डा केसी शिक्षण अस्पतालको आईसीयूमा
आफुसँग भएको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको विरोधमा इलाममा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई ४ माघ बिहानै काठमाडौं ल्याइएको छ ।
३ माघ राति एम्बुलेन्समार्फत झापाको भद्रपुर पुर्याइएका उनलाई त्यहाँबाट हेलिकप्टरमार्फत बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । उनका सहयोगी डा. अभिषेकराज सिंहका अनुसार डा केसीलाई तत्काल महाराजगञ्जस्थित शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार शुरु गरिएको छ ।
सत्याग्रहका क्रममा स्वास्थ्यस्थिति नाजुक बनेपछि ३ माघ साँझ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा चिकित्सा शिक्षासम्वन्धि राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुङ्गानालगायतको टोली इलाम आएको थियो ।
त्यसअघि धरानबाट आएको विशेष चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएकाले जुनसुकै बेला बेहोस हुन सक्ने सम्भावना औंल्याउदै तत्काल आईसीयू र सीसीयू सुविधा भएको अस्पतालमा लानुपर्ने निश्कर्ष निकालेका थिए ।
"डा. केसीको सत्याग्रह माग पूरा नभएसम्म कायम रहन्छ," पूर्वसभामुख ढुङ्गानाले भने, "तर, उहाँको स्वास्थ्य स्थितिलाई ख्याल गरेर जसरी पनि काठमाडौं लानुको विकल्प भएन ।"
लक्ष्मी मिश्र