सरकार लोकतन्त्र मास्ने षडयन्त्रमाः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लोकतन्त्र मास्ने षडयन्त्रमा लागेको बताएका छन् ।
आज नेपाल निजामती यूनियन संघ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले सरकार लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध लागेको बताएका हुन् ।
सरकारले कर्मचारीतन्त्र मात्र नभएर न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको भन्दै देउवाले प्रजातन्त्रको मूल्य र मान्यताविरुद्ध गएकाले सरकारविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने धारणा राखेका छन् ।
उनले भने, “कर्मचारी समायोजनका नाममा सरकार निजामति सेवामा नियन्त्रणको प्रयास गरेको छ । सबैतिर आफ्ना कार्यकर्ताका हालिमुहाली बढाउन उद्यत छ ।”
यसका विरुद्ध सदनमा मात्र नभएर सडकमा समेत उत्रिनुपर्ने अवस्था आउन लागेको देउवाको भनाइ छ ।
सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार सर्वसत्तावादतिर उन्मुख भएको भन्दै कांग्रेस खबरदारीमा उत्रेको बताए ।
शान्तिसुरक्षा, सुशासन र विकासको काममा सरकार असफल भएको उनको भनाइ थियो ।
दुईतिहाइको अनुकुल अवस्था र सहज वातावरणमा समेत सरकार असफल भएको उनको आरोप छ ।
सरकारले मुलुकलाई विकासको बाटोमा लैजान नसकेको भन्दै नेता पौडेलले कांग्रेस सरकारका पालमा शुरु भएका विकास आयोजना समेत अलमलमा पारिएको बताए ।
पौडेलले भने, “हामीले मेलाम्चीको सुरुङ छिचोलेर सुन्दरीजलमा निकालेका थियौं, फोटो खिच्न अहिलेका मन्त्री हत्तपत्त पुगे । तर, आफ्नो दायित्व वहन गर्न सकेनन् ।”
युवराज श्रेष्ठ, पोखरा