“चीनका नीति निर्माताहरू के सोच्छन्, अनुमान गर्नै गाह्रो”
चीनका नीति निर्माताहरू के सोचिरहेका छन् भन्ने अनुमान गर्नै गाह्रो रहेको राजधानीमा ४ माघमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।
नेपाल अन्तर्राष्ट्रिय तथा रणनीतिक अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा चीन मामिलामा लेख्दै आएका भारतीय पत्रकार अनन्त कृष्णनले भने, “नेपाल, भारतलगायत प्रजातान्त्रिक शासन व्यवस्था भएका देशमा नीति निर्माताको सोच सञ्चार माध्यमबाट थाहा पाउन सकिन्छ। तर, चीनका नीति निर्माताहरूको सोच थाहा पाउनै सकिँदैन।”
भारत र चीनको सम्बन्धको आयामले दक्षिण एशियामै प्रभाव पार्ने औंल्याउँदै कृष्णनले भने, “तर, दुवै मुलुक राजनीतिक समस्या समाधानका लागि गम्भीर पनि देखिँदैनन्।” चीन र अमेरिकाबीचको ‘ट्रेड वार’का कारण एशियाली मुलुकहरू बीचको सम्बन्धको आयाम परिवर्तन भइरहेको उनले औंल्याए। “नेपालजस्ता साना मुलुकले यसबाट आर्थिक लाभ उठाउन सक्छन् तर त्यसका लागि धेरै काम गर्नु जरुरी छ।”
भारतीय बजारमा फैलिँदो चिनियाँ कम्पनीको साम्राज्य उनले उल्लेख गरे। “अहिले भारतमा सबैभन्दा चर्चित २० मोबाइल एप र ५ मध्ये ४ मोबाइल फोन उत्पादक कम्पनी चिनियाँ छन्, जसबाट चीनको फैलिँदो व्यापार साम्राज्यबारे अनुमान लगाउन गाह्रो पर्दैन,” उनले भने।
भारतले पनि तिब्बती संस्थाहरूका गतिविधि रोकेर चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन खोजिरहेको देखिने उनको विश्लेषण थियो। चीन-अमेरिका व्यापार युद्धको परिणामले पनि दक्षिण एशियाली मुलुकहरूबीचको भविष्यको सम्बन्धको आयाम निर्धारण गर्ने उनले औंल्याए।