“डा. केसी कुनै पनि बेला बेहोस हुनसक्ने अवस्थामा”
९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। चिकित्सा शिक्षा सुधारको मागसहित २५ पुसदेखि इलाममा अनशनरत डा. केसीको शरीरमा सेतो रक्तकोषिका र ग्लुकोजको मात्रा कम हुँदै गएको चिकित्सकहरूले बताएका छन्। उनले सुईमार्फत ग्लुकोज लिन अस्वीकार गरेका छन्।
३ माघको स्वास्थ्य परीक्षणमा शरीरमा पानीको मात्रा कम हुँदै गएकाले कुनै बेला पनि मृगौलाले काम गर्न छाड्ने अवस्था रहेको इलाम अस्पतालका डा. विजेन्द्रकुमार शाहले बताए। मुटुको चालमा अनियमितता, क्याल्सियमको कमी र अक्सिजनको मात्रासमेत कम भएकाले कुनै पनि बेला बेहोस हुनसक्ने अवस्था रहेको डा. शाहले बताए।
२ माघमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा. केसीको स्वास्थ्य परीक्षण गरी आईसीयू भएको सुविधासम्पन्न अस्पतालमा सार्न सुझाव दिएका थिए। तर, केसीले जान मानेका छैनन्।
यसैबीच, डा. केसीको पक्षमा ऐक्यबद्धता जनाउँदै इलाम सदरमुकाममा दैनिक जुलुसहरू भइरहेका छन्। नागरिक समाजका विभिन्न व्यक्ति उनको सत्याग्रहमा ऐक्यबद्धता जनाउन इलाम आउन थालेका छन्।
३ माघमा नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले उनीसँग भेट गर्दै स्वास्थ्य अवस्थाको जानकारी लिए। यस्तै, उनको सत्याग्रहमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र पूर्वसभामुख दमननाथ ढुंगाना इलाम आएका छन्।
डा. केसीको पक्षमा ४ माघमा इलाम बजारमा हुने प्रदर्शनमा उनीहरूले सहभागिता जनाउने कार्यक्रम छ। त्यसपछि आयोजना हुने सभामा पनि उनीहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको केसीको रेखदेखमा रहेका डा. रामकृष्ण आचार्यले बताए।
लक्ष्मीप्रसाद मिश्र, इलाम