शोधनान्तर घाटा रु. ८५ अर्ब ३२ करोड पुग्यो
रेमिटेन्स उत्साहजनक रूपमा बढे पनि वैदेशिक व्यापारमा भोग्नुपरेको ठूलो घाटाका कारण देशको शोधनान्तर (देश भित्रिने र बाहिरिने रकमबीचको अन्तर) स्थिति मंसीरसम्ममा रु. ८५ अर्ब ३२ करोड घाटामा पुगेको छ।
कात्तिकसम्ममा रु. ५७ अर्ब ३३ करोडले घाटामा रहेको शोधनान्तर मंसीर एक महिनामै थप २८ अर्बले नोक्सानीमा गएको हो। गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति रु. ५ अर्ब ४८ करोड घाटामा थियो। मंसीरमा चालु खाता घाटा रु. १ खर्ब १९ अर्ब ३३ करोड पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो घाटा रु. ६४ अर्ब ११ करोड थियो।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटिरहे पनि देश भित्रिने रेमिटेन्स भने उल्लेख्य मात्रामा बढेको छ। नेपाल राष्ट्र ब्यांकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महीना (साउन-मंसिर) सम्ममा रु. ३ खर्ब ७६ अर्ब ५९ करोड रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ३१.९ प्रतिशत बढी हो। गत वर्षको यही अवधिमा रेमिटेन्स ०.९ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहे पनि रेमिटेन्सको बढ्नुले अवैध माध्यमबाट रकम भित्र्याउने तरिका निरुत्साहित भएको संकेत गर्छ। कात्तिकसम्ममा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४०.२ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा यो १ प्रतिशतले घटेको थियो।
मंसीरसम्ममा निर्यात ११.२ प्रतिशतले वृद्धि हुँदा आयात भने ३४.२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पाँच महीनामा वैदेशिक व्यापारमा नेपालले रु. ५ अर्ब ६९ अर्ब ४९ करोडको घाटा व्यहोरेको छ। यो अवधिमा नेपालले रु. ३७ अर्ब ७० करोडको मात्र निर्यात गरेको छ भने आयात ६ खर्ब ७ अर्बको मात्र छ।
देश भित्रनेभन्दा बाहिरिने रकम बढेसँगै विदेशी मुद्राको सञ्चिती क्रमशः ओरालो लागेको छ। गत असारको तुलनामा मंसीरसम्ममा विदेशी विनिमयको सञ्चिति (डलरमा) ७.९ प्रतिशतले ओरालो लागेको छ। नेपालसँग भएको ९ अर्ब २९ करोड डलरको विदेशी मुद्रा सञ्चितिले ७.८ महिनाको मात्र वस्तु र सेवाको आयात धान्न सक्छ।
मंसीरसम्ममा मुद्रास्फीति (मूल्यवृद्धि) दर ३.७ प्रतिशत मात्र रहेको राष्ट्र ब्यांकले जनाएको छ। गत वर्ष यो ४.२ प्रतिशत थियो।