रिपोर्टबिहिबार, ३ माघ , २०७५

घरघरै स्वास्थ्यकर्मी

सविना देवकोटा

‘होम केयर’ सेवाका कारण एकातिर शहरी ज्येष्ठ नागरिकहरूले स्याहार पाउन सकेका छन् भने अर्कोतिर नेपालको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ उद्यम फस्टाउँदो छ ।

२४सै घण्टा सेवाअन्तर्गत ‘हेल्थ एट होम नेपाल’ की नर्स पवित्रा भण्डारी । तस्वीरः बिक्रम राई

छोराहरू इभान र जेनो क्रमशः अमेरिका र बेलायतमा बस्न थालेपछि पुरानो बानेश्वरका देवीराम आचार्य (७४) र पद्‌मा आचार्य (६७) लाई स्याहार्ने कोही भएन । पद्‌मा बिरामी हुन थालेपछि त समस्या झन् बढ्यो । छोराहरू काम छोडेर नेपाल आउन सक्दैनथे, आचार्य दम्पती पनि बुढेसकालमा विदेश जान तयार भएनन् । उनीहरूको यो समस्यामा सहारा भइदियो हेल्थ एट होम नेपाल ।

ज्येष्ठ नागरिक र बिरामीहरूको स्याहारका लागि आवश्यकता अनुसार घरमै स्वास्थ्यकर्मी उपलब्ध गराउँदै आएको हेल्थ एट होम नेपाल ले दुई वर्षदेखि आचार्य दम्पतीको जिम्मा लिएको छ ।

दैनिक ८ पटक औषधि सेवन गर्नुपर्ने पद्मालाई यही संस्थाबाट खटिने नर्सले २४सै घण्टा सेवा दिइरहेका छन् । “सँगै बसेर नर्सले रेखदेख गर्न थालेपछि समयमै औषधि ख्वाउन सकिएको छ, जुनसुकै बेला पनि बिरामीलाई केही भइहाल्छ कि भनेर आत्तिनु परेको छैन”, देवीराम भन्छन् ।

डाक्टर, नर्स, केयरगिभर, फिजियोथेरापिस्ट जस्ता स्वास्थ्यकर्मी घरमै उपलब्ध गराउने होम केयर सेवाहरूले वृद्ध वा बिरामी अवस्थाका आमाबाबुलाई काठमाडौंमा राखेर विदेशिएकाहरूका लागि मात्रै होइन एउटै छानोमुनि बसे पनि व्यस्तताका कारण परिवारका अशक्त सदस्यका लागि समय दिन नसक्नेहरूलाई समेत राहत दिएका छन् ।

हेल्थ एट होम, हिल होम केयर, श्रद्धा सवुरी, डक्टर अन कल जस्ता यी संस्थाहरूबाट अस्पताल जान नसक्ने÷नचाहनेहरूले पनि घरमै चिकित्सकीय सेवा र स्याहार सुविधा प्राप्त गरिरहेका छन्

स–साना नानीहरूलाई घरमै छोडेर काममा जानुपर्ने कामकाजी आमाहरूले पनि यस्तो सेवा खरीद गरिरहेका छन् । तिनैमध्येकी एक हुन् ललितपुर, सानेपाकी रितु जोशी । जोशी आमा बनेपछि केही समय जागिर छाड्नुपर्छ कि भन्ने सोचाइमा थिइन् ।

तर, श्रद्धा सवुरी को सेवा खरीद गरेपछि उनी ढुक्क भएर कार्यालय जान सकेकी छन् । श्रद्धा सवुरी बाट खटिने केयरगिभरले उनी आमा बनेदेखि शिशु स्याहारका लागि दैनिक १२ घण्टे सेवा दिइरहेका छन् । रितु भन्छिन्, “घरमै आउने केयरगिभरले दिनभर बच्चाको जिम्मेवारी लिइदिएपछि ढुक्क भएर अफिस जान सकेकी छु ।”

त्यस्तै हाइपोथाइरोइडिज्म् र मधुमेहका बिरामी पुरानो बानेश्वरका रमाकान्त मैनाली (८०) लाई शौचालय लैजान, हिंड्डुल गराउन, नियमित शारीरिक व्यायाम गराउन होम केयरबाट हेल्थ असिस्टेन्ट र फिजियोथेरापिष्टको सेवा खरीद गरिएको छ । उनकी श्रीमती विजया भन्छिन्, “होमकेयरका स्वास्थ्यकर्मीले गर्दा उहाँको रेखदेख र स्याहार निकै सहज भएको छ ।”

स्वास्थ्य उपचारमा नयाँ उद्यमको विकास गरेका होम केयरहरूले नर्स, केयरगिभर र फिजियोथेरापिष्टलाई उल्लेख्य मात्रामा रोजगारी पनि दिइरहेका छन् । २०६५ सालमा स्थापित हेल्थ एट होम नेपाल नेपालकै पहिलो होम केयर रहेको संस्थापक डा. विशाल ढकाल बताउँछन् । उनी भन्छन्, “अब हामी काठमाडौं बाहिरका शहरहरूमा पनि सेवा विस्तार गर्ने तयारीमा छौं ।”

गुणस्तरको चासो
शिशु स्याहारदेखि ज्येष्ठ नागरिकसम्मलाई दैनिक हेरचाह र स्वास्थ्य सेवा उपलब्ध गराइरहेका होम केयर सेवा प्रदायकको संख्या बढ्दै जाँदा सेवाको गुणस्तरबारे पनि चासो प्रकट हुन थालेको छ ।

काठमाडौं बागबजारकी रूपा जोशीका अनुसार परिवारकै सदस्यले गर्ने स्याहार भन्दा व्यावसायिक व्यक्तिले दिने सेवा फरक हुन्छ । नियमित स्वास्थ्य अवस्थाको जाँच गरिरहनुपर्ने, त्यसै अनुसार स्याहार गर्नुपर्ने अवस्थाका बिरामीलाई तालिमप्राप्त स्वास्थ्यकर्मीले हेरचाह गरिरहँदा आफू ढुक्क हुन सक्ने उनी बताउँछिन् ।

उनकी सासू अंगुरबाबा जोशी (८६) र बूढीसासू चन्द्रकुमारी जोशी (१०३) का लागि हिल होम केयर बाट खटिएका स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

रूपाका अनुसार नर्सहरूलाई एकातिर स्वास्थ्यसम्बन्धी ज्ञान हुन्छ भने अर्कोतिर उनीहरू बिरामीसँग गफ गर्दै, साथी बनेर व्यावसायिक सेवा दिन्छन् ।

यस्तै कामका लागि तालिमप्राप्त उनीहरूसँग परिवारका सदस्यसँग रहने एक खालको संकोच पनि रहँदैन, त्यसैले होमकेयरको सेवा वृद्धवृद्धा अनुकूल छ । हेल्थ एट होमबाट सेवा लिइरहेका देवीराम आचार्य पनि घरमा आउने स्वास्थ्यकर्मीले बिरामीको मनोविज्ञान बुझेर स्याहार गर्ने हुँदा बढी सहज महसूस हुने बताउँछन् ।

जेरियाट्रिक (बुढ्यौली) विशेषज्ञ डा. रमेश कँडेल भने होम केयरहरूले उपलब्ध गराउँदै आएका नर्स, केयरगिभर र फिजियोथेरापिस्ट सबैलाई ज्येष्ठ नागरिक अनुकूल बनाउन विशेष तालिम दिनुपर्ने बताउँछन् । कँडेल भन्छन्, “हाम्रो समाज अझै पनि वृद्धवृद्धा मैत्री हुनसकिरहेको छैन । हामी चाहेर पनि स्याहारको तरिका जानिरहेका हुँदैनौं ।”

त्यसो त काठमाडौंमा सञ्चालित होम केयरहरूले नर्स र केयरगिभरहरूलाई तालिम दिने, बिरामीको सूचना र गुणस्तर अभिवृद्धिका लागि रेकर्ड राख्ने र बेलाबेला घरमै गएर कामको अनुगमन गर्ने गर्छन् । तर त्यस्ता कामको गुणस्तर सुनिश्चित गर्ने नीतिगत मापदण्ड र निगरानी गर्ने निकाय नबनेकाले ढुक्क हुने ठाउँ छैन ।

शहरी क्षेत्रमा प्रचलित हुँदै गएको यो सेवा आम नेपालीको पहुँचमा भने छैन । यस्ता होम केयरबाट सेवा लिनका लागि सेवाग्राहीको आवश्यकता र रोगको प्रकृति हेरेर १२ घण्टा खटिने नर्सका लागि रु.२५ हजारदेखि रु.६० हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । रमाकान्त मैनालीले हेल्थ असिस्टेन्टका लागि मासिक रु.३० हजार तिरिरहेका छन् । फिजियोथेरापिस्टलाई प्रत्येक भिजिट वापत रु.१००० दिनुपर्छ । सानेपाकी रितु जोशीले शिशु स्याहारका लागि दैनिक ८ घण्टा खटिने केयरगिभरलाई मासिक रु.८ हजार बुझाउँछिन् ।

बाल स्वास्थ्यको क्षेत्रमा संसारभर अनगिन्ती अनुसन्धान भइरहे पनि वृद्धवृद्धाहरूको स्वास्थ्यबारे अध्ययन, अनुसन्धान साथै चासो पनि कम देखिने गरेको एजिङ नेपाल का संस्थापक कृष्णमुरारि गौतम बताउँछन् ।

पछिल्लो समय होम केयर जस्ता संस्थाहरूकोे योगदानले केही राहत महसूस भए पनि यो पर्याप्त नभएको गौतमको भनाइ छ । उनी भन्छन्, “आजको युवा पुस्ताले भोलि वृद्ध भएपछि आफू कहाँ जाने भन्ने प्रश्नको सम्बोधनमा आजैदेखि लाग्नुपर्छ ।”

प्रतिकृया दिनुहोस