वालिङमा अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस
स्याङ्जामा पर्यटन विकासमा क्रियाशील ‘वन्डरफुल वालिङ’ पर्यटन विकास संस्थाले अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस आयोजना गरेको छ। वालिङ बजारबाट शुरु हुने यो रेस मिर्दी, जगत भञ्ज्याङ, केवरे, गह्रौंसुर, बझाकोट, करादी, बायँटारी, अकला, डुम्रे भञ्ज्याङ, शीरकोट अमले हुँदै खेल मैदानसम्म १०० किमि दूरी पार गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा २५ विदेशी र १५० नेपाली खेलाडी सहभागी हुने अपेक्षा आयोजकको छ। हालसम्म १५ जनाले नाम दर्ता गरिसकेको वन्डरफुल वालिङका अध्यक्ष दिनकर नेपालले जानकारी दिए। साहसिक पर्यटनको माध्यमबाट वालिङ क्षेत्रको पर्यटन विकास गर्न यो प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए।
“वालिङ संस्कृति र प्रकृतिमा धनी छ,” नेपालले भने, “दुवैलाई जोडेर साहसिक पर्यटनको गन्तव्य बनाउन चाहन्छौं।”
१८ माघमा आयोजना हुने प्रतियोगिताका लागि १०० किमि लामो ट्रेल निर्माण भइसकेको छ। वालिङ नगरपालिका र वालिङ उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताका टाइटल विजेतालाई ५ लाख पुरस्कार प्रदान गरिने समूहका सचिव मोहन गुरुङले जानकारी दिए।
प्रतियोगितामा महिलातर्फबाट प्रथम हुनेले रु. ३ लाख र पुरुषतर्फबाट प्रथम हुनेले रु. १ लाख ५० हजार पुरस्कार पाउनेछन्। प्रतियोगितामा भाग लिन विदेशीले १ सय ५० डलर र स्वदेशीले रु. ५ हजार बुझाउनुपर्नेछ।
रेसमा २५, ५०, ७५ र सय किमिमा ‘कटअफ जोन’ निर्धारण गरिएको आयोजकले जनाएको छ। प्रत्येक जोनमा प्रतिस्पर्धी निर्धारित समयमा पार गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी खेलाडीको सुरक्षाका लागि मेडिकल र उद्धार टिमको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ।
युवराज श्रेष्ठ, पोखरा