भन्दै सरकारले एकाएक धावा बोल्यो ।

तर, रोजगारीको नयाँ स्रोत र यात्रुका लागि सहज बनिरहेको सेवा रोक्दा आलोचना वर्षिएपछि सरकार तत्कालका लागि पछि हटेको छ । युवालाई स्वरोजगारीको अवसर बनिरहेको नयाँ सेवालाई नियम–कानूनका जटिलता फुकाएर व्यवस्थित र प्रोत्साहन गर्नु साटो कसैको उक्साहटमा रोक्न खोज्नु परिपक्वता होइन ।

शासकीय ढंग नपुगेर सरकार अहिले अलमलिएको र आत्तिएको छ । उसलाई ट्राफिक जाम हटाउने, विमानस्थल र सिंहदरबार चम्काउने, पानीजहाज चलाउने अनेक रहर लागेको छ । तर, ती रहर कार्यान्वयन गर्न सोचविचारपूर्वक योजना बनाउने ढंग पुगेको छैन ।

यही कारण स–साना काममा पनि सरकार चुकेको र पाइलैपिच्छे झुकेको छ । भीड नियन्त्रण गर्ने नाममा चल्तीका बसस्टप बन्द गरेर मान्छे हटाउने, सर्वसाधारणले सहुलियतमा पाइरहेको सुविधालाई तारो बनाउने जस्ता गतिविधि हेर्दा सरकार सर्वसाधारणका सुविधा खोस्नमै रमाइरहेको आभास हुन्छ ।

सपना देख्न पाइए पनि त्यसले देश बन्दैन । देश बनाउन फराकिलो मन र फराकिलै सोच चाहिन्छ । छिटै तरंगित हुने, लहडले चल्न खोज्ने, आलोचना आए आक्रमणमै उत्रिहाल्ने शैलीले आफूसँगै देश पनि कमजोर बन्छ ।

यी सत्यलाई आत्मसात् गर्न नसकेकै कारण सरकारले शहरवासीको सेवा र सुविधामा आँखा चिम्लिएको हो । सेवा सिद्धिएको शहरभित्र जनताको विश्वास पनि सिद्धिन्छ भन्ने तथ्य आत्मसात् गर्ने सरकारको जय होस् !

प्रतिकृया दिनुहोस