व्यवसायी चन्द्र ढकाल भन्छन् “ट्याक्स हेभन मुलुकमा मेरो कुनै कम्पनी छैन, त्यहाँबाट लगानी ल्याएको पनि छैन”
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि ट्याक्स हेभन मुलुकमा आफू मातहतका कम्पनी नभएको बताएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायी ढकालले आईएमई समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी पनि नआएको दावी गरेका हुन् ।
इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसिआईजे)को सहकार्यमा सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म (सिआईजे)ले तयार पारेका समाचारमा कुनै सत्यता नभएको र उक्त समाचारमा आफ्नो जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि ढकालले बताएका छन् ।
उनले आफ्नो स्वीस ब्यांकमा खाता नै नभएको दावी गरेका छन् ।
ढकालले भने “कानूनले दिएका अधिकार प्रयोग गरी पुरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको कम्पनीको विषयलाई जोडेर हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा हामी गम्भीर आपत्ती प्रकट गर्दछौं ।”
उनले नेपाल राष्ट्र ब्यांकको अनुमतिबाट सन् २००१ मा शुुरु भएको आईएमईले आजसम्म विभिन्न मुलुकबाट करीब १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएका पनि दावी गरेका छन् ।
“बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीं उपलब्ध स्रोत प्रयोग गरी बेलायतसँगै यूरोपेली मुलुकबाट रेमिट्यान्स भित्र्याउन थालेका हौं ।” उनले भने, “कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरुको अहिलेको राष्ट्रियता बेलायती हो ।”
“बेलायती नागरिकले बेलायतमै कम्पनी स्थापना र सञ्चालन गर्दा कसरी गैर कानूनी भयो ?” ढकालले प्रतिप्रश्न गरे ।
ढकालले गैरआवासिय नेपाली आफ्ना भाई हेमराज ढकालले जापान, मलेशिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको व्यवसाय सम्हाल्दै आएको बताएका छन् ।
उनले नेपालको कानूनले गैरआवासिय नेपालीलाई विदेशमा कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज नलगाएको बताएका छन् ।
पढ्नुहाेस् ।