फागुन पहिलो साता प्रज्ञा भवनमा ‘बडिबिल्डिङ च्याम्पियनसिप’
‘आईएफबीबी लिग नेपाल’ को आयोजनामा ३-४ फागुनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा ‘आईएफबीबी प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप-२०१९ (प्रो क्वालिफायर) आयोजना हुँदैछ।
यो प्रतियोगिता नेपाली खेल इतिहासकै ठूलोमध्ये एक मानिएको छ, जसको क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक भएको छ। ‘आईएफबीबी प्रोफेसनल लिग’ को अमेरिकास्थित मुख्यालयले उक्त प्रतियोगिताको क्यालेन्डर सार्वजनिक गरेको हो।
क्यालेन्डरअनुसार ‘आईएफबीबी प्रोफेसनल लिग’ को पहिलो क्वालिफायर खेल नै नेपालमा आयोजना हुन लागेको हो। नेपालभन्दा अघि भारतका ४ वटा शहरमा प्रतियोगिता आयोजना हुँदैछन्। ती सबै क्षेत्रीयस्तरका मात्र हुन्। नेपालमा आयोजना हुन लागेको प्रतियोगिता ‘प्रो क्वालिफायर’ हो।
‘आईएफबीबी प्रोफेसनल लिग’ले सार्वजनिक गरेको प्रतियोगिताको ‘फ्लायर’मा सर्वोच्च शिखर सगरमाथाको पृष्ठभूमिमा ‘गेष्ट पोजर’ को रूपमा संसारकै सबैभन्दा ठूलो ज्यान भएका बडिबिल्डर रोली विङ्कलारको तस्वीर राखिएको छ। ‘द विस्ट’ को उपनामले विश्व विख्यात बडिबिल्डर हुन्, विङ्कलार। उनले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, “हेलो नेपाल, म छिट्टै आउँदैछु।” उनी ‘सामुराई’ उपनामबाट चर्चित् छन्।
‘आईएफबीबी प्रोफेसनल लिग’ मा हलिउड नायक तथा क्यालिफोर्नियाका पूर्वगर्भनर आर्नोल्ड स्वेज्नेगर पनि आवद्ध छन्। आर्नोल्डको नाममा संस्थाले हरेक वर्ष ‘आर्नोल्ड क्लासिक’ प्रतियोगिताको आयोजना गर्छ।
नेपालमा आयोजना हुन लागेको प्रतियोगिता ‘मिस्टर ओलम्पिया’ को छनोट खेल हो। ‘मिस्टर ओलम्पिया’ लाई बडिबिल्डिङको विश्वकप मानिन्छ। आर्नोल्डले ७ पटक यो प्रतियोगिताको उपाधि जितेका थिए। विङ्कलार सन् २०१८ को ‘आर्नोल्ड क्लासिक’ का च्याम्पियन हुन्। उनी गत वर्ष ‘मिस्टर ओलम्पिया’ मा तेस्रो भएका थिए।