डा. केसीलाई काठमाडौं लगिंदै
इलाममा नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई आज राति नै काठमाडौं लैजाने तयारी भएकोे छ ।
अनशनस्थलमा रहेका राजु केसीका अनुसार डा केसीलाई सेनाको एमआई १७ हेलिकप्टरमार्फत काठमाडौं लगिने भएको हो । उनका अनुसार डा. केसीलाई झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट हेलिकप्टरमा काठमाडौं लगिने छ । यो समाचार तयार पार्दै गर्दा डा केसीलाई लिएर एम्बुलेन्स भद्रपुरतर्फ प्रस्थान गरिसकेको छ । सेनाको एमआई १७ मा नाइटभिजन सुविधा भए पनि इलाममा अवतरण गर्न नसक्ने भएका कारण डा केसीलाई ९६ किलोमिटर परको भद्रपुर विमानस्थलतर्फ लगिएको हो ।
डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीको मुटुको चाल अनियमित हुनुका साथै अन्य समस्या पनि देखिएको छ ।
डा. केसीका समर्थक अभियन्ता र चिकित्सकहरुको सल्लाहमा उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
लक्ष्मी मिश्र, इलाम