कला/साहित्यमंगलबार, १ माघ , २०७५

बैकुण्ठ जान नसकेको ‘निरमाया’

युवराज श्रेष्ठ

नाटककार सरुभक्तले ३० वर्षअघि ‘बैकुण्ठ जाओस्’ भनेर नाटक ‘निरमाया’मा उतारेको नेपाली समाजको चरित्र अझै फेरिएको छैन।

रातो माटोले लिपेका स-साना घरहरू। घरको उचाइ तलमाथि भए पनि छानो सबै खरले छाएका छन्। एउटा सानो दैलो र सानै पिँढी। गरिबीले आक्रान्त दूरदराजको कुनै एउटा बस्ती हो यो, जहाँ सबैको हैसियत उस्तै हुन्छ- दिनभर मालिकको खेतमा काम गर्ने र साँझबिहानको माड जोड्ने।

गाउँका एक युवक गोरे अर्थात रेवान राई गाउँकै युवती पातली अर्थात अञ्जु दाहाललाई प्रेम गर्छन्। यी दुईबीच प्रेमालाप गरिरहेको अवस्था आमा बाटुली अर्थात प्रमिला तुलाचनले देखेपछि उनीहरू दुवैलाई तथानाम गाली गर्छिन्। आमाको मन न हो, बिहे गर्ने उमेर पुगेका छोराले माया गर्ने केटी पातलीसँग बिहे गरिदिने निर्णय गर्छिन्।

सौतेनी आमाको रुखो व्यवहार खपेर बसेका गोरे आमाको यो निर्णयबाट खुशी त हुन्छन् तर उनलाई बिहे गर्न मन लाग्दैन। किनकि, गाउँको ‘प्रथा’ले उनलाई यस्तो बिहे नगर्ने झोंक चलाइदिन्छ।

जब आमा बाटुली र बाबु डम्बरे अर्थात प्रकाश घिमिरेले बिहे गर्न जोडबल गर्छन्, तब गोरे पनि राजी हुन्छन्। उनको बिहेका लागि केटीतर्फ कुरा गर्न आफन्त गइसकेका हुन्छन्। गरीबीको सीमा यति फराकिलो हुन्छ कि बेहुलालाई बिहेमा लगाउने नयाँ लुगा हुँदैन, पुरानो धोएर सुकाउँदा जन्ती जाने बेलासम्म पनि सुक्दैन। अन्ततः दुलाहा चिसै लुगा लगाएर बेहुली लिन जान्छन्।

दुलाहाको घरमा छरछिमेक मिलेर रत्यौली खेल्न थाल्छन्। त्यही बेला मालिकका मान्छे आइपुग्छन्। बेहुलाका आमा बाटुलीलाई दुलही ल्याएपछि पहिलो रात मालिकको घरमा ल्याउन हुकुम दिन्छन्।

जब जन्ती दुलही लिएर घर आइपुग्छ, आमाले बुहारी अर्थात पातलीको मुख हेर्न खोज्छिन्। त्यही बेला मालिकका लाठेहरू लाठा र भरुवा बन्दुक बोकेर आँगनमा आइपुग्छन्। आमालाई बुहारीको मुख हेर्न पनि दिँदैनन्। बेहुलीलाई मालिकको घर लैजान नदिए ‘रगतको खोला बग्ने’ धम्की दिन्छन्।

‘प्रथा’को नाममा गाउँका सबैले बिहे गर्दा यसरी नै दुलहीलाई पहिलो रात मालिकको घरमा पठाउनुपर्ने रहेछ। जब ती लाठेहरूले कर गर्छन्, बेहुलाका बाबु डम्बरेले नै बुहारीलाई मालिकको घर पुर्‍याइदिन्छन्।

यता दुलाहा भने मालिकको घर नजान बेहुलीलाई बारम्बार आग्रह गर्छन्, हात तान्छन् तर लाठेहरूले छुटाएर लगिछाड्छन्। त्यसपछि दृश्यमा अन्धकार छाउँछ।

बिहे गर्नु अघिदेखि नै आफ्नो पवित्र प्रेमका बावजुद यही प्रथाका कारण गोरे विवाह गर्न इच्छुक देखिएका थिएनन्। जब दृश्यमा प्रकाश पर्दै जान्छ, गाउँमा ठूलो रुवाबासी चल्छ। प्रष्ट उज्यालो देखिँदा गोरेको शरीरमा रगत र उनको हातमा रगत पोतिएको छुरी देखिन्छ। गोरेले भर्खरै विवाह गरेर ल्याएका बेहुली रुँदै आउँछिन्, बुवा आमा र गाउँलेहरू पनि जम्मा हुन्छन्। यतिबेला गोरेलाई पक्राउ गर्न प्रहरी आउँदै गरेको बाटोमा देख्न सकिन्छ।

जब बेहुली पातलीले गोरेलाई भन्छन्, “दुःख सुख सँगसँगै बाँडिचुँडी खाने भनेर माया गरेको होइन ? किन मान्छे मार्‍यौ ? कस्तो निरमाया रहेछौ।”

गोरेले जवाफमा भन्छन्, “मैले मान्छे मारेको होइन पातली। मैले राक्षस मारेको हो। धर्मशास्त्रमा राक्षस मार्नेलाई देवता मान्छन्। मैले राक्षस मार्दा किन रुन्छौ पातली।”

गोरेले आफ्नो नवबेहुलीलाई रात बिताउन लगेका मालिकको हत्या गरेछन्। मालिकको ज्यादतीले आक्रान्त बनेका युवा गोरेले यसअघि पनि मालिकको व्यवहार मन पराएका थिएनन्।

मालिकले यतिसम्म शोषण र उत्पीडन गरेका थिए कि गाउँमा श्रीमती बिरामी भएर घरमै बसेका वृद्धलाई पनि लाठी लगाएर काममा लगेका थिए। मालिक बाटोमा हिँड्दा नदेखेको भन्दै अर्का गाउँलेलाई घरमै पुगेर कुटपिट गरेका थिए। कुटपिटले मात्र पुगेन, मालिकले नक्कली तमसुक बनाएर कुटपिट गर्दै ल्याप्चे लगाउन बाध्य पारेका थिए।

नेपाली समाजको सामन्ती चरित्र कतिसम्म क्रुर रहेछ भन्ने कुरा नाटक ‘निरमाया’मा पस्किएका उल्लेखित घटनाक्रमले जनाउँछन्। पोखरा थिएटर गैह्रापाटनमा २७ पुसदेखि मञ्चन भइरहेको यो नाटक १२ माघसम्म चल्नेछ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले यो नाटक ३० वर्षअघि लेखेका थिए। “अहिले पनि नेपाली समाजमा गरीबी, शोषण, उत्पीडन कायमै छ,” नाटककार सरुभक्त भन्छन्, “राजनीतिक व्यवस्था बदलियो तर समाज बदलिएन।”

पोखरा थिएटरका अध्यक्षसमेत रहेका निर्देशक परिवर्तनले नेपाली समाज मूल रूपमा सामन्ती रहेको र कुनै पनि आन्दोलनले यसलाई परिवर्तन गर्न नसकेको बताए। “धेरै आन्दोलन भए, शहीदले जति बलिदान गरे पनि, जनताले जति समतामुलक र समृद्धियुक्त सपना देखिरहे पनि हाम्रो समाज शोषणमै छ,” उनले भने, “समाजको नांगो यथार्थलाई नाटकमा देखाएका छौं।”

नाटकमा डम्बरेका रूपमा मुख्य भूमिकामा रहेका वरिष्ठ कलाकार प्रकाश घिमिरेले शोषणमा रहेका मानिसको भोगाइलाई अनुभव गर्दा ज्युँदै मरेको आभास भएको बताए। उनले क्रान्तिहरू किन हुँदा रहेछन् भन्ने यथार्थ नाटकले उजागर गरेको बताए।

नाटकमा घिमिरेसँगै प्रमिला तुलाचन, रेवान राई, सुन्तलीको भुमिकामा रहेकी बबिता मल्ल ठकुरी, लुरेको भुमिकामा ईश्वर कार्की, अनार काकीको भूमिकामा सोनिया कार्कीलगायतको अभिनय अब्बल देखिन्छ।

प्रतिकृया दिनुहोस