गगन थापाको प्रश्न- “प्रधानमन्त्री ज्यू, संस्थाको विश्वास जोगाउने कि ढल्न दिने ?”
४ माघको संसद बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्ने क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले संसदीय समितिले तोडमोड गरेर चिकित्सा शिक्षा विधेयक पारित गरेको आरोप लगाएका छन्।
थापाले डा. गोविन्द केसीका ९५ प्रतिशत माग पूरा भइसकेको बताउँदै बाँकी विषय संसदीय प्रक्रियाबाट हुबहु पारित गरिनुपर्ने माग गरे। उनले भने, “प्रधानमन्त्रीले चाहना मात्र राख्ने हो भने सहज रूपमा हुबहु चिकित्सा शिक्षा विधेयक पारित हुन्छ।”
संसदीय समितिले डा. केसीसँग विगतमा सरकारले गरेका सहमतिलाई बदलेको र सरकारले चाह्यो भने संसदीय समितिमार्फत पारित विधेकयकलाई प्रतिनिधिसभाले सजिलै पारित गर्न सक्ने थापाले बताए। “विषय संसदीय प्रक्रियाको होइन, प्रधानमन्त्रीको बचनको हो। प्रधानमन्त्री व्यक्ति होइन, संस्था हो,” थापाले भने, “डा. केसी ढल्लान भन्ने मुख्य चिन्ता होइन, प्रधानमन्त्री संस्था गर्ल्यामगुर्लुम ढल्ला कि भन्ने चिन्ता हो। प्रधानमन्त्री ज्यू, संस्थाको विश्वास जोगाउने कि ढल्न दिने ?”
जवाफमा प्रधानमन्त्री ओलीले डा. केसीको अनशनको सिलसिला एउटा विषय तथा संसद र संसदीय सर्वोच्चता अर्को विषय भएको बताए। ओलीले भने, “संसदको अधिकारको प्रश्न हो। संसदको विधि निर्माणमा स्वतन्त्र हैसियतप्रति म सम्मान गर्छु।” उनले अहिले १५ औं पटकको अनशनका क्रममा भएको सम्झौताको मात्र चर्चा भएको बताउँदै त्यसअघि पनि डा. केसीसँग धेरै पटक सम्झौता भएको बताए।
प्रधानमन्त्री ओलीको प्रश्न थियो, “संविधान, कानून र राष्ट्रिय आवश्यकताले काम नगर्ने तर व्यक्तिको अनशन सर्वोपरी हुने विषय लोकतन्त्रमा हुन्छ ?”
१५ औं पटकको अनशनमा गरेका सम्झौता तत्कालीन परिस्थितिको उपज भएको ओलीले बताए। उनले विगतमा गरेका सम्झौताप्रति सरकार प्रतिबद्ध रहेको समेत बताए। उनले भने, “संसदमा प्रधानमन्त्रीको बहुमत हुँदैमा संसदीय सर्वोच्चतालाई थिचोमिचो गर्न सक्दिनँ।” प्रधानमन्त्री ओलीले संसदलाई डा. केसीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न आग्रह गरे। तर, सम्झौता कार्यान्वयन गर्न आदेश दिन नसक्ने बताए।