महिला क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पुरा ग¥यो ।
नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो ।
थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले तीन विकेट लिइन् । इन्दु बर्मा र सरिता मगरले दुई÷दुई तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक÷एक विकेट लिए ।
घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक चार रन बनाइन् । नेपालले अतिरिक्त सात रन दिएको थियो । थाइल्याण्डका पाँच खेलाडी शून्यमा आउट भएका थिए ।
समूह ‘ए’ बाट संयुक्त अरब इमिरेट्स (युएई) समूह उपविजेताका रूपमा यसअघि नै सेमिफाइनलमा पुगेको छ ।
नेपालले पहिलो खेलमा चीनलाई, दोस्रो खेलमा मलेशियालाई र तेस्रो खेलमा यूएईलाई पराजित गरेको थियो । रासस