कला/साहित्यशनिबार, ५ माघ , २०७५

पाठकसँग जोडिंदै कविता

सविना देवकोटा

बढी लेखिने र कम पढिने विधा मानिने कविताले पछिल्लो समय प्रभावशाली प्रस्तुति कलाका कारण पाठकको दायरा फैलाउने मौका पाएको छ ।

उज्ज्वला महर्जन, नवराज पराजुली र सुदेश सत्याल ।

बूढी,
म हरेक बिहान
त्यो भित्तामा झुण्ड्याइएको तेरो तस्वीर हेर्छु ...
तँलाई त म सधैं जवान नै देख्छु
जवानीमै जीवन छोड्नेहरू कहिल्यै बूढो हुन्नन् होला है
... आज म उमेरको बोक्रा ताछिएको
सतासी वर्षको बूढो रुख भएको छु ।

दुई वर्षअघि झापाको बुधबारेमा कवि नवराज पराजुलीले ‘रुख’ शीर्षकको कविता सुनाउँदै गर्दा उनको आवाजलाई नै छोप्ने गरी दर्शकदीर्घाबाट घुँक्कघुँक्क आवाज आइरह्यो । त्यो भक्कानिएको रोदन एक वृद्धको थियो ।

उमेरमै श्रीमती गुमाएका ८७ वर्षीय पुरुषबारे कविता सुनाउँदै गर्दा ठीक त्यही परिवेशका वृद्धलाई कविताले रुवाएपछि अलमलिएका नवराजले उनलाई अंकमाल गरे । वृद्धले पराजुलीको कानमा मसिनो तर गह्रौं स्वरमा भने, “बाबु, यो कविताको पात्र मै हुँ !”

विभिन्न मञ्चमा कविताको मार्मिक प्रस्तुतिका कारण ख्याति कमाइरहेका कवि पराजुली ‘पर्फमेन्स’ को शक्तिले जन्माएका यस्ता धेरै घटना र प्रतिक्रियाका साक्षी हुन् । उनी खुशी साट्छन्, “आँखैअघिका जीवनहरूसँग जोडिन पाउनु नै कविता पर्फम गर्नुको सुन्दर पक्ष हो ।”

शब्दको मर्मअनुसार हाउभाउ, आरोह–अवरोहसहित उपस्थित श्रोतालाई मुग्ध पार्ने उनले पर्फमेन्सकै कारण माग बढेपछि देश–विदेशमा गरी करीब ५० वटा कविता कन्सर्ट गरिसकेका छन् । कवितामा हाउभाउसँगै संगीतको पनि प्रयोग गरी उनले कविता कन्सर्ट गर्दै आएका छन् ।

सामान्यतया कवितासँग जोडिने क्रियापद हो, सुनाउनु । तर, कोरा रूपमा सर्सर्ती पढेर सुनाउने प्रवृत्तिले पाठकसँग कविताले संवाद गर्न नसक्ने कविहरू नै बताउँछन् । यस्तोमा बढी लेखिने र कम पढिने विधा भनेर चिनिने कवितालाई ‘पर्फमिङ आर्ट’ अर्थात् प्रदर्शन/प्रस्तुति कलाबाट लोकप्रिय बनाउन कविहरू लागिरहेका छन् ।

कविताको खरो र प्रभावशाली वाचनको लागि चिनिने कवि मनु मञ्जिल पछिल्लो समय कवि तथा कविताको चर्चाले यसका पाठक बढेको बताउँछन् । कविलाई बढीभन्दा बढी पाठकसँग जोड्ने सेतु शक्तिशाली पर्फमेन्स नै भएको उनको बुझाइ छ ।

सुन्दर र सशक्त कविता पनि कमजोर वाचनले अन्यायमा पर्ने बताउँदै उनी पर्फमेन्सलाई बृहत् अर्थमा व्याख्या गर्छन्, “मानिस, प्रकृति र ब्रह्माण्डसँग जोडिनु नै वास्तविक पर्फमेन्स हो ।”

मञ्चमा कविताको सशक्त प्रस्तुतिलाई सन् २०१० मा स्थापना भएको ‘वर्ड वारियर’ ले विशेष जोड दिंदै आएको छ । संस्थाले शुरु गरेको ‘स्ल्याम पोइट्री’ कार्यक्रममार्फत कविहरूले बोलीचालीका सरल र चोटिलो शब्दमा हाउभाउसहित कविता प्रस्तुत गर्छन् ।

फलस्वरूप साहित्यको सबैभन्दा नबुझिने विधा नै कविता हो भन्ने बुझ्दै आएको पुस्तालाई यो पंक्तिका कविहरूले तानेका छन् । ‘स्पोकन वर्ड पोइट्री’ समेत भनिने स्ल्याम पोइट्रीले कविता वाचनमा हाउभाउसँगै श्रोतासँगको सञ्चारमा ध्यान दिने ‘वर्ड वारियर’ की सदस्य तथा कवि युक्ता बज्राचार्य बताउँछिन् । “हामी खुला ठाउँमा मञ्च बनाएर कविता पर्फम गर्छौं, १५ देखि ३५ वर्षसम्मका मानिसको उपस्थिति बढी हुन्छ”, उनी भन्छिन् ।

कवि श्रवण मुकारुङ पनि कविता सीमित बौद्धिकहरूले मात्र बुझ्ने जटिल हुनुपर्छ भन्ने मान्यता तोडिएर आम मानिसले बुझ्ने सरल हुनुलाई नेपाली कविता पुनर्जागृत भएको रूपमा अथ्र्याउँछन् । बोलीचालीका भाषामा जनजीवन र सामाजिक मुद्दा उठाइएका कविता रुचिकर हुँदै बढी पाठकसम्म पुग्ने उनको ठम्याइ छ । कविता सुनाएर आर्थिक लाभ हुन्छ भनेर नचिताइने समयमा उनले कवितामार्फत व्यावसायिकताको सम्भावना देखाएका थिए ।

२०६२/६३ को आन्दोलन चलिरहँदा श्रवणले लेखेको ‘बिसे नगर्चीको बयान’ कविता यति चर्चित भयो, आन्दोलनकारीलाई सडकमा उराल्ने ‘सेन्सेसन’ बन्न पुग्यो । उनी आन्दोलनकारीको हिरो र पाठकको सेलिब्रिटी बने ।

त्यही लोकप्रियतापछि आरोहण गुरुकुलको नाटकघरमा टिकटमा उनको कविता वाचन कार्यक्रम राखिंदा कविताप्रेमीको ओइरो लाग्यो, त्यो एउटै कार्यक्रमबाट रु.३७ हजार ५०० उनको हातमा प¥यो । त्यसपछि पनि उनी सशुल्क कविता वाचनका लागि देशभित्रका धरान, चितवनदेखि हङकङ र दोहासम्म पुगे । उनी भन्छन्, “जनआन्दोलनको प्रभावमा संक्रमणकालीन राजनीतिक परिवेशमा बिसे नगर्चीको बयान ले दर्शक, श्रोता र पाठक कमाएको थियो ।”

श्रवण र नवराज जस्तै अर्जुन पराजुली, प्रकट पङ्गेनी ‘शिव’, सरस्वती प्रतीक्षा, सीमा आभास, सुदेश सत्याल, उज्ज्वला महर्जनलगायत कविहरूले मञ्चको प्रस्तुतिबाटै कविताप्रेमीमा छाप छोडेका छन् ।

श्रवण आम मानिसको जीवनशैली, दर्शन, समस्या र चाहना नै परिवर्तन भएकाले कविताको ट्रेण्ड परिवर्तन भएर पर्फमेन्समा आकर्षण देखिनु स्वाभाविक भएको बताउँछन् । “पर्फम हुनु कविता समाजमा स्वतस्फूर्त जाँदैछ भन्ने संकेत हो”, श्रवण भन्छन् ।

कविताको पाठक दायरा फैलिएर कवि व्यावसायिक हुँदै जाँदा जीवनशैली पनि बदलिंदै गएको छ । कवि मनु मञ्जिलका अनुसार पछिल्लो समय नेपाली कवितामा ग्ल्यामर थपिएको छ । दयनीय हुलियामा बाटो–चौतारोमा कविता सुनिदिन कर गरिहिंड्ने अव्यावहारिक पात्रको रूपमा चित्रित कवि आजभोलि चिटिक्क देखिनुुका साथै कवितासँग पर्फमेन्स जोडिनु ग्ल्यामर भएको उनको बुझाइ छ ।

कवि, नाटककार एवम् समालोचक अभि सुवेदी भने कविता आफैंमा पूर्ण भए पनि प्रस्तुतिले काव्यमा थप अलंकार थपेर पाठकलाई जोड्ने मान्यता राख्छन् ।

सरल र पर्फमेटिभ भएका कारण कविताप्रति आकर्षण बढेको बताउँदै सुवेदी थप्छन्, “पर्फमेन्सले कवितालाई धेरै जनमानसमा पुर्‍याइरहेको छ, त्यसैले यो क्रम बढ्नुपर्छ ।”

प्रविधिको वरदान
कविता लोकप्रिय हुनुमा प्रस्तुति कलाको जति भूमिका हुन्छ, यसलाई फैलाएर पाठक जमात बढाउन सूचना–प्रविधिले पनि उत्तिकै सघाइरहेको छ । कविहरूको अनुभवमा कवितालाई सबैतिर पुर्‍याउने इन्टरनेट आधुनिक हल्कारा हो ।

कवि मनु मञ्जिलको भनाइमा कविताका पाठक बढ्नुमा इन्टरनेटको सहजतालाई कम आँक्न मिल्दैन । कवितालाई एकैपटक लाखौं मानिससँग जोड्ने पुल बनेको सामाजिक सञ्जालकै कारण पनि कविता सरल र प्रस्तुतिपरक बन्न थालेको उनको बुझाइ छ । उनी भन्छन्, “मेरो कविता दुश्मन विभिन्न यूट्युब च्यानलमा गरी ६० लाख पटक हेरिएको छ । अर्थात् कविताले मलाई ६० लाख पटक मानिससँग जोडिदिएको छ ।”

अल नेपाली पोइट्री स्ल्याम–२०१४ का विजेता समेत रहेका कवि नवराज पराजुली कविता सर्वसाधारणले जति बुझ्ने भयो, प्रविधिमार्फत त्यति नै व्यापक बन्ने विश्वास गर्छन् ।

डिजिटल माध्यमले कवितालाई हिंड्ने नयाँ गोरेटो दिएको भन्दै उनी थप्छन्, “फेसबुक, यूट्युब नभइदिएको भए म कतै हराइसकेको हुनेथिएँ ।” कविता प्रस्तुति सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै ख्याति बढेपछि पराजुलीको कवितासङ्ग्रह ‘सगरमाथाको गहिराइ’ (२०७४) निजी क्षेत्रको स्थापित प्रकाशन गृहबाट प्रकाशन भएको थियो ।

पछिल्लो समय यूट्युबमा राखिएका नेपाली कविताले पाएको भ्यूज हेर्दा आकर्षण बढेको देखिन्छ । तर, समालोचक सुवेदी भने फेसबुक र यूट्युबमा आएका लाइक, कमेन्ट, सेयर र भ्यूजकै आधारमा कविताको मूल्याङ्कन गर्न नहुने धारणा राख्छन् ।

डिजिटल प्लेटफर्मले गर्दा कविता र कवि पपुलिज्मबाट परिचालित भएको उनको तर्क छ । सुवेदी भन्छन्, “पाठकसम्म पुग्न यस्ता प्लेटफर्मको उपयोग एक हदसम्म ठीकै हो, तर चर्चित हुन कविताको दुरुपयोग गर्नु गलत हो ।”

यसले नेपाली कविताको भविष्य नराम्रो रहेको संकेत गर्छ त ? सुवेदी क्षणिक चर्चाका लागि कविताको प्रस्तुतिको भर्‍याङ चढे पनि समयक्रममा कविता आफैं छानिंदै सङ्लिने भएकाले भविष्यप्रति भने चिन्ता नरहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस