आज किराँत नयाँ वर्ष अर्थात् ‘कक्फेवा तङनाम’
किराँत जातिको बाहुल्यता रहेको पूर्वी नेपालका जिल्लाहरूमा १ माघमा किराँत नयाँ वर्ष ‘कक्फेवा तङनाम’ मनाइँदैछ।
हरेक वर्ष मकर संक्रान्तीमा किराँत नयाँ वर्ष शुरु हुन्छ। लिम्बू जातिले यसलाई ‘यले तङवे’को नाममा मनाउने गर्छन्। किराँती पात्रोअनुसार १ माघदेखि यले तङवे ५०७९ शुरु भएको छ।
यले तङवे विक्रम संवतभन्दा ३ हजार ४ वर्ष जेठो रहेको विश्वास किराँती जातिमा छ। किराँती राजा यलम्बरले नेपालमा शासन शुरु गरेपछि यले तङवेको प्रचलन शुरु गराएको विश्वास छ। यस सिजनमा चाँप फुल्ने भएकाले यले तङवेसँगै कक्फेवा तङनाम भन्ने गरिएको हो। लिम्बू भाषामा ‘कक’ भनेको चाँप, फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन हो।
लिम्बू जातिको बसोवास रहेका पाँचथर, तेहथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटालगायत जिल्लामा यले तङवे भव्यतासाथ मनाइन्छ। काठमाडौं उपत्यकासँगै अहिले किराँती जातिको बसोवास रहेका हङकङ र सिंगापुरसम्म यो पर्व निकै उल्लासपूर्वक मनाइन्छ।
आजको दिन वनभोज खाने, शुभकामना आदानप्रदान, आफन्तसँग भेटघाट र वर्षभरिका लागि कार्य योजना निर्माण गर्ने काम गरिन्छ।
यो पर्वलाई थारू समुदायले माघी र हिन्दू धर्मावलम्बीले मकर संक्रान्तीका रूपमा मनाउँछन्। परिवारका मुलीहरूले आफूभन्दा सानो उमेरका सदस्यहरूलाई वन तरुल पोलेर टीका लगाई आशिर्वाद दिने चलन छ।
लक्ष्मी गौतम, पाँचथर